नवाज शरीफले पाकिस्तान फर्केर कानुनको सामना गर्ने

डिसी नेपाल
२८ साउन २०८० १७:०४

काठमाडौं । पाकिस्तानको संसद विघटन भएको एक दिनपछि प्रधानमन्त्री शहबाज सरिफले बिहीबार पाकिस्तान-मुस्लिम लिग-नवाज (पीएमएल-एन) का सर्वोच्च नेता नवाज शरीफ अर्को महिना पाकिस्तान फर्कने बताएका छन्।

इमरान खानको सरकारमा भ्रष्टाचारको अभियोगमा दोषी ठहरिएका नवाज सरिफ सन् २०१९ मा लण्डन भागेका थिए। अब शाहबाज शरीफले नवाज पाकिस्तान आएर कानुनको सामना गर्ने बताएका छन् ।

पाकिस्तानको न्युज नेटवर्क जियो न्यूजलाई दिएको अन्तर्वार्तामा पाकिस्तानी प्रधानमन्त्रीले कार्यवाहक सरकारले जिम्मेवारी सम्हाल्नेबित्तिकै आफ्ना दाजु नवाज सरिफलाई भेट्न लण्डन जाने बताएका छन् ।

उनले भने, ‘नवाज शरीफ अर्को महिना पाकिस्तान आउनुहुनेछ र उहाँले कानुनको सामना गर्नुहुनेछ। उहाँले हाम्रो चुनावी अभियानको नेतृत्व पनि गर्नुहुनेछ ।’

७३ वर्षीय नवाज शरिफलाई इमरान खानको शासनकालमा भ्रष्टाचारको मुद्दामा ७ वर्षको जेल सजाय सुनाइएको थियो । नोभेम्बर २०१९ मा पाकिस्तानको उच्च अदालतले नवाज सरिफलाई स्वास्थ्यका कारणले देश छोड्न अनुमति दिएको थियो। इमरान खानको सरकारले नवाजलाई पाकिस्तान फर्काउन धेरै प्रयास गरेको थियो जुन असफल भएको थियो।

तीन पटक पाकिस्तानको प्रधानमन्त्री भइसकेका नवाज शरीफलाई पनामा पेपर्स मुद्दामा सर्वोच्च अदालतले सन् २०१७ मा चुनाव लड्न अयोग्य ठहर गरेको थियो। सर्वोच्च अदालतको यो फैसलाको पीएमएल–एनले विरोध गर्दै आएको छ । पार्टीले नवाज शरीफलाई अन्यायपूर्ण रुपमा अयोग्य ठहर गरेको बताएको छ ।

अप्रिल २०२२ मा पीएमएल-एन सत्तामा आएदेखि नै नवाज शरीफ पाकिस्तान फर्किने चर्चा चलिरहेको छ। यस वर्षको आम चुनावमा नवाज शरीफले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने अड्कलबाजी पनि भइरहेको छ । तर, उनले भ्रष्टाचार मुद्दामा सजायको विरुद्धमा धेरै पुनरावेदन गरेका छन् जुन अदालतमा विचाराधीन छ। उनले सबै मुद्दाबाट सफाइ पाउने र प्रधानमन्त्रीको निर्वाचनमा लड्ने विश्वास गरिएको छ ।

शहबाज सरिफले पनि आफ्नो पार्टी सत्तामा आए नवाज सरिफ पाकिस्तानको भावी प्रधानमन्त्री हुने बताएका छन् । एक जनसभालाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘नवाज शरीफ पाकिस्तानको भावी प्रधानमन्त्री हुनेछन्। उनले पहिले जसरी जनताको सेवा गरेका छन्, त्यसरी नै भविष्यमा पनि पाकिस्तानी जनताको सेवा गर्नेछन् ।’

उनले आफ्नो पार्टी सत्तामा आएमा दाजु नवाज चौथो पटक पाकिस्तानको प्रधानमन्त्री बन्ने र कृषि, उद्योग, उत्पादन क्षेत्रको रुपान्तरण गरी जनताको भाग्य परिवर्तन गर्ने बताए ।

पाकिस्तानमा अगस्ट ९ मा राष्ट्रिय सभा विघटन भएको थियो । अब कामचलाउ सरकार बन्नेछ जसको प्रधानमन्त्री चयन हुन बाँकी छ । पाकिस्तानमा नोभेम्बरमा आम निर्वाचन हुँदैछ तर पाकिस्तानको निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा गरेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *