नेपाल भारत सम्बन्ध र नेपालप्रति भारतीय व्यवहार
नेपालको परराष्ट्र नीति पञ्चशील सिद्धान्तको आधारमा रहेको छ। अर्थात् नेपालले सब छिमेकी मुलुकसँग समान व्यवहार गर्छ।
तर खुला सिमाना र धार्मिक तथा सांस्कृतिक रहन सहनका हिसावले भारत नेपालको महत्वपूर्ण मित्रराष्ट्र हो।
वर्षौंदेखि नेपाल र भारतबीच रहिआएको स्वतन्त्र आवाज जावत र यसभित्र नेपाल र भारतको सम्बन्ध आफ्नै किसिमको विशिष्टकृत रहेको छ।
भारतका पाँचवटा राज्यसँग नेपालको सिमाना जोडिएको छ।
नेपाल र भारतबीच भएको सन् १९५० को शान्ति र मैत्रीपूर्ण सम्झौताले त नेपाल र भारतको सम्बन्धलाई एक किसिमको विशिष्टता प्रदान गरेको छ। यो सन्धिले नेपालले धेरै घाटा र असमानता व्यहोर्नु परे पनि नेपालीलाई भारतमा निर्बाध रुपमा काम गर्न सुबिधा भने प्रदान गरेको छ। त्यस्तै भारतीयलाई पनि यस्तै सुबिधा प्रदान गरेको छ।
यसैका कारण आज लाखौं भारतीय र नेपालीहरु एक अर्काको देशमा गएर खुला रुपमा काम गर्न पाएका छन्। नेपाल र भारतबीच रहेको दुई पक्षीय सम्बन्धलाई कायम राख्न २००७ साल देखिनै नेपालमा भारतका ठूला नेता नेपाल आउने र त्यस्तै नेपालका ठूला नेताहरु भारत जाने प्रचलन आज पर्यन्त कायम छ।
यो सम्बन्धको नियमिततालाई क्रमभंग हुन नदिन भारतका वर्तवान प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा दुई पटक नेपाल भ्रमण गरी नेपालसँगको सम्बन्धलाई अझ सुमधुर बनाउने प्रयास गरे।
त्यस्तै नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०१६मा भारतको राजकीय भ्रमण गरे भने पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गरेका थिए।
नेपाल र भारतबीच उच्चतहको राजनीतिक भ्रमणलाई तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जीको २०१६ को नेपाल भ्रमणले थप उचाइमा पुर्याएको छ।
किनकि यो भन्दा १८ वर्ष अघिसम्म नेपालमा भारतको राष्ट्रपतिको यसरी राजकीय भ्रमणमा आएका थिएनन्। यो नेपाल भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन सन् २०१७ मा फेरि नेपालकी तात्कालीन राष्ट्रपति बिद्यादेबी भण्डारीको भारतमा राजकीय भ्रमण भएको थियो।
फेरि २०१७ मै प्रधानमन्त्री शेरबहादुर देउवाले राजकीय भ्रमण गरेका थिए। फेसर सन् २०१८ मा केपी ओलीले भारतको राजकीय भ्रमण गरेको देखिन्छ। २०१८ मै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमण गरी फेरि बिमस्टेकको नेपालमा भएको शिखर सम्मेलनमा भाग लिन २०१८ मै अएका थिए।
यसरी दुवै मुलुकका उच्चस्तरीय राजनीतिक भ्रमणबाट यी दुई मुलुकको सम्बन्ध कति घनिष्ठता छ भन्ने देखिन्छ। नेपाल र भारतमा उच्च स्तरका भ्रमणले बाहिरी रुपमा हेर्दा यी दुई मुलुकबीचको सम्बन्ध सुमधुर देखिए पनि भित्री रुपमा भने यी दुई मुलुकबीच गम्भीर समस्या रहेका छन्। विशेष गरी दुई मुलुकबीच सीमा समस्या जटिल बन्दै गएको छ।
भारत नेपालको ठूलो र नजिकको मित्र राष्ट्र भएपनि नेपालको अस्थिरत राजनीतिको कारण सरकार परिवर्तनसँगै भारतसँगको दृष्टिकोणमा पनि एक रुपता नहुँदा यी दुई मुलुकबीचको समस्याले समाधान पाउन सकेको देखिँदैन।
कतिपय अवस्थामा त भारतले नेपाललाई हेपाहा प्रवृत्ति देखाएको भन्दै नेपालमा भारत विरोधी भावना बढ्ने गरेको छ। विशेष गरी नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेप हुने गरेको यहाँका बुद्धिजिवीको बुझाइ छ।
नेपालमा संविधान जारी गर्ने बेलामा भारतीय दबाव नमान्दा उसले लगाएको नाकाबन्दीलाई नेपाली जनताले भारतीय नांगो हस्तक्षेपको रुपमा बुझेका छन्।
यहाँ हुने हरेक सत्ता समिकरणमा भारतको हात रहने कुरा ओपन सिक्रेट जस्तै छ। नेपालले अतिक्रमित भूमि समेटेर जारी गरेको चुच्चे नक्शापछि दुई मुलुकबीचको सम्बन्धमा चिसोपना आइरहेको छ।
नेपाल र भारतीय रहेका सीमा विवाद वार्ताको माध्यमबाट समाधान गर्ने भारतीय चाहना अझै पनि देखिँदैन। केही समय अगाडि प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले सीमालगायतका विवाद वार्ताको माध्यमबाट समाधान गर्नु पर्ने अभिव्यक्तिलाई नेपालले ठूलो सफलता मान्नु पर्ने अवस्था छ।
यद्यपि योसँगै भारतले नेपाललाई गरेको सहयोगको भने प्रसंसा गर्नुपर्छ। नजिकको छिमेकी नाताले नेपालमा हुने प्राकृतिक प्रकोपजस्ता विषयमा भारतले सधैं नेपाललाई सहयोग गर्दै आएको कुरालाई भने स्वीकार गर्नुपर्छ। नेपालमा गएको शक्तिशाली भूकम्पमा पनि भारतले यहाँ राहत र उद्धारमा ठूलो सहायता गरेको थियो।
त्यसो त भारतीय सेनामा गोरखा पल्टन नै छ। त्यही भएर त भारतीय प्रधानमन्त्री मोदीले नेपालको संविधासभामा भाषण गर्दा भारतले कुनै पनि युद्ध नेपालीको रगत विना नजितेको बताएका थिए।
भारतीय स्वतन्त्रताको आन्दोलनमा नेपालका नेताहरुले गरेको सहयोग इतिहासमा लेखिएको छ। माहात्मा गान्धीको पालामा भएको आन्दोलनमा नेपालीहरुले सेवा र सहयोग प्रदान गरेको कुरालाई ध्यानमा राखी भारतलेपनि नेपालमा २००७ सालको प्रजातन्त्र ल्याउनमा निक्कै ठुलो भूमिका खेलेको इतिहास साक्षी छ।
यसरी एकले अर्कोलाई दुःखको बेला आपसी सहयोग प्रदान गर्नु नै सम्बन्धको बलियो गाँठो मानिन्छ। यी दुई मुलुकबीच देखिएको सबै खाले समस्यालाई वार्ताको माध्यमबाट समाधान गर्दै दुई मुलुकबीचको सम्बन्धलाई थप सुदृढ पार्नु आजको आवश्यकता हो।
Facebook Comment