पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई छुटाउने प्रयास शुरु

डिसी नेपाल
२३ साउन २०८० १९:४२

इस्लामावाद । भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय पाएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलमुक्त गर्ने प्रयास प्रारम्भ भएको छ ।

‘ट्रायल कोर्ट’को तीन वर्ष जेल बस्नुपर्ने निर्णयलाई चुनौती दिँदै नेता खानका वकिलहरूले आज पुनरावेदन दायर गरेका हुन् । पुनरावेदनमा उनलाई धरौटीमा जेलमुक्त गर्न आग्रह पनि गरिएको छ । पुनरावेदनउपर भोलि बुधबार सुनुवाइ हुने बताइएको छ ।

पूर्वअन्तरराष्ट्रिय क्रिकेट स्टार खानलाई गत शनिबार पक्राउ गरिएको थियो । गत वर्षको अप्रिलमा सदनमा विश्वासको मत नपाएपछि प्रधानमन्त्री पटबाट हटेका उनीमाथि दुई सयभन्दा बढी मुद्दा लगाइएको छ । पदमा रहँदा आफूले प्राप्त गरेका उपहारको वास्तविक घोषणा नगरेकामा दोषी ठह¥याएर उक्त अदालतले शनिबार नै उनलाई तीन वर्षको जेल सजाय सुनाएको थियो ।

पूर्वप्रधानमन्त्री खानलाई राजधानी इस्लामावादबाट करिब ६० किलोमिटर पश्चिममा रहेको ऐतिहासिक एटक शहरको बाहिरी भागमा रहेको औपनिवेशिक युगको जेलमा राखिएको छ । तल्लोस्तरको उक्त जेलमा अमानवीय ढङ्गले उनलाई राखिएको उनका वकिल मिसाल युसुफजाईले बताएका छन्

“अहिले पाकिस्तानमा कानुनी शासन छैन, हामी एक अदालतबाट अर्को अदालतमा हतार गरिरहेका छौँ । मानवका लागि उपयुक्त नहुने दुःखद अवस्थामा उहाँलाई राखिएको छ । अति थोरै उज्यालो हुने, पङ्खा मात्र भएको साह्रै सानो सी–क्लासको सेलमा राखिएको र सुत्न र प्रार्थना गर्न एकमात्र गद्दा दिइएको छ,”७० वर्षीय नेता खानलाई विशिष्ट व्यक्तिलाई थुन्ने कारागारमा राख्न मागसमेत गरिएको उल्लेख गर्दै युसुफजाईले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *