कविता

ऊ एक मजदुर

सुष्मा दाहाल
२७ साउन २०८० ७:०९

जन्मदै बगरमा जन्मिएको हाे ऊ
बगरका कुँदिए पनि नियतिले
उछिट्टयाएका ढुंगाहरुसँग
पुस्तेनी नाता छ उसकाे
ऊ माहिर छ अब्बल छ ढुंगासँग
युगान्तकारी नाता गाँस्न।

किन कि उसकाे पहिलाे रुवाई
पहिलाे आँखा खाेलाई, पहिलाे
सास फेराई लगायतका आमाकाे
गर्भबाट बाहिरिए पछिका हरेक
पहिला स्पर्शहरु उराठीला बगरका
कुरुप लाग्ने तर सुन्दर बन्न सक्ने
यावत् ढुंगाहरुसँग जाेडिएकाे छ
यिनै ओजीला प्रमाण र हृदयदेखिकाे
अजम्वरी सम्बन्ध गाँसेर युगौंदेखि बाँचिरहेकाे
ऊ अरु काेही नभएर ढुंगा, माटाे र पसिनासँगकाे
असली रङ,रुप र सम्बन्धमा हाँसेकाे एक श्रमिक हाे।

ऊ यस धर्तीमा भौतिक अस्तित्वमा
नआउँदैदेखि
अनेकौं परिवर्तनका सङ्ग्राम र
महासङ्ग्रामहरुमा
हजारौं कराेडौं पटक पर्चामा लेखियाे, आदर्शमा समेटियाे,
आमाकाे गर्भबाट बाहिर निस्कनासाथ
उसकाे पहिलो स्पर्श
चिसाे भुईं, तारामण्डलकाे छानाे,
रित्ताे खल्ती र भाेकाे पेटसँग जाेडियाे, उसकाे पुस्तेनी परिचय बन्याे पसिना।

एकै छाक पनि ढाकर, तक्मा र
चाेयाकाे नाम्लाेले ढाड र
तालु नखियाई कसरी टर्छ,
याे ऊ भन्दा धेरै परकाे बिषय बन्याे, उसले साेचेन साेच्न चाहेन पसिनाकाे गन्ध बिनाकाे
भाेटाे कछाडकाे दुनियाँ,
देख्न चाहेन असङ्ख्य ठेला र
चिरा बिनाका हत्केला र पैतालाका स्वरुपहरु
ऊ जुधिरह्याे आफ्नै नियतिसँग, रचिरह्याे भाेक, तिर्खा, अभाब भित्रैबाट श्रमिक हुनुकाे अलिखित इतिहास।

ऊ युगौंदेखि मञ्चित भैरह्याे,
खाेक्रा आदर्शका रंगमञ्चहरुमा
उसलाई पात्र बनाएर थुप्रै
युगान्तकारी नटकहरु रचिए
उसलाई ढाल बनाएर थुप्रै युद्धहरु
जितिए, बिजयका गाथाहरु
रचिए, उसका ठेला भरिएका
हातहरुले भाेकाे पेट नभनि,
थुप्रै पटक उन्मुक्ति र
समृद्धिका लागि मसाल र
पर्चाहरु उठाए तर बिडम्बना
उसकाे धरातल झन् भासियाे
कहिल्यै उठेन!ब्यबस्था र
अबश्थामा आमुल परिवर्तन आए
बिडम्बना उसकाे नियति बदलिएन,

पुर्पुराे बदलिएन।

उसका नाउँका सिदा पानीले
भरिएर कमन्डलुहरु सुनका बने,

उसकाे एउटा पेट,एउटा आङ,
एउटा छानाे कहिल्यै
भरिएन,ढाकिएन,छाइएन,
ऊ श्रमिक रहिरह्यो, ऊ मजदुर रहिरह्याे।

देश बदलियाे ,संसार बदलियाे
नबदलिएकाे त के छ र..
उसकाे नियति,दैनिकी र
अवस्था बाहेक
बर्सेनि खडेरी पर्छ, झरी पर्छ, महामारी आउँछ, उसलाई नै सताउँछ,
उसकै परिवार र आफन्तलाई
लुछेर लान्छ

तर अफसाेच!उसकाे गरिबी लादैन ,
उसकाे भाेगाई र दैनिकी लाँदैन!
ऊ सम्झिन बाध्य हुन्छ ,उसले खनेका कैयौं खेतबारीहरु!
ऊ सम्झिन बाध्य हुन्छ ,
उसले समाएका हरेक पम्प्लेट र पर्चाहरु,
ऊ सम्झिन बाध्य हुन्छ!
उसले पाएका झुठा ढाडस र
आश्वसनहरु ! जुन बेला उसँग
ताकत र जवानी थियाे…ऊ आफैंलाई धन्य पनि मान्छ यस अर्थमा
कि, मैले ज्याला लिएर सुरु
गरेको काम कहिल्यै थाँती राखिन।

कस्तो भाेक हाे उसकाे
कसैले सम्बाेधन गर्न नसक्ने !
कस्तो पसिना हाे उसकाे
कहिल्यै दुख बगाउन नसक्ने
कस्तो यात्रा हाे उसकाे भाेकै तिर्खै
खालिखुट्टा काेसाैंकाे दूरी
तय गर्नुपर्ने! कस्तो गन्तव्य हाे उस्काे
कहिल्यै पुग्न नसकिने!
यी सबै बाट टाढा जाने
उन्मुक्ति पाउने न कुनै अस्त्र छ,
न कुनै सम्यन्त्र नै अनि
आफैंलाई धन्य ठान्छ,र भन्छ…
पसिनाकाे सहि माेल नपाएर के भाे त
धरातल त
भुलेकाे छैन,यसैमा गौरब गर्छ
किन कि ऊ अब मजदुरबाट
“म दूर”भैसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *