मर्ज भएकै बैंकहरूको एनपीएल धेरै, चौथो त्रैमासमा कसको कति आयो?
काठमाडौं। सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्।
रिपोर्ट अनुसार बैंकहरुको निष्कृय कर्जा दर (एनपीएल) समग्रमा १२० प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा १.२२ प्रतिशत रहेको एनपीएल अहिले बढेर २.६९ प्रतिशत पुगेको हो।
रिपोर्ट अनुसार सबै बैंकहरुको एनपीएल बढेको छ। तर मर्जरमा गएका बैंकहरुको भने एनपीएल अत्याधिकमात्रामा बढेको देख्न सकिन्छ। सबैभन्दा धेरै एनपीएल कुमारी बैंकको रहेको छ । अघिल्लो वर्षको असारसम्म १.११ प्रतिशत रहेको यो दर अहिले बढेर ४.७७ प्रतिशत पुगेको हो। यो ३२९ प्रतिशतको वृद्धि हो।
कुमारी र एनसीसी बैंक मर्ज भएर कुमारी बैंकको नाममा एकीकृत कारोबार भएको हो। यसको प्रोभिजन बापतको रकम पनि धेरै बढेको छ। जसले गर्दा यस बैंकको वितरणयोग्य नाफा पनि ऋणात्मक देखिएको छ।
दोस्रोमा हिमालयन बैंकको एनपीएल धेरै छ। यसको उक्त दर ४.५७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष १.५९ प्रतिशत थियो। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पनि निष्कृय कर्जा दर १.४९ प्रतिशतबाट बढेर ४.३५ प्रतिशत पुगेको छ।
त्यस्तै, सेन्चुरीलाई गाभेको प्रभु बैंकको पनि एनपीएल १.८६ प्रतिशतबाट बढेर ४.१६ प्रतिशत पुगेको छ। मर्जर भएका बैंकहरुको नाम यो सूचीको शीर्ष स्थानमा रहेको छ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था मजबुत बनाउने भनेर मर्जरको नीति लिएको थियो । तर अहिलेको अवस्था हेर्दा मर्ज भएका बैंकहरुको अवस्था झनै नाजूक देखिएको छ।
Facebook Comment