नेपाल टेलिकमले पनि ल्यायो १ जीबीपीएस सम्मको उच्च गतिको इन्टरनेट
काठमाडौं । नेपाल टेलिकमले १ जीबीपीएस (१००० एमबीपीएस) सम्म उच्च गति भएको एफटीटीएच इन्टरनेट सेवा प्रारम्भ गरेको छ । यसअघि कम्पनीले १०० एमबीपीएस सम्म उच्च गति भएको एफटीटीएच सेवा उपलब्ध गराइरहेकोमा अब एकै पटक यति धेरै क्षमता भएको इन्टरनेट सेवा उपलब्ध गराएको हो ।
हाल कम्पनीले जीपोन (GPON) प्रविधिमार्फत उपलब्ध गराइरहेको एनटी फाइबर इन्टरनेटमध्ये सबैभन्दा उच्च गति १०० एमबीपीएस रहेकोमा अब एक्सजीपोन (XGPON) प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउने छ ।
सो सेवा ५०० एमबीपीएस र १ जीबीपीएस गरी दुई वटा प्याकेजमा उपलब्ध हुनेछ । यसको डाउनस्ट्रिम क्षमता १० जीबीपीएस र अपस्ट्रिम क्षमता २.५ जीबीपीएस हुनेछ । प्रिमियम एफटीटीएच ५०० एमबीपीएस अन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना ३५० मिनेट कल गर्न सकिनेछ । यो प्याकमा ०.५ टीबी डेटा प्रतिदिन प्रयोग गर्न सकिने छ ।
त्यस्तै प्रिमियम एफटीटीएच १ जीबीपीएस अन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना ५०० मिनेट कल गर्न सकिनेछ । यो प्याकमा १ टीबी डेटा प्रतिदिन प्रयोग गर्न सकिनेछ ।
दुवै प्याकेजमा एउटा आईपीटीभी, सीपीई र सेटटप बक्स तथा ३०० मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ । ५०० एमबीपीएसको ‘प्रिमियम एफटीटीएच ५०० एमबीपीएस’ प्याकेज वार्षिक ८० हजार रुपैयाँ र १ जीबीपीएसको ‘प्रिमियम एफटीटीएच १ जीबीपीएस’ प्याकेज वार्षिक १ लाख १० हजार रुपैयाँमा उपलब्ध हुनेछ ।
यो सेवा वा अन्य एफटीटीएच सेवा प्राप्त गर्न चाहने सेवाग्राहीहरुले १९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी आफूलाई आवश्यक पर्ने सेवा जडान तथा मर्मतका लागि दर्ता गर्न सकिने व्यवस्था छ । हालका लागि कम्पनीले काठमाडौं उपत्यकामा यो सेवा उपलब्ध गराएको छ । व्यावसायिक संस्थाहरु यो सेवा प्रयोगबाट लाभान्वित टेलिकमको विश्वास छ ।
Facebook Comment