लघुकथा : हराएको कथा
रातको ११ः५९ ।
किन नक्कली देख्छु त्यो ऐना?
काँसघारी पो छ त मेरो टाउको। अमिनको नक्सा पो छ त मेरो अनुहार। कोटेरोको गुँड बनायो मेरो छाला दन्तले द्वार बढायो। आँखामा पावर देखायो।
लेख्दालेख्दैको मेरो आफ्नै कथा सकिएन। की बोर्डबाट औँला झिकेँ।
शरीरको ऐया आथो। मनको भाँडभैलो। रित्तो छु। सोचमग्न भएको छु।
बिनापैसा अर्ती सुरु भो।
जेठो भाइ दिमागले भन्यो ‘कथाको कुरा छोड्, जिन्दगीका बारेमा सोच्। जिउ बाँचे मात्र घिउ खान पाइन्छ।’
माइलो भाइ हृदयले भन्यो ‘कथाको कुरा छोड, परिवारमा प्रेम पन्पा, प्रेमबिनाको के जीवन?’।
साइँलो भाइ पेटले भन्यो ‘कथा छोड्। पहिले पचाउन प्रयत्न गर्। पचेन भने तैँ पच्लास्।’
कान्छो भाइ पेटमुनिले भन्यो ‘कथा छोड्, वास्तविकतामा आइज। उमेर सञ्चित हुन्न। कुण्ठै भए पनि कुम्ल्या।
यसरी सबैले रिँगाए। थेचारे। सतोसत मेरो कथा हरायो।
‘होइन हौ! म के गरूँ? मेरो आफ्नै कथा हरायो।’ मेरो प्रश्न तपाईँलाई।
‘केको कथा लेख्छस् अब? दिमाग कि हृदय?, पेट कि पेटमुनि?, आफ्नो कि परायाको? दायित्वकोे कि प्रेमको? देश कि परदेशको? पृथ्वी कि अन्तरिक्ष को?’ तपाईँको कडा प्रतिप्रश्न।
‘था‘छैन। सायद सबै।’ मेरो लोभ।
‘कथा लेखेर कहाँ पुग्छु भनेझैँ लाग्छ तँलाई?’ जटिल प्रश्न मलाई।
‘था‘छैन। सायद धेरै माथि।’ मेरो लालसा।
‘कति माथि?’
‘था‘छैन। सायद असीमित।’ म अन्योलमा ।
रातको १२ः००।
२०८० सालको भदौ ३ गते ।
एउटा छायाँ बन्द झ्यालबाट पस्यो र भन्यो ‘खेम ! ६७ औँ जन्मोत्सवको शुभकामना । तेरो आफ्नो कथा मात्र तेरो हो । अरू मिथ्या हुन् । अधुरो नछोड् । लेख्न थालिहाल् । स्वाँठ ! शुभ कामलाई केले छेक्छ र ?’
Facebook Comment