कविता : आमालाई परदेशी छोराको चिठी
घरदेश जस्तो परदेशी नहुँदो रहेछ आमा
टाँडी खेत बेचेर मुग्लान भासिएको म
न ऋण तिर्न सकियो न रित्तो हात फिर्न सकियो
भोको पेट
चर्को घाम
आठ घण्टा काम
न कसैको हेरचाह
न कसैको आराम
सपना त तिम्रा पनि थिए होलान
छोरो फर्कला र ऋण तिराैंला
यहाँ विरामी पर्दा के भो भनेर सोध्ने पनि
कोही छैन आमा
म यहाँ कसरी मन बुझाउँ
दसैं तिहार सम्झन्छु
बैनीको खाली निधार सम्झन्छु
यहाँ ज्वरो आउँदा सिटामोल खुवाउने पनि
कोही छैन आमा
हिजो आज सपना देख्नै छाडिसकें
देखेका सपना र रहरहरु सबै पूरा
नहुने रहेछन् आमा
खै कसरी तिरौं तिम्रो दूधको भारा
मलाई पनि कहाँ रहर थियो र आमा
खेतबारी बाझै राखेर मुग्लान भासिन
बाको खोकी अझै बढ्यो होला
जहाज आउँदा पर्देशी छोरो फर्किने
आश गढ्यो होला
म कसरी सुनाउँ आमा व्यथाहरु त
तिम्रा पनि त होलान्
यहाँ दुखमा सँगै रोइदिने पनि कोही छैन आमा
आफ्नै माटो जस्तो विदेश नहुँदो रहेछ आमा
रहर त मलाई पनि कहाँ नभएको होर आमा
आफ्नै माटोमा पसिना बगाउन
ऋणको भारीले थिचेपछि
कहाँ रमाउन सकिँदो रहेछ र आमा
यहाँ भोक लाग्यो भनेर सोध्ने पनि
कोही छैन आमा
के खायो होला भनेर सम्झिदिने पनि
कोही छैन आमा
लाग्छ परदेशी जीवन झरीमा ओतीन नसकेको
खाँबो जस्तो
गाउँमा मीठो मसिनो जे भए पनि मीठै
मानेर खाइन्थ्यो
यहाँ खानाको स्वाद भन्दा गाउँकै याद
बढी आउँदो रहेछ आमा
यो विरानो ठाउँ आफ्नै गाउँ जस्तो
नहुँदो रहेछ आमा
Facebook Comment