सुन तस्करी प्रकरण : सूचना सङ्कलन गर्न सिआइबीका एसएसपीलाई हङकङ पठाइँदै

डिसी नेपाल
१२ भदौ २०८० २२:१७

काठमाडौँ । ६१ किलो सुन तस्करी प्रकरणमा विदेशी नागरिकको सङ्लग्नता देखिपछि इन्टरपोलको सहयोग मागेको नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का एक जना अधिकृतलाई सूचना सङ्कलनका लागि हङकङ पठाइने भएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज आचार्यलाई हङकङ पठाउने जानकारी दिए । चाँडै आचार्य हङकङ जाने पनि उनले बताए । गएको साउन ३ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।

त्यसको दुई सातापछि सुन प्रकरणको अनुसन्धान सिआइवीले गरिरहेको छ । सिआइबीले यही भदौ ८ गते आवश्यक सूचना र जानकारी भए सिआइबीलाई उपलब्ध गराइदिन सार्वजनिक अनुरोध गरिसकेको छ । सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेकाले त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि यसअघि नै प्रहरीले पत्राचार गरिसकेको छ । सुन प्रकरणमा प्रहरीले २३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

सुन तस्करी प्रकरणमा छानबिन आयोग गठन गर्ने दलहरूबीच सहमतिपछि लामो समयदेखि अवरुद्ध बनेको संसद् सञ्चालन भएको थियो ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *