यता यस्तै छ पृथ्वी, भन! तिमीलाई कस्तो छ?
“डाङ्गडुङग गर्ने बाजा, राति-राति हिँड्ने राजा, भन्नुस् त यसको उत्तर के हो?” सरस्वती मा वि कि पवित्रा मिसले, सोध्ने बित्तिकै, सबै बिद्यार्थी मुखा-मुख गर्छन्, पछाडिबाट राजुले हात उठाउँदै, सानो स्वरमा भन्छ, “गोरखाली”। “स्यावास, हो गोरखाली-बाजा, गोरखाली-राजा,” मिसले भन्नुभयो।
बिद्यार्थीको मन-मनमा तिम्रो नाम हुनुपर्ने, मुख-मुखमा तिम्रो कामको गुणगान हुनुपर्ने, घर-घरमा तिम्रो नामको जप-ध्यान हुनुपर्ने, घरमा मात्रै कहाँ हो र पृथ्वी हरेक मुद्रामा तिम्रो तस्विर हुनुपर्ने, बिद्यार्थीले नै चिनेनन् रे भन्दा कती दुख लाग्ला, दुख नमान पृथ्वी, यता यस्तै छ! भन तिमीलाई कस्तो छ?
अमेरिकाका जर्ज वाशिङटन, जर्मनका विष्मार्क र इटालीका काबुर जस्तै, अनिवार्य देशभरी पढाईनु पर्ने तिम्रो गाथा, नपढाएरै त होला, दश कक्षामा पढ्ने बिद्यार्थी सोध्दैछन् रे, “मिस, पृथ्वीनारायण को हो?”, दुख नमान पृथ्वी, यता यस्तै छ, भन तिमीलाई कस्तो छ?
हावापानी होस वा वनस्पती, बिश्वकै झल्को दिने यो सानो संसारमा, बुद्धका पाइला परेको छ, धर्तीको शिर अडेको छ, कस्तुरीले बास्ना छरेको छ, डाँफेले नौ रंग भरेको छ, कोइलीले कुहु-कुहु गरेको छ, महादेवका शिर र बुद्धका तिर भएर नि के गर्नु पृथ्वी, दिनदिनै देशभक्ति मरेको छ, त्यसैले त तिम्रो शालिक घरी यता परेको छ, घरी उता लडेको छ, यता यस्तै छ पृथ्वी, भन तिमीलाई कस्तो छ?
किसानको भेषमा खेती गर्दै, ठाउँ अनुसारको नीति फेर्दै, जेठी तरवारले शंखमणिको बध गर्दै, गौंडा-गौंडा ढुकेर, खुँडाघाटमा लुक्ने सेन होस् वा तलेजुमा लुक्ने मल्ल, खोजी-खोजी समाएर, माफी माग्न लगाएर, जय जय काली जय जय गोरख घन्काउदै, देशको भूगोल बढाउने तिमीलाई आफ्नाले नै चिनेनन् रे भन्दा कति दु:ख लाग्ला, दु:ख नमान पृथ्वी, यता यस्तै छ! भन तिमीलाई कस्तो छ?
भीमसेनले कोरेको नक्सा हराएको छ, भक्तपुरको मूर्ति जस्तै, पशुपतिको गजुर साटिएको छ, तराईको मजुर काटिएको छ, कस्तुरीको सुगन्ध त कैले हो कैले उहिल्यै लुटिएको छ, तिम्रो शालिकको माया त कुरै छोडौं, देश प्रेमीहरुलाई हिरासतमै दिनरात चुटिएको छ, यता यस्तै छ पृथ्वी! भन तिमीलाई कस्तो छ?
त्रिशुलीको भेल तरी, भैरवीको दर्शन गरी, काशीमा नागाको आशिस लिएर, पाण्डेको ढाल र बस्नेतको तरबारले सजिएको गोरखा दरबार, बलियासँग मीत लाउँदै, सेनासँग प्रीत लाउँदै, दलमर्दनको गान गाउँदै, जनतासँग काँधमा-काँध मिलाएर, जोडेको देशमा, तिम्रै शालिक अटेन रे, भन्ने सुन्दा कती दुःख लाग्ला, दुःख नमान पृथ्वी, यता यस्तै छ! भन तिमीलाई कस्तो छ?
टुटेका मनहरु जोड्दै, मै हुँ भन्ने किल्लाहरु फोड्दै, देशमाथि आँखा लगाउनेको गर्धन छिनेर, त्रिशुलीमा खुँडा पखाल्दै, आफ्नो शिर झुकाएर नै किन नहोस्, हामीलाई स्वाभिमान दिलाएको देशमा, तिम्रै शालिक अटेन रे भन्दा, कति दुख लाग्ला, दु:ख नमान पृथ्वी, यता यस्तै छ! भन तिमीलाई कस्तो छ?
हिजो, राजतन्त्रमा प्रजा मोटा भया दरवार बलिया रहन्छ भन्ने तिमीलाई, आज, लोकतन्त्रमा दल बल र परिवार बलिया भए सरकार चलिरहन्छ, भन्ने सुन्दा कती लाज लाग्छ होला, लाज नमान पृथ्वी, यता यस्तै छ! भन तिमीलाई कस्तो छ?
बाजा तिम्रै राम्रो, गाजा तिम्रै राम्रो, भाषा तिम्रै राम्रो, भेष तिम्रै राम्रो, हाम्रा लागि देश बिशाल बनाउने नशा तिम्रै राम्रो, आज तिम्रै शालिक बिचमा उभिएर बिकास छेक्यो भन्दा कती दुःख लाग्ला, दुःख नमान पृथ्वी, यता यस्तै छ! भन तिमीलाई कस्तो छ?
बाघ भैरबको खुडा र खुकुरी नदेख्नेहरु, कालु पाण्डेको समाधि पुग्न नसक्नेहरु, प्रमाणै नबुझी भन्दैछन् रे, कालु पाण्डे नक्कली, पृथ्वी नक्कली, गज्जब-गज्जबका बिद्वान छन्, कोही सेना के काम भन्छन्, न त देशको भूगोल थाहा छ, न त पाँचौ वेद, इतिहास नै थाहा छ, तै पनि विज्ञ ठानिएकै छन्, देश प्रेमी मानिएकै छन्, यता यस्तै छ पृथ्वी! भन तिमीलाई कस्तो छ?
राजा धेरै भएर त होला, काण्डैकाण्ड समाएका छन्, कोही सुनमा रमाएका छन् कोही भुटानी समाएका छन्, अस्ति धमिजा र लाउडा थियो, हिजो यति, ओम्नी र चिया आयो, आज सुन र शरणार्थी छन्, नाम फरक मात्रै हो पृथ्वी, सबको काम कमाउने नै छ, आफू रमाउने नै छ, जनता रोएर के भो त, यता यस्तै छ पृथ्वी! भन तिमीलाई कस्तो छ?
भीमसेनले कोरेको नक्सा हराएको छ, भक्तपुरको मूर्ति जस्तै, पशुपतिको गजुर साटिएको छ, तराईको मजुर काटिएको छ, कस्तुरीको सुगन्ध त कैले हो कैले उहिल्यै लुटिएको छ, तिम्रो शालिकको माया त कुरै छोडौं, देश प्रेमीहरुलाई हिरासतमै दिनरात चुटिएको छ, यता यस्तै छ पृथ्वी! भन तिमीलाई कस्तो छ?
ठूल्ठूला नेता भएका छन, तलब र भत्ता अन्तैबाट खाएका छन्, कर्मचारीको के कुरा भो र, कमिशन आए सय कडा १० मा पनि ऋण लिन्छन्, कमिशन नपाए सित्तैको सहयोग पनि देशको हितमा छैन है भन्दै, फायल घर्रामा हाल्छन्, यी लुटाहा त छाडा साँडे जस्ता छन्, यता यस्तै छ पृथ्वी! भन तिमीलाई कस्तो छ?
घर सारेर खानी खन्ने भन्थ्यौ, आफै उद्योग चलाउने भन्थ्यौ, घडेरीमा खेत बिकेका छन्, खोला पुरेर घर ठडिएका छन्, उद्योग सबै मक्किएका छन्, बल भएका नाडी खाडीले खान्छ, बुद्धि भएकालाई युरोपले लान्छ, लेक होस् कि बेशी, खण्डहर गाउ रोइरहेछ तिमीलाई सम्झेर पृथ्वी, यता यस्तै छ! भन तिमीलाई कस्तो छ?
काठमाडौं भरियो ललितपुर भरियो, भक्तपुर भरिएर बस्ती अब बनेपा सर्दैछ, खेत जोगाउ, पाखामा घर बनाउ भन्ने तिम्रो अर्ति, मल जल गर्ने असल मालि नपाएर दिन-दिनै मर्दैछ, यता यस्तै छ पृथ्वी! भन तिमीलाई कस्तो छ?
सिपाही सरुवा गरेर सरकार टिकाउनु पर्छ, कृषि प्रधान देशमा छिमेकीलाई चिठ्ठी लेख्दै, दुई हात जोडेर चिनी र चामल झिकाउनु पर्छ, ठेकाभरि दही, मही र भकारी भरी धान हुने, छिमेकीसँग छुट्टै, शान, मान र रवाफ हुने, तिमीले दिएको देश कहाँ छ र पृथ्वी, यता यस्तै छ! भन तिमीलाई कस्तो छ?
कोशी बेचियो काली बेचियो, अब गण्डकी र कर्णाली पनि बेच्दैछ, मालिक धपाएर, भाडावालालाई साचो थमाएको मज्जा त! बल्ल नेपाली जनताले चेद्दैछ, यता यस्तै छ पृथ्वी! भन तिमीलाई कस्तो छ?
मन्दिरमा छौ कि मस्जिदमा छौ, धर्तीमै छौ कि स्वर्गमा छौ, बास दिँदा त धर्म हुन्छ भन्छन्, देशै दिएर हामीलाई, कति हो कति पुण्य कमाएर देश छाडेका तिमीलाई, छिमेकका भाइले नचिनेका बेला, तिम्रो तस्विर लिएर वालेनले दियो वालेका छन्, पूर्वका राई र जुम्लाका शाहीले अथाह माया पालेका छन्, अथाह माया दर्शाएका छन्, यता यस्तै छ पृथ्वी भन! तिमीलाई कस्तो छ?
लेखक अर्याल त्रि.वि. भूगोल केन्द्रीय बिभाग कीर्तिपुरबाट विद्यावारिधी गर्दैछन्।
याे पनि पढ्नुस्
तिम्रै भागमा ‘बालेन’ पर्नु पर्ने, काठमाडौं तिमी कति भाग्यमानी
देश त पहिलेकै ठिक, कसैलाई मन परोस् कि नपरोस्
कथा : लामिछाने बा का सात भाइ छोरा
हर्क, बालेन र गोपीले जोगाइदिएको गणतन्त्रको लाज
Facebook Comment