मणिपुरमा फेरि हिंसा भड्कियो, गोली लागेर दुई जनाको मृत्यु

डिसी नेपाल
१३ भदौ २०८० १४:००

काठमाडौं । मणिपुरको कुकी-जोमी बाहुल्य चुराचन्दपुर र मेइती बहुल विष्णुपुर जिल्लाको सिमानामा मंगलबार फेरि दोहोरो गोली हानाहानमा दुई जनाको मृत्यु भएको छ ।

यी सीमाना जोडिएका जिल्लाको खोइरेन्टेक क्षेत्रमा भीषण गोली हानाहान भएको थियो, जसका कारण अरु धेरै घाइते भएका थिए ।

गोलीबारीको घटना भएको दिन मंगलबार मणिपुर विधान सभाको एकदिने अधिवेशन बोलाइएको थियो। केही मिनेटपछि नै बैठक स्थगित भएको थियो ।

प्रहरीका अनुसार बिहान साढे ६ बजेबाट सुरु भएको गोलीकाण्ड राति अबेरसम्म जारी रहेको थियो । घटनामा ज्यान गुमाएका मध्ये एक जना जङ्मिनलुन गङ्ते रहेको बताइएको छ ।

गङ्ते गाउँका सुरक्षा गार्ड थिए।

कसैको ज्यान गएको ११ दिनपछि राज्यमा यस्तो हिंसा भएको हो । यसअघि अगष्ट १८ मा उखुरुल प्रहरी चौकी क्षेत्रमा तीन जनाको हत्या भएको थियो ।

आदिवासी जनजाति नेता फोरमले खोइरेन्टेक वरपरका कुकी-जोमी गाउँहरूमा आक्रमण गर्दा बिहान १० बजेतिर गङ्तेको हत्या भएको जनाएको छ।

यद्यपी चुराचन्दपुर प्रहरीले उनको मृत्यु गोली लागेर वा विष्फोटबाट भएको मंगलबार रातिसम्म खुल्न नसकेको जनाएको छ ।

गोली हानाहानको यो घटनापछि उक्त क्षेत्रमा तैनाथ केन्द्रीय सुरक्षा बल र सेनाले अपरेशन सुरु गरेको थियो । आक्रमणमा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरिएको छ ।

मणिपुरमा गत मे ३ देखि जातीय हिंसा सुरु भएदेखि नै चुराचन्दपुर–विष्णुपुर सीमामा लगातार झडप र हिंसा भइरहेका छन् ।

चुराचन्दपुरको पहाडी जिल्ला कुकी-जोमी जनजातिको बाहुल्यता रहेको छ भने विष्णुपुर मेइती बहुल जिल्ला हो।

राज्यमा झण्डै ४ महिनादेखि जारी हिंसामा अहिलेसम्म १८० भन्दा बढीको मृत्यु भएको छ भने ६० हजारभन्दा बढी विस्थापित भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *