राजनीतिले जन्माएको जातको खाँडो

हरिप्रसाद सोडारी
११ भदौ २०८० ११:३२

नेपालको राजनीतिले जात, धर्मभन्दा माथि टाउको उठाउन सकेन। गरिबी, अभाव, पछौटेपनसँग लड्न छोडेर जनतालाई भिडाउने, समाजलाई टुक्र्याउने, गन्थनमा समय बिताउने कार्यमा कार्यकाल समाप्त गरेको देखिन्छ।

हामीलाई वेद, त्रिपिटक र मुन्धुम नै संविधान हो। यहीँका शास्त्र, शहीदको इच्छा, वीरको त्याग र पुर्खाको मार्गदर्शन नै हाम्रो राजनीतिक शैली हुनुपर्छ।

दुर्भाग्य शास्त्र जलाउने, पुर्खाको मूर्ति फोर्ने, कुल नपुज्ने, मूल नखोज्ने क्रमले परिवार भत्किएको छ, समाज टुक्रिएको छ, राष्ट्र ओरालो लागेको छ। यसको ज्वलन्त उदाहरण हो पोखरामा पृथ्वीनारायणका सालिक टुट्नु, धरानमा गाई काटिनु, लुम्बिनीमा बुद्धका मूर्ति फोडिनु।

मानिसको वर्णीकरण ज्ञान र कर्मको आधारमा भयो। परिवार विशेषमा जन्मिएर पुज्य भएका छैनन्। संघर्षले परिवार, समाज र राष्ट्रलाई आदरणीय बनाएका छन्। परमात्माको जात छैन भने उनले सृष्टि गरेका प्राणीको जात कसरी हुन्छ? वनस्पति, पशुपंक्षीमा जात छैन।

आर्यावर्तका बासिन्दा आर्य हुन्, श्रेष्ठ हुन्। ज्ञान, ध्यान, विज्ञानलाई यिनीहरूले फूलाए, फलाए र फैलाए। फरक जातका मानिसले पुष्पक विमान, त्रिपुर (सुन, चाँदी र फलामबाट बनेको आकाशीय दरबार), श्रीयन्त्र, ब्रम्हाास्त्र, दिव्यास्त्र आदिको निर्माण गरे।

ब्राम्हणोद्रस्यमुखमासीद्बाहूराजन्यः कृतः ।
ऊरू तदस्ययद्वैश्यः पद्भ्यांशूद्रोद्रअजायत ।।
-शुक्लयजुर्वेद (३१।११)

अर्थात् “परमात्माको मुखबाट ब्राम्हण, बाहुबाट क्षत्रीय, तिघ्राबाट वैश्य, पैतलाबाट शूद्रको उत्पत्ति भयो।” ब्रम्हाजीका चार मुखले चारै जातका मानिस ब्राम्हण हुन सक्ने बताउँछ, विष्णु र देवीका चार हातले चारै जातका मानिसहरु क्षत्रीय हुन सक्ने बुझाउँछ।

सरस्वतीका चार हातले सबै जातलाई पढ्ने, लक्ष्मीका चार हातले चारै जातले कमाउन पाउने, दुर्गाका धेरै हातले यहाँका हरेक बासिन्दाले सम्पूर्ण कर्म गर्न सक्ने संकेत गर्छ।

वेदले कोइराला, पोखरेल र आचार्यहरू ब्राम्हण हुन्, परियार र पोडेहरु शूद्र हुन्, लिम्बू र राईहरु क्षत्रीय हुन्, नेवारहरु वैश्य हुन् भनेको छैन। वेदले बौद्धिक र शारीरिक क्षमताका आधारमा मानिसलाई वर्गीकरण गरायो।

विराटस्वरूप वौद्धिकताको प्रतीक, कस्तो कर्म गर्नेहरु कुन समूहमा पर्छ भन्ने सूचना हो। मुखले ज्ञानलाई हातले शारीरिक शक्ति र युद्ध क्षमतालाई, तिघ्राले व्यापार गर्ने विधि, खुट्टाले सेवा वा उपकार गर्ने विषयलाई बुझाउँछ। मानिस प्रतिष्ठित र कलंकित कर्मले हुन्छ।

हरेक जातलाई पूजा, दर्शन, तीर्थाटन, अध्ययन गर्न शास्त्रले स्वीकृत दिन्छ। वेदका कुनै पनि मन्त्रले यो जात र थरले मूर्ति छुन हुँदैन, तीर्थमा जान मिल्दैन, पढ्ने अधिकार छैन भन्दैन। यो जातले पकाएको खान हुँदैन, यो थरको मानिस अछुत हो भन्ने सामाजिक विभाजन आर्यावर्तमा थिएन।

ब्राम्हणको अर्थ बाहुन होइन योग्यता, कुशलता र दक्षताको वाचक हो। थरको जन्म केही सय वर्षपूर्व भएको हो। ब्राम्हणका थरहरू विद्वत्ता र भूगोलका आधारमा राखिएका छन्।

सुवेदी (जसले राम्रोसँग वेद पढेको छ), द्विवेदी (जसले दुईवटा वेद पढेको छ), भट्ट(भट् परिभाषणे-अर्थात्, जसले शास्त्रको वर्णन गर्न सक्छ), आचार्य (जसले डिग्री गरेको छ), मिश्र (श्रद्धेय व्यक्ति), शास्त्री (कुनै विषयमा डिप्लोमा पास गरेको छ)। केही थरहरु पुर्खाहरूले बसोबास गरेको स्थानको आधारमा राखियो।

जस्तै पौड्याल (गढवालको पौडी भन्ने ठाउँबाट आएका), खरेल(खरालबाट आएका), खनाल (खनबाट आएका), घिमिरे (घिमिबाट आएका)आदि। प्राचीन कालमा ब्राम्हण शब्दले थरलाई होइन ग्रन्थलाई बुझाउँथ्यो।

वेदका व्याकरणलाई ब्राम्हणग्रन्थ भनिन्छ। जस्तै शतपथब्राम्हण, ऐतेरयब्राम्हण, तैतेरीयब्राम्हण आदि। त्यसैले ब्राम्हणको अर्थ बाहुन हुन सक्दैन। आठौँ शताब्दीका विद्वान् वाचस्पति मिश्रले भनेका छन्-

नैरुक्त्यं यस्य मन्त्रस्य विनियोगः प्रयोजनम्।
प्रतिष्ठानं विधिश्चैव ब्राम्हणं तदिहोच्यते।।

अर्थात्, “वेदका मन्त्रहरूलाई कहाँ, कतिमात्रा र उच्चारण गर्ने, कुन विधिले प्रयोग गर्ने आदिको निर्णय दिने शास्त्रलाई ब्राम्हण भनिन्छ।” केही दशकअगाडिसम्म श्रीमान्लाई मेरा ब्राह्मण (बाहुन) भन्ने चलन थियो।

आदरणीय, पूजनीय, उदाहरणीय व्यक्तिलाई ब्राह्मण वा आर्य भनिन्थ्यो। ब्राम्हणले जातको पहिचान होइन शास्त्रको ज्ञान, साधनाको अवस्था, त्यागको भाव अनुसन्धानको तहलाई अवगत गराउँथ्यो।

शास्त्रको अध्ययन, अध्यापन गर्नेलाई बाहुन होइन ‘आचार्य’, ‘उपाध्याय’, ‘शास्त्री’, ‘आर्य’लगायतका उपाधि दिइयो। यही सम्मान उनका सन्तानले पनि पाउन थाले र जातमा बदलियो। थर परिवर्तन हुँदैन तर जात परिवर्तनशील हुन्छ। जस्तै रत्नाकार चोर थिए।

ब्रम्हचिन्तन, साधना र शास्त्र अध्ययनपछि ब्राम्हण बने। रावणका तीन दाजुभाइमा रावण र कुम्भकर्ण खराब कर्मले राक्षस भए। रामको भक्ति एवं सत्कर्मले विभीषण क्षत्रीय राजा बने। क्षत्रीय वंशमा जन्मिएका विश्वामित्र साधना र ब्रम्हचिन्तनले ब्रम्हर्षि बने।

मुर्ख कालिदास संस्कृतका आदिकवि भए। कालिदासले रघुवंश महाकाव्यमा भन्नुभएको छ– क्षतात् किल त्रायत इत्युदग्र क्षत्रस्य शब्दो भुवनेषु रूढः आफ्नो राज्यलाई बाह्य आक्रमणबाट बचाउने, जनतालाई भयबाट मुक्त गराउने, वीर एवंं शस्त्र ज्ञानमा निपूर्णलाई क्षत्रीय भनिन्छ।

याज्ञवल्क्यस्मृतिमा भनिएको छ-
प्रधानं क्षत्रिये कर्म प्रजानां परिपालनम्।
कुसीदकृषिवाणिज्यपाशुपाल्यं विशः स्मृतम्।।

अर्थात् “क्षत्रीयहरूको मुख्य कार्य जनताका जीउधनको सुरक्षा र पालन गर्नु हो, वैश्यको कार्य कृषि उत्पादन, व्यापार, पशुपालन तथा ऋण दिएर व्याज लिनु हो।” नीतिशास्त्र, पुराण, महाकाव्यमा एक जातले अर्को जातलाई छुन नहुने चर्चा छैन।

गरिबी, अशिक्षा, समाजिक दूरीको ढाडमा टेकेर पश्चिमाको राजनीति र डलरवादी धर्मले जातका नाममा नेपालमा आगो लगायो। जातको राजनीतिले सीमित व्यक्ति कमाउने, रमाउने अरुहरु युद्धमा होमिने क्रम २०६३ को नरसंहारपछि बढ्दै गएको छ।

वेदले मुख ब्राम्हण उत्पत्ति भएको बताउँछ। ऐंजेरुहरुले वैदिक शास्त्र नहेरी, आदिम समाज नबुझी पुर्खा र इतिहासको सर्वनाश गरेका छन्। वैश्यहरु वाणिज्य क्षेत्रमा दक्ष, योग्य र कुशल हुन्थे। न्यायिक रूपले नाफा लिने र जनतालाई सेवा उपलब्ध गराउँथे।

वृषं लातीति वृषलः अर्थात्, गोरु ल्याउने वा पाल्नेलाई वृषलः भनिन्थ्यो। वृषलस्य गोत्रापत्यं वैषलः गोरु पाल्ने परिवारमा जन्मिएकालाई वैषल भन्न मिल्छ। वैषलको अपभ्रंश भई वैश्य शब्दको उत्पत्ति भयो। वृष भनेको गोरु हो। गोरु पाल्नेलाई वृषल भनिन्छ।

किसान नै व्यापारको जन्मदाता हो। शुचं द्रावयतीति शूद्रः ब्रम्हज्ञानी अर्थात्, जसले शोक, दुःख, कष्ट आदिबाट मुक्त गराउने धार्मिक एवं न्यायप्रेमीलाई शूद्र भनिन्छ। डाक्टर, वैद्य, समाजसेवी, राजनीतिकर्मी सबै शूद्र हुन्। पवित्र सोच र सेवामूलक कार्य गर्ने शूद्र जातिलाई छुनसमेत हिच्किचाउनु कस्तो दुर्भाग्य हो।

जातो व्यासस्तु कैवत्र्यां श्वपाक्यां तु पराशरः।
वेश्याया गर्भसंभूतो वशिष्ठस्तु महामुनिः।।

अर्थात् “माझीकी छोरीबाट जन्मिएका वेदव्यास, चण्डालपुत्रका रूपमा जन्माएका पराशर कर्मले गर्दा ऋषिहरूमा पूज्य भए। वेश्याका पुत्र वशिष्ठ ब्रम्हर्षि बने। त्यसैले जन्म र जन्मको वर्णले कसैलाई असर पर्दैन।”

व्यासका पिता पराशर चाण्डालीबाट जन्मिए पनि ब्राम्हण हुनुभयो तसर्थ उच्च वर्ण हुनलाई संस्कार नै कारण हुन्छ। फल्गुनन्द लिम्बू थरमा, डा. स्वामी प्रपन्नाचार्य राई कुलमा, योगी नरहरिनाथ क्षत्रीय परिवारमा, कालीञ्चोकबाबा तामाङ जातमा जन्मिएर पुजनीय बने।

ज्ञानी, ध्यानी र स्वाभिमानी व्यक्ति जुन परिवारमा जन्मिए पनि कर्मले आदरणीय हुन्छ। गुह्वेश्वरीमन्दिरमा नेवार, भद्रकालीमन्दिरमा पोडे, मनकामना र गोरखकालीमा मगर, बुढासुब्बामा लिम्बू पूजारी छन्।

नेपालका कैयौँ प्राचीन मन्दिरमा ब्राम्हाण्ड पुजारी छैनन्। धर्मको ठेक्का, पूजाका जिम्मेवारी, शास्त्रको उत्तरदायित्व बाहुनले मात्र लिएका छन् भन्नु शतप्रतिशत झुट्टा प्रचार हुन्। तान्त्रिक पूजामा नेवार, थारु, मगर, लिम्बू आदिको पहुँच अधिक छ। हरिवंशपुराणमा भनिएको छ- “नाभागारिष्टपुत्रौ द्वौ वैश्यौ ब्राम्हणतां गतौ” अर्थात् नाभागारिष्टका दुई पुत्र वैश्यबाट ब्राम्हण भए।

तं शशाप कुलाचार्यः कृतागसमकामतः।
न क्षत्रबन्धुः शूद्रस्त्वं कर्मणा भवितामुना।।
-श्रीमद्भागवत्(९।२।९)

श्लोकका अनुसार पृषध्रले गाईको हत्या गरेको हुनाले शूद्र हुनुप¥यो। पूज्य र अपूज्य कर्मले बनाउँछ जन्मले होइन। जायते इति जातिः ईश्वरले जसलाई बनायो त्यही जाति हो।

जस्तै मानवजाति, पशुजाति, पंक्षीजाति आदि। पशुजाति भित्र पनि बाख्रा, भैसी, बाघ आदि समूहहरू भएजस्तै मानवभित्र चार वर्ण छन्। रातो, कालो, सेतो र पहेँलो रङका मानिस छन्।

ऊर्जालाई आधार मानेर गाईलाई आमा, सिंहलाई देवीको बाहन, नन्दीलाई महादेवको बाहन, गरुडलाई विष्णुको बाहनका रुपमा पूजनीय मानियो। पीपल र तुलसीलाई विष्णुस्वरुपमा, वरलाई महादेवको स्वरुपमा, सुपारीलाई गणेशको स्वरुपमा पूजा गरिन्छ।

तीर्थस्थल र देवस्थलको पानी, झार, माटोलाई श्रद्धापूर्वक शिरमा लगाउने, औषधि सम्झेर खाने गरिन्छ। ऊर्जा र उपयोगिताअनुसार पूजनीय, दर्शनीय सम्झिएको इतिहास छ।

भगवान् श्रीकृष्ण(गीता ४।१३)ले भन्नुभएको छ-चातुर्वण्र्यं मया सृष्टं गुणकर्मविभागशः “हे अर्जुन! गुण र कर्महरूको आधारमा मैले चार वर्णको रचना गरेको छु।”  पठन-पाठन गरे ब्राम्हण, युद्ध कार्य गर्ने क्षत्रीय, व्यापारीलाई वैश्य, सेवकलाई शूद्र भनियो।

वेदाभ्यासो ब्राम्हणस्य, क्षत्रीयस्य सुरक्षणम्।
वार्ताकर्मैव वैश्यस्य विशिष्टानि स्वकर्मसु।।
-मनुस्मृति (१०।८०)

अर्थात्, “वेदको अभ्यास गर्नेलाई ब्राम्हण, सुरक्षा दिनेलाई क्षत्रीय, व्यापार–व्यवसाय गर्नेलाई वैश्य भनिन्छ।” “जात पात पूछे ना कोय। हरि को भजे सो हरि का होय।।”

हरिलाई भजेपछि त्यसको जात हरि नै भयो। जस्तै महादेव, पार्वती, लक्ष्मी, विष्णु, गणेश, कुमार, ऋषि पारुहाङ, सुम्निमा, राम, कृष्ण, नृसिंह, परशुराम, व्यास, विश्वामित्र, कंस, रावण, महावीर आदिका नामपछाडि पोखरेल, पौडेल, लिम्बू, राई, विश्वकर्म, दर्लामी, वान्तवा, तामा∙, घले जोडिएको छैन।

मानिसहरु ऋषिका सन्तान हुन्, देवीदेवताका अनुयायी हुन् उनीहरुकै थर छैन भने हाम्रो थर कसरी हुन्छ? हामी काश्यप, आत्रेय, भारद्वाज आदि गोत्रका छौँ। अछुत भनिएकाहरू सबै ऋषिका सन्तान हुन् भन्ने तथ्य उनीहरूकै गोत्रले बताउँछ।

हाम्रो इतिहास, शास्त्र, धार्मिक विरासत् नबुझ्ने तर १७ हजार मार्नेहरूले जातमाथि राजनीति गरे। उनीहरुले न त छोरीको विवाह दलितसँग गराए, न त छोराहरुलाई शूद्र परिवारमा जन्मिएको बुहारी ल्याउने अनुमति दिए बरु कामबासनालाई रोक्न नसकी आफूले अन्तर जातीय विवाह गरे।

ती कामपुरुषहरुले नेपाली समाजलाई फुटाउन, वैदिक धर्मलाई हल्लाउन, राष्ट्र कमजोर बनाउन क्रिश्चियन र कम्युनिष्टको वैशाखी टेके। नेपालमा जातलाई सुधार गर्न थर हटाई गोत्र राख्नुपर्छ, शिक्षा र सीपमा पहुँच पु¥याउनुपर्छ, चुनावी नारा दिएर हुँदैन।

जन्मना जायते शूद्रः कर्मणा द्विज उच्यते।
वेदपाठात् भवेत् विप्रो ब्रम्हज्ञानाच्च ब्राम्हणः।।
-स्मृति सन्दर्भ

अर्थात् “शूद्रको रूपमा जन्मन्छन्, असल कर्म गरे द्विज बन्दछन्। वेदपाठ गर्ने र वेदका वचनअनुसार कार्य गरे विप्र हुन्छ। ब्रम्ह चिन्तन गर्‍यो भने ब्राम्हण बन्दछ।” जात पुतलीको जीवनचक्रजस्तै हो। जति जति ज्ञान, अनुभव र संस्कारले उत्कृष्ट बन्दै जान्छ त्यति उपल्लो स्तरको हुन्छ।

सत्ययुगमा शुद्धता बढी भएकोले सबै ब्राम्हण थिए। त्रेतायुगमा रावणलगायतका राक्षसहरू उनीहरुलाई बाटो देखाउन क्षत्रीयको उत्पत्ति भयो। जस्तै भगवान् राम यसका उदाहरण हुन्। त्रेतायुगमा ब्राम्हण र क्षत्रीय दुई जातिको मात्र उत्पत्ति भयो।

द्वापरयुगमा आइपुग्दा मानिसहरूमा तामसी गुणले व्यापकता पायो। कंस भाञ्जाको हत्या गर्न तयार भए। बुबा, आमा, बहिनी र ज्वाईंलाई समेत जेलमा हाले। यो युगमा क्षत्रीयको बाहुल्यको साथ साथै वैश्य र शूद्रको पनि उत्पत्ति भयो।

शास्त्रले भनेको शूद्र र आरक्षण खोज्ने शूद्रमा आकाश पातालको फरक छ। प्राचीन कालका शूद्रहरू ज्ञानी र समाजसेवी थिए। अहिलेका शूद्रले सुविधा, पद र नाफा लिनका लागि उम्रिएका हुन्।

वर्तमान शूद्रको जरो गरिबी र विदेशीसँग गाँसिएको छ। अवसरवाद, विदेशवाद र माओवादको संयोजनले उतपादन भएका शूद्रमा राष्ट्र, पुर्खा एवं परम्पराको सुगन्ध छैन। ऋषि परम्परा, वैदिक शास्त्रका शूद्रमा नेपाल छ, नेपालीपन भेटिन्छ।

ज्ञानदिलदासले भन्नुभएको थियो- “जातिपाती यहाँ के फाँसी। हमारे घर हैँ अविनाशी।।”  समाज सुधारक साधु, सन्त, महात्माहरूले धेरै पहिलेदेखि छुवाछुतलाई हटाउन प्रयास गरेका थिए। ज्ञानदिलदास जन्मजात बाहुन हुन्।

थरवाद र छुवाछुतको विरोधमा रुम्झाटारमा दिउसै राँके जुलुस निकालेका थिए। उनले गुरुङ परिवारकी कन्यासँग विहेवारी गरे। सबै जातिहरूलाई धर्मकर्म गर्न लगाएर छुवाछुतको अन्त्य गर्ने शंखघोष गरे। नेपालको इतिहासमा छुवाछुत हटाउनमा साधुसन्त, ब्राह्मण र राजा महेन्द्रको स्तुत्य योगदान छ। ज्ञानदिलदासले भनेको थिए-

यो रुम्जाटारको कोदोको पिठो निर्गुणको दाउन।
धर्म र कर्म गुरु∙ले गर्‍यो छक् पर्‍यो बाहुन।।
-जोसमणि स्मारिका

नेपालले अहिले भोगेको समस्या थरवाद हो, जातिवाद होइन। थरलाई मेटाउन सकिन्छ जातिवादलाई सकिँदैन। पश्चिमी मुलुकहरुमा धर्म, रङ, भूगोल, पार्टी आदिको समस्या छ जस्तै अमेरिकको काला र गोराबिचको विभेद।

पश्चिमाले डलर खन्याएर, इतिहास बङ्ग्याएर, समाजको दुरी बढाएर एकताको भावनामा तुसारा पात गराएर छुवाछुतलाई उचालेका छन्। रोग एकातिर उपचार अर्कोतिर हुँदा जातले क्यान्सको रूप लिएको छ।

कुनै कालखण्ड नेपालले शान्ति, सद्भाव, शिक्षा दुनियाँलाई दियो, आज आफैँ थरवादको पगडी गुथ्न बाध्य छ। छुवाछुतको फाइदा नेताले लिएका छन्, तल्ला जातिहरु कुरामा भुलेर भविष्य गुमाएका छन्।

संकुचनबाट उठौँ, शास्त्रसम्मत संस्कार अवलम्बन गरी थरलाई हटाएर गोत्र, पाछा राख्ने अभ्यास गरौँ। थर हटाएर ऋषि, बुद्ध र पारुहाङ परम्परालाई अपनाई मानव जातिमा विलय गरौं। वैदिक सनातन धर्मले परिकल्पना गरेको वैदिक साम्यवाद अनुरुपको समाज निर्माण गरौँ।

जातिवादलाई जात्तिवाद (असलवाद)मा छुवाछुतलाई क्षमावादमा रूपान्तरण गरौँ। गाईलाई काटेर, भाइलाई भगाएर, माईलाई लटखेर समस्या समाधान होइन द्वन्द्वको बिजारोपण हुन्छ भन्ने तथ्यलाई नभुलौँ।

मिलेको समाज, एकताबद्ध भएका राष्ट्रमा आगो लगाउनेहरुले हामीलाई कसरी जुधाएका छन् भन्ने तथ्यलाई भुल्यौँ भने कोशीमा धेरै पानी बगेर जाँदा पनि हाम्रा सन्ततिहरु अभावमा तड्पिएर अपराधकर्ममा नै भुल्न सक्नेछन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *