ग्वादरमा बीएलएको आक्रमणमा ४ चिनियाँ नागरिक र ९ पाकिस्तानी सैनिक मारिए

डिसी नेपाल
२९ साउन २०८० ११:३४

काठमाडौं । पाकिस्तानको बलुचिस्तानमा चिनियाँ इन्जिनियर बोकेको सवारीमा आक्रमण भएको छ । यस हमलामा धेरैको मृत्यु भएको छ भने दुई पाकिस्तानी सुरक्षाकर्मी घाइते भएका छन् ।

आइतबार ग्वादरको फकिर ब्रिजमा हमला भएको थियो । यो हमला पाकिस्तानले पुष्टि गरेको छ । यसको जिम्मेवारी बलुच लिबरेशन आर्मीले लिएको छ । आक्रमणमा ४ चिनियाँ नागरिक र ९ पाकिस्तानी सैनिकको मृत्यु भएको दाबी गरिएको छ ।

जानकारी अनुसार ग्वादरको फकिर ब्रिजमा चिनियाँ इन्जिनियर बोकेका ७ वटा गाडीको लश्करमा आक्रमण भएको थियो । त्यसपछि दुवै पक्षबाट लगातार विस्फोट र गोलीबारी भइरहेको थियो । यस हमलापछि ग्वादरलाई पूर्ण सतर्कतामा राखिएको थियो र कुनै पनि गाडीलाई सहरबाट बाहिर निस्कन र प्रवेश गर्न प्रतिबन्ध लगाइएको थियो।

‘द बलुचिस्तान पोस्ट’का अनुसार सुरक्षा बलहरूसँगको भिडन्तमा दुई पृथकतावादी मारिए, जबकि अन्य भाग्न सफल भए। उनीहरुलाई पक्राउ गर्न पाकिस्तानी सेनाले खोजी अभियान चलाएको छ ।

यस आक्रमणको बीचमा पाकिस्तानमा चिनियाँ वाणिज्य दूतावासले बलुचिस्तान र सिन्धमा रहेका आफ्ना नागरिकहरूलाई अर्को आदेश नभएसम्म घरभित्रै बस्न आदेश जारी गरेको छ।

बलोच लिबरेशन आर्मीको माजिद ब्रिगेड (आत्मघाती स्क्वाड) ले चिनियाँ इन्जिनियरहरूको सवारीमा भएको आक्रमणको जिम्मेवारी लिएको छ।

आक्रमण अझै जारी रहेको र थप जानकारी पछि सार्वजनिक गरिने बीएलएले दाबी गरेको छ । चिनियाँ इन्जिनियरहरूको काफिलामा भएको आक्रमणपछि ग्वादरमा शृङ्खलाबद्ध विस्फोटहरू जारी छन्। सबै आवतजावत बन्द भएपछि बन्दरगाहलाई घेराबन्दी गरिएको छ ।

‘द बलुचिस्तान पोस्ट’का अनुसार बन्दरगाह सहर ग्वादरमा विस्फोट र बन्दुकको आवाज सुनिएको थियो, जहाँ सबै सडकहरू यातायातका लागि बन्द गरिएका थिए।

चिनियाँ इन्जिनियरहरूको काफिलामा बिहान करिब ९:३० बजे सुरु भएको आक्रमण बिहान २ बजेसम्म जारी रहेको थियो । यस आक्रमण र भिडन्तका धेरै भिडियोहरू पनि बाहिर आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *