एमालेमा निष्कृय बने मणि थापा : न पार्टी परित्याग, न त जिम्मेवारी वहन

स्पष्टीकरण सोध्ने एमालेको तयारी

शरद रिजाल
३० साउन २०८० १३:२८

काठमाडौं। नेकपा(एमाले) का स्थायी समिति सदस्य रहेका मणि थापा पछिल्लो समय राजनीतिक रुपमा गुमनाम छन्। पूर्वमन्त्री समेत रहेका उनी एमालेको राजनीतिक भूमिकामा रहेको देखिँदैन।

सोमबार बसेको एमाले पदाधिकारी बैठकले पार्टीमा लामो समयदेखि पार्टीमा सम्पर्कविहीन भएको भन्दै थापालाई सोधपुछ गर्ने अनौपचारिक निर्णय गरेको छ। थापासँग छलफल गर्ने जिम्मा आफूलाई दिएको एमाले सचिव लेखराज भट्टले बताए।

उनले लामो समयदेखि पार्टीको जिम्मेवारी वहन नगरेकाले सोधपुछ गर्ने निर्णय गरिएको बताए। यस बारेमा थापासँग छलफल गर्ने तयारीमा रहेको उनले जानकारी दिए।

उनले भने, ‘लामो समयदेखि पार्टीमा सम्पर्कविहीन भएकाले उहाँको मनशाय बुझ्न मलाई जिम्मा दिइएको छ। मैले भोलि भेटगरी उहाँको धारणा बुझपछि बल्ल उहाँ पार्टीको सक्रिय राजनीतिमा फर्कने/नफर्कने टुंगो लाग्छ।’

लामो समयदेखि पार्टीको सम्पर्कमा नआएकाले पार्टीले चासो राख्नु स्वभाविक भएको सचिव भट्टको तर्क छ। उनले थापासँग छलफल गरेर उनको स्वेच्छाले मात्रै पार्टीमा जिम्मेवारी तय गरिने जनाए।

माओवादीबाट अलग्गिएर आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गर्दै पुनः माओवादीमै फर्किएका थापा एमालेमा पछिल्लो समय असन्तुष्ट रहेको सार्वजनिक रुपमा बताउँदै आएका छन्।

केही समय अघि एमालेबाट स्वेच्छिक रुपमा बिदा लिएर सांगीतिक अभियानमा देश दौडाहामा निस्किएका उनी त्यसयता एमालेको राजनीतिक भूमिकाबाट ओझेलमा परेका छन्।

तत्कालीन माओवादीको चुनवाङ बैठकमा विमति राखेर २०६२ मा पार्टीबाट बाहिरिएका उनले क्रान्तिकारी कम्युनिष्ट पार्टी गठन गरेका थिए। २०७३ मा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीमा समाहित भएका थिए।

२०७५ मा एमाले र माओवादीको एकता हुँदा नेकपामा पुगेका नेता थापा सर्वोच्चको २०७७ फागुन २३ को निर्णयले दुबै पार्टीलार्ई पूर्ववत् अवस्थामा फर्काएपछि पनि एमालेमै रहेका थिए।

उनले नेकपाको निरन्तरता भन्दै एमालेमै रहेको बताउने गर्दथे। नेकपा विभाजनउन्मुख समयमा आफ्नो पूर्ववत् पार्टीका अध्यक्ष प्रचण्ड इतर लागेका उनलाई सोही समयमै अर्का अध्यक्ष केपी ओलीको सरकारमा मन्त्री बन्ने अवसर समेत पाए।

तत्कालीन नेकपाको विभाजनको सम्मुखमा केपी ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्रीको जिम्मेवारी समेत सम्हालेका थिए। तथापि सर्वोच्चको फैसलापछि छोटो समयमै उनको मन्त्री पद गुमेको थियो।

एमालेमा रुष्ट बनेर निष्क्रिय बनेका थापा नयाँ राजनीतिक यात्राको थालनी गर्ने तयारीमा लागेको समेत चर्चा छ। उनले केही समय अघिदेखि नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग यस बारेमा छलफल गरेको बताइन्छ। यद्यपि उनले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरेका छैनन्।

यसबारेमा थप बुझ्न उनीसँग सम्पर्क गर्दा एमालेमा बस्न नसकिने आशय व्यक्त गरे। उनले स्पष्टीकरण सोध्ने एमालेको निर्णय बारे अनविज्ञता प्रकट गर्दै आफूलाई केही जानकारी नभएको बताए।

उनले भने, ‘एमालेमा बस्न नसकिने स्थिति भएको साँचो हो। अब पुरानै पाराले नेपालको कम्युनिष्ट आन्दोलन अघि नबढ्ने निष्कर्षमा पुगेको छु। मलाई स्पष्टीकरण सोध्ने या अन्य जिम्मेवारी मुक्त गर्ने बारे केही जानकारी गराइएको छैन।’

एमालेमा आफ्नो लागि अनुकूल अवस्था नरहेको उनको स्पष्ट बुझाइ छ। तत्कालै नयाँ राजनीतिक यात्रा थालनी गर्ने मनस्थितिमा नरहेको उनको प्रष्टोक्ति छ।

उनले अगाडि भने, ‘अन्यत्रको अवस्था पनि देखिएकै छ। तत्काल कतै गइहाल्ने सोच बनाएको छैन। अहिले एक हिसाबले भन्ने हो भने राजनीतिक रुपमा निष्क्रियताको अवस्थामा अहिले सिर्जनात्मक कार्यमा लागेको छु।’ नयाँ राजनीतिक यात्राको बारेमा अझै निर्क्याैल नगरेको उनको भनाइ छ।

उनले एमालेमै रहेपनि राजनीतिक रुपमा भूमिकाविहीन भएको स्वीकार गरे। उनले पार्टीभित्र केही विषयमा विमिति रहेकाले आफ्नै स्वेच्छाले केही समय पार्टीबाट बिदा लिएको बताए। अब एमालेको सक्रिय राजनीतिमा फर्कने सम्भावना नभएको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *