पाकिस्तान क्रिकेटका ऐतिहासिक पलहरू देखाउने भिडियोबाट इमरान खान नै गायब !

डिसी नेपाल
३१ साउन २०८० १०:४७

काठमाडौं । पाकिस्तानको ७६औँ स्वतन्त्रता दिवसको अवसरमा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले सामाजिक सञ्जाल वेबसाइट ‘एक्स’ (ट्विटर) मा एक भिडियो सेयर गरेको छ जसमा सन् १९५२ देखि हालसम्म क्रिकेटसँग सम्बन्धित ऐतिहासिक र महत्त्वपूर्ण घटनाहरूको दृश्यहरू छन्। यी घटनाहरूलाई भिडियो र फोटोहरूको मद्दतले देखाइएको छ।

पाकिस्तानको स्वतन्त्रता दिवस, अगस्ट १४ को अवसरमा पाकिस्तान क्रिकेट बोर्डले सोशल मिडियामा भिडियो साझा गर्दा १९९२ मा पाकिस्तानलाई क्रिकेट विश्वकप जिताउने एकमात्र कप्तान इमरान खान भिडियोबाट गायब भएको कारणले तीव्र प्रतिक्रियाहरू आएका छन् ।

पीसीबीले शेयर गरेको यो भिडियो पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाहको बयानबाट सुरु हुन्छ। पछि यो भिडियोमा सन् १९५२ देखि १९५८ सम्मका पाकिस्तानी क्रिकेट टिमका केही यादगार पलहरु देखाइएको छ ।

पीसीबीको भिडियोमा १९८६ मा शारजाहमा जावेद मियाँदादको ऐतिहासिक छक्कादेखि १९९२ को विश्वकप र त्यसपछि सन् २००० र २०१२ को एसिया कप, सन् २००९ मा टी–२० विश्वकप जित्ने र पाकिस्तानका वर्तमान कप्तान बाबर आजमका उपलब्धिहरु रहेका छन् । चर्चा र दृश्यहरू छन् तर सन् १९९२ मा पाकिस्तानलाई पहिलो विश्वकप जिताउने टोलीका कप्तान इमरान खानको बारेका केही उल्लेख छैन।

१९९२ को विश्वकपको बारेमा भिडियोमा फोटोहरू प्रयोग गरिएको छ जसमा पाकिस्तानी टोलीका सदस्यहरू ट्रफी समातेर उत्सव मनाइरहेको देखाइएको छ। यी तस्विरहरूमा इमरान खान बाहेक १९९२ मा पाकिस्तानी टोलीमा रहेका लगभग सबै खेलाडीहरू छन् । इमरानको तस्विर भने कतै देखिँदैन।

तर, यस भिडियोको थम्बनेलमा भने अन्य ६ खेलाडीसँगै इमरान खानको तस्विर पनि छ, जसमा उनी १९९२ को विश्वकप ट्रफी उचालिरहेका छन् । पाकिस्तान क्रिकेट बोर्डको यो भिडियोमा इमरान खानको अनुपस्थितिले केही पाकिस्तानी क्रिकेट फ्यानहरूलाई निराश बनाएको छ, जुन उनीहरूले सामाजिक सञ्जालमा व्यक्त गरेका छन्।

बीबीसीले यस विषयमा पाकिस्तान क्रिकेट बोर्डको अडानका विषयमा पीसीबी व्यवस्थापन समितिका अध्यक्ष जाका अशरफ र पीसीबी मिडिया विभागलाई सम्पर्क गर्‍यो तर उनीहरूबाट प्रतिक्रिया पाउन सकेन। एक प्रयोगकर्ता शहरयार एजाजले सामाजिक सञ्जालमा लेखेका छन्, “क्रिकेट राजनीतिभन्दा माथि हुनुपर्छ। पीसीबीले इमरान खानलाई बेवास्ता गर्नु निन्दनीय कदम हो।”

सीमा खान नामकी एक प्रयोगकर्ताले लेखेकी छन्, ‘पाकिस्तानको क्रिकेटको इतिहास इमरान खान बिना अधुरो छ र पीसीबीले यो अधूरो इतिहास भनेको छ ।’

यस विषयमा टिप्पणी गर्दै जवाद अहमद नामका अर्का प्रयोगकर्ताले लेखे, “पीसीबीले यसका लागि दोषी महसुस गर्नुपर्छ। इमरान खानले विश्वकप च्याम्पियन बन्ने सपना देखेका थिए र यो उनको सपना थियो। १९९२ क्रिकेट टोलीका प्रत्येक सदस्यले बयान दिए र स्वीकार गरे कि इमरानले खानले उनीहरूलाई आफ्नो क्षमतामा विश्वास गर्न मद्दत गरे।”

भारतका एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, “म इमरान खानलाई मन पराउँदिन तर उहाँ तपाइँको सबैभन्दा ठूलो क्रिकेटर हुनुहुन्थ्यो। अनौठो छ तपाइँले उहाँलाई भिडियोमा समावेश गर्नुभएन।”

अली इम्तियाज नामका एक प्रयोगकर्ताले लेखेका छन्, “पीसीबीको एउटा ट्विटले पाकिस्तानीहरूको हृदयबाट क्रिकेटको इतिहास मेटाउन सक्दैन। पाकिस्तानीहरूले क्रिकेटको इतिहासलाई कण्ठस्थ याद गर्छन्।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *