त्रिशूली बस दुर्घटना अपडेट : मृतक चार यात्रुको सनाखत
काठमाडौं । त्रिशूलीमा बस दुर्घटना हुँदा ज्यान गुमाएका आठमध्ये चार यात्रुको सनाखत भएको छ।
दुर्घटनामा म्याग्दीको रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी–१ की १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङको गजुरी–८ का २० वर्षीय सुशील रम्तेल र कास्कीको फुलबारी(११ का २४ वर्षीय सुमन थापाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
दुर्घटनामा ज्यान गुमाएका अन्य चार जनाको सनाखत हुन बाँकी छ। सनाखत हुन नसकेका मृतकमध्ये एक जना महिला र तीन जना पुरुष रहेका छन्। काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनी जाँदै गरेको रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूलीमा खसेको थियो।
बसमा २६ जना रहेका थिए। दुर्घटनामा १७ जना घाइते छन्। घाइते १३ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ। एक जनाको राजमार्ग अस्पताल मलेखु र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ। सहचालक र बागलुङ गलकोटकी ज्ञानु बुढामगर सामान्य घाइते भएका छन्। बस नदीमा डुबेकोले गोताखोरको टोलीले एक जना यात्रु हराइरहेको आशङ्कामा खोजी जारी राखेको छ।
Facebook Comment