रूसमा आइफोनसहित एप्पलका सबै उत्पादनहरूमाथि प्रतिबन्ध

डिसी नेपाल
२९ साउन २०८० १६:४९

काठमाडौं । रुसको डिजिटल विकास मन्त्रालयले सरकारी कर्मचारीलाई आइफोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ । मन्त्री मकसुत शादेवले शुक्रबार सो जानकारी दिए ।

इन्टरफ्याक्स समाचार एजेन्सीका अनुसार एप्पलका अन्य उत्पादनहरू जस्तै आइबुक, ट्याब्लेटको प्रयोगमा पनि प्रतिबन्ध लगाइएको छ। यी यन्त्रहरूबाट कुनै पनि सरकारी काम गर्न सकिँदैन।

रुसको फेडरल सेक्युरिटी सर्भिस एफएसबीका अनुसार अमेरिकाले यी यन्त्रहरूमार्फत उनीहरुको जासुसी गरिरहेको छ । २ महिना अघि एफएसबीले अमेरिकामा हजारौं आईफोन ह्याक भएको र त्यसमा अमेरिकी निगरानी प्रणाली रहेको दाबी गरेको थियो । एफएसबीले भनेको थियो- अमेरिकी ह्याकरहरूले जासुसी अभियानमा इजरायल, सिरिया, चीन र नेटो सदस्य राष्ट्रका कूटनीतिज्ञहरूलाई निशाना बनाएका थिए।

एफएसबीले सोभियत संघको हिस्सा भएका देशहरूमा काम गर्ने धेरै स्थानीय रूसी जनता र कूटनीतिज्ञहरूको फोन पनि ह्याक भएको दाबी गरेको छ। अमेरिकाको विशेष सेवाले यो खुफिया अपरेशन गरिरहेको थियो। एजेन्सीले अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) र एप्पल कम्पनीबीच नजिकको सहकार्य रहेको दाबी पनि गरेको छ ।

यद्यपि एफएसबीले एप्पल कम्पनीलाई यो जासुसीको बारेमा थाहा भएको कुनै प्रमाण दिएको छैन। एप्पल कम्पनीले भने यी आरोपहरू अस्वीकार गर्यो। उसले भनेका थियो– हामीले कुनै पनि देशको सरकारसँग मिलेर फोनमा छेडछाड गरेका छैनौँ र कहिले पनि गर्ने छैनौँ ।

एनएसएले यसबारे कुनै पनि बयान दिन अस्वीकार गरेको छ। अर्कोतर्फ, मस्कोस्थित क्यास्परस्की ल्याब कम्पनीले यस अपरेसनबाट आफ्ना धेरै कर्मचारीहरूको उपकरणमा छेडछाड भएको बताएको छ। क्यास्परस्कीले एक ब्लगमा भनेको छ– जासुसीको प्रमाण पहिलो पटक २०१९ मा फेला परेको थियो र यो अहिलेसम्म जारी छ । तर, उसले यो साइबर आक्रमणको मुख्य लक्ष्य आफू नरहेको दाबी गरेको छ ।

एफएसबीको रिपोर्टपछि रुसको विदेश मन्त्रालयले भन्यो- यसले अमेरिकामा निर्मित आईफोनहरू पूर्ण रूपमा पारदर्शी नहुने प्रमाणित गर्छ। उनीहरुमाथि साइबर हमला गरेर ठूलो मात्रामा डाटा संकलन भइरहेको थियो । मन्त्रालयका अनुसार अमेरिकी गुप्तचर एजेन्सीले वर्षौंदेखि आईटी कम्पनीहरूलाई इन्टरनेट प्रयोगकर्ताहरूको डाटा संकलन गर्न प्रयोग गर्दै आएको छ।

हार्वर्ड युनिभर्सिटीको बेल्फर सेन्टर साइबर २०२२ पावर इन्डेक्सका अनुसार साइबर पावरमा अमेरिका सबैभन्दा अगाडि छ। त्यसपछि चीन, रुस, बेलायत र अष्ट्रेलियाको नम्बर आउँछ । यसअघि, क्रेमलिनले रुसमा २०२४ को राष्ट्रपतीय निर्वाचनलाई ध्यानमा राख्दै अधिकारीहरूलाई आईफोन प्रयोग गर्न बन्द गर्न भनेको थियो। उसले यसमार्फत रुसमाथि अमेरिकी गुप्तचर निकायले नजर राखेको आशंका व्यक्त गरेको थियो ।

एफएसबी रूसको प्रमुख सुरक्षा एजेन्सी र सोभियत संघको केजीबीको मुख्य उत्तराधिकारी एजेन्सी हो। यो बोरिस येल्तसिन द्वारा १९९५ मा स्थापित भएको थियो। यसको मुख्यालय मस्कोमा छ। यो अलेक्जेन्डर बोर्टनिकोभको नेतृत्वमा छ जसले रुसका राष्ट्रपति पुटिनलाई प्रत्यक्ष रिपोर्ट गर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *