लगानी बाेर्ड बैठक : चारवटा जलविद्युत परियाेजनाका लागि ३६ अर्व ३७ कराेडकाे लगानी स्वीकृत
काठमाडाैं। लगानी बाेर्डले चारवटा जलविद्युत परियाेजनाका लागि ३६ अर्व ३७ कराेड बराबरकाे लगानी स्वीकृत गरेकाे छ।
शुक्रबार बसेकाे लगानी बाेर्डकाे ५५औं बैठकले रोल्वालिङ खोला, छुजुङ्ग खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजनाका लागि कुल ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हाे।
लगानी बोर्डको बैठकले तमोर जलाशययुक्त जलविद्युत परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेश गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ।
त्यस्तै, दाङ जिल्लाको राजपुर गाउँपालिकामा २४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजनाको अध्ययनका लागि डाेल्मा हिमालयन इनर्जीलाई अध्ययन अनुमतिपत्र दिने निर्णय गरेको छ।
बैठकले बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा २५० मेगावाटको सौर्य ऊर्जा विकासका लागि अध्ययनकर्ता राइजिन इनर्जी कम्पनी लिमिटेडबाट पेस भएको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई बोर्डले जानकारीमा लिएको छ।
बोर्डले माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सम्बन्धमा सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको छ।
यसका अतिरिक्त, बोर्डको बैठकले ग्रीन क्याल्सियम अमोनियम नाइट्रेट उर्वरक कारखाना स्थापनासम्बन्धमा अध्ययनका लागि मलेसियास्थित रिनिकाेलासँग गरिने समझदारीको मस्यौदा स्वीकृत गरेको छ।
Facebook Comment