गिठीदेवीलाई ८९ वर्षमा नागरिकता
मष्टा (बझाङ) । जिल्ला सदरमुकाम चैनपुरबाट डेढ घण्टाको दूरीमा पर्छ मष्टा गाउँपालिका । गाउँपालिकाको कार्यालय भातेखोला गाउँमा छ । सोही गाउँमा छिन्, ८९ वर्षीया गिठीदेवी जोशी ।
गिठीदेवीले शुक्रबार मात्रै नागरिकता पाइन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । सदरमुकाम नजिकै बस्नेले जन्मेको नौ दशकसम्म पनि नागरिकता नपाएकोबारे मनमा प्रश्न उब्जनु स्वाभाविक हो तर, प्रश्नको जवाफ स्वयं गिठीदेवी छिन् ।
उनी नागरिकताको आवश्यकताबारे थाहा नहुँदा नागरिकताबिहीन थिइन् । सरकारले दिने सेवाबारे उनी जानकार थिइनन्यो जसले उनी सरकारबाट प्राप्त हुने सेवा सुविधाबाट वञ्चित हुनुपरेको थियो ।
प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले घरमै गएर नागरिकता दिएपछि भने प्रशासनको कामप्रति स्थानीय खुसी देखिए । “आमाले नागरिकता नपाएको बारेमा छोरा गौरीलालले जिल्ला प्रशासनमा खबर गर्नुभएको थियो । त्यसपछि सम्पूर्ण कागजात तयार गरेर घरमै पुगी नागरिकता दिएका हौँ”, प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने ।
नातिभन्दा पछि बज्यैको नागरिकता
मष्टा गाउँपालिका-३ भातेखोलाका कृष्णप्रसादले २०२० सालमा कान्छी श्रीमतीको रूपमा गिठीदेवीलाई भित्र्याए । जेठी श्रीमतीबाट एउटा मात्र छोरा हुँदा थप सन्तान प्राप्त गर्न गिठीदेवीलाई ल्याएका थिए । तर, उनीबाट कुनै सन्तान भएन । जेठी श्रीमतीबाट २०१९ सालमै जन्मिएका थिए गौरीलाल । उनी अहिले ६१ वर्षको भए ।
गौरीलालले २०४२ सालमै नागरिकता लिए । गौरीका छोरा छोरीले पनि नागरिकता लिइसकेका छन् । कान्छी श्रीमतीलाई नागरिकता दिनेबारे कृष्णप्रसादले पनि चासो देखाएनन् ।
पञ्चायतकालमा सरकारले दिएको अस्थायी निस्साको कागजले सानोतिनो काम चल्दै आएको हुँदा नागरिकता नबनाएको गौरीलालको भनाइ छ । उनले भने, “सानोतिनो काम चिनारीको रूपमा त्यसै कागजले चलिहाल्थ्यो । अरू आवश्यकता केही भएन । त्यसैले बनाउन पाइएन ।”
गाउँमा धेरै जनाले सदरमुकाम गएर नागरिकता बनाउन सुझाव दिएपछि प्रशासनलाई जानकारी गराएर उनीहरूले घरमै आएर नागरिकता दिएको गौरीलालले बताए ।
Facebook Comment