अमेरिकाले पाकिस्तानलाई धम्की दिएको लिक भएका गोप्य दस्तावेजमा खुलासा
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले बारम्बार आफूलाई सत्ताबाट हटाउन अमेरिकाको हात रहेको आरोप लगाउँदै आएका छन् । अब रुस युक्रेन युद्धमा उनको तत्कालीन सरकारको तटस्थ अडानका कारण अमेरिकाले उनलाई सत्ताबाट हटाउने प्रयास गरेको खुलासा भएको छ ।
इन्टरसेप्टले पाकिस्तानी सरकारको लीक भएको गोप्य कागजातलाई उद्धृत गर्दै एक रिपोर्ट प्रकाशित गरेको छ, जसमा रुस-युक्रेन युद्ध सुरु भएको केही दिनपछि मार्च ७, २०२२ मा अमेरिकाले पाकिस्तानी राजदूतलाई बोलाएको उल्लेख छ। अमेरिकी विदेश मन्त्रालयका दुई अधिकारी र पाकिस्तानका तत्कालीन राजदूत असद माजिद खानबीच वार्ता भएको थियो ।
यस बैठकको एक महिनापछि पाकिस्तानको संसदमा इमरान खानको सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याइयो, जसका कारण इमरान खानको सरकार ढल्यो। पाकिस्तानी सेनाको दबाबमा धेरै सांसदहरूले इमरान खानको विपक्षमा मतदान गरे र उनी सत्ताबाट बाहिरिएको मानिन्छ।
त्यसबेलादेखि पीटीआई प्रमुख इमरान खान र उनका समर्थकहरू पाकिस्तानको सेना र वर्तमान सरकारविरुद्ध लडिरहेका छन् भन्ने रिपोर्टमा उल्लेख छ । इमरान खानले यसपछिका धेरै बैठकमा आफूलाई सत्ताबाट हटाउनमा अमेरिकाको हात रहेको बताएका छन् ।
इन्टरसेप्ट रिपोर्टका अनुसार अमेरिकी विदेश मन्त्रालयमा पाकिस्तानी राजदूतको भेटका क्रममा पाकिस्तानलाई एउटा केबल पठाइएको थियो, जसको टेक्स्टलाई ‘साइफर’ भनिन्छ। केबलमा इमरान खानलाई सत्ताबाट हटाउन अमेरिकी विदेश मन्त्रालयले गरिरहेको प्रयासको खुलासा गरिएको थियो ।
इमरान खानलाई सत्ताबाट हटाइएमा अमेरिकाले पाकिस्तानसँग सौहार्दपूर्ण सम्बन्ध कायम राख्ने र त्यसो नगरेमा पाकिस्तानलाई एक्लो बनाउने धम्की दिइएको थियो ।
पाकिस्तानी सेनाको एक स्रोतले द इन्टरसेप्टलाई गोप्य दस्तावेज दिएको छ। गोप्य दस्तावेजमा अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिलाका ब्यूरो सहायक सचिव डोनाल्ड लु र पाकिस्तानका तत्कालीन राजदूत असद माजिद खानबीच भएको भेटघाटको उल्लेख छ।
रुसले युक्रेनमा आक्रमण गरेको दिन इमरान खान रुसमा थिए । इमरान खानको यो भ्रमणबाट अमेरिका निकै रिसाएको थियो ।
पाकिस्तानी राजदूतसँगको भेटको केही दिनअघि मार्च २ मा सिनेटको विदेश सम्बन्ध समितिको बैठकमा लुलाई युक्रेनमा पाकिस्तानलगायत अन्य देशले अपनाएको अडानबारे प्रश्न गरिएको थियो । जवाफमा लुले भनेका थिए, ‘प्रधानमन्त्री इमरान खानले हालै रुसको भ्रमण गरेका छन् । यो निर्णयका सम्बन्धमा प्रधानमन्त्रीसँग कसरी कुरा गर्न सकिन्छ भन्ने कुरा खोजिरहेका छौं ।
यसैबीच, पाकिस्तानी कूटनीतिज्ञ र अमेरिकी अधिकारीहरूको बैठकको ठीक एक दिनअघि इमरान खानले एक र्यालीलाई सम्बोधन गर्दै भनेका थिए, ‘के हामी तपाईंका दास हौं? तपाई हाम्रो बारेमा के सोच्नुहुन्छ? कि हामी तपाईका दास हौं र तपाईले हामीलाई जे भन्नु हुन्छ त्यही गर्छौं? हामी रुसका साथी हौँ र अमेरिकाका पनि साथी हौँ । हामी चीनका साथी हौँ भने युरोपका पनि मित्र हौँ । हामी कुनै समूहको हिस्सा होइनौं।’
लीक भएको दस्तावेजका अनुसार भेटका क्रममा लुले रुस–युक्रेन युद्धमा आफ्नो पाकिस्तानको अडानप्रति पाकिस्तानी राजदूतसँग असन्तुष्टि व्यक्त गर्दै पाकिस्तानलाई एक्लो पार्ने धम्की दिएका थिए ।
लुले भनेका थिए, ‘यहाँ युरोपका मानिसहरु चिन्तित छन् कि पाकिस्तानले युक्रेनमा किन यस्तो तटस्थ अडान लिइरहेको छ, तपाईले यस्तो अडान लिन सक्नुहुन्न । तपाईंको अडान हाम्रो लागि तटस्थ छ भन्ने हामीलाई लाग्दैन।’
लुले थपे, “यदि इमरान खान विरुद्ध अविश्वासको प्रस्ताव पारित भयो भने अमेरिकाले सबै गल्ती माफ गर्नेछ किनभने रुस जाने निर्णयलाई प्रधानमन्त्रीले गरेको निर्णयका रूपमा हेरिएको छ।”
लुले पाकिस्तानी राजदूतलाई चेतावनी दिएका थिए कि यदि उनको देशले इमरान खानलाई सत्ताबाट हटाएन भने, सबै पश्चिमी सहयोगीहरूले उसलाई एक्लो पार्नेछन्।
उनले भनेका थिए, ‘म भन्न चाहन्छु कि हालैका घटनाले सम्बन्धमा दुरी सिर्जना गरेको छ । तर, केही दिन पर्खौँ र हेरौँ, पाकिस्तानको राजनीतिक परिस्थिति परिवर्तन हुन्छ कि हुँदैन । परिवर्तन भयो भने सम्बन्ध छिट्टै सामान्य हुन्छ, नत्र हामी कडाईका साथ यो विषयलाई कसरी सच्याउने भन्ने निर्णय गर्छौं ।’
इमरान खानलाई सत्ताबाट हटाएपछि मात्रै पाकिस्तानले रुस–युक्रेन युद्धमा युक्रेनमाथि लिएको अडानलाई तुरुन्तै उल्ट्यायो । खानको सरकार पतन भएको केही दिनपछि पाकिस्तानका तत्कालीन सेना प्रमुख कमर जावेद बाजवाले रुस–युक्रेन द्वन्द्वलाई भयानक त्रासदीको संज्ञा दिँदै रुसको आलोचना गरेका थिए । गोप्य दस्तावेज लीक भएपछि यो पनि स्पष्ट भएको छ कि रुस-युक्रेन युद्धमा पाकिस्तानको तटस्थ अडान पाकिस्तानको सेनाको नभई इमरान खानको नीति थियो।
इमरान खानको सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चर्चा चलिरहँदा उनका सहयोगीहरूले उनलाई समर्थन गर्न बन्द गरे। बहुमत गुमाउँदै आएका इमरान खानले एक सभामा विपक्षीको अविश्वास प्रस्तावको पछाडि विदेशी षड्यन्त्र रहेको दाबी गरेका ञिए । उनले भनेका थिए कि एक शक्तिशाली देशले इमरान खानलाई हटाउन आवश्यक छ वा पाकिस्तान परिणाम भोग्न तयार हुनुपर्छ भनेर पत्र पठाएको छ।
पत्रलाई उद्धृत गर्दै उनले भनेका थिए, ‘विदेशी राष्ट्रले हामीलाई (पाकिस्तान) लाई सन्देश पठाएको छ कि इमरान खानलाई हटाउनुपर्छ, अन्यथा पाकिस्तानले परिणाम भोग्नुपर्नेछ। पत्रको भाषा अहंकार र धम्कीले भरिएको छ।’ तर, अमेरिकी विदेश मन्त्रालयले भने इमरान खानको सरकार ढाल्नुमा आफ्नो हात रहेको कुरा अस्वीकार गर्दै आएको छ ।
८ अप्रिल, २०२२ मा अमेरिकी विदेश विभागका प्रवक्ता जेलिना पोर्टरले इमरान खानको विदेशी षड्यन्त्रको आरोपमा प्रतिक्रिया दिँदै भनिन्, ‘म स्पष्ट रूपमा भन्न चाहन्छु कि त्यस्ता आरोपहरूमा कुनै सत्यता छैन।’
Facebook Comment