इतिहास बुझ्ने र बुझाउने प्रयासबाट भविष्य सप्रन्छ …

जीवन विज्ञानका विशेषज्ञ आदरणीय गुरु एलपी भानु शर्माबाट १८ जुलाई २०२३ मा बेलायतको प्रसिद्ध एडिनबरा क्यासल अवलोकनपश्चात् फेसबुक स्टाटसमा लेख्नुभयो, इतिहास बुझ्ने र बुझाउने प्रयासबाट भविष्य सप्रन्छ।

उहाँको महावाणी पढ्ने र बुझ्ने सौभाग्य मलगायत धेरैले पायौँ। श्रद्धेय गुरुदेवको यस महान् उद्गारले इतिहासकै विद्यार्थी भएको नाताले मलाई उद्वेलित बनायो। अतः नेपालमा इतिहास बुझ्ने र बुझाउने वर्तमान सन्दर्भमा केही लेख्ने हुटहुटी पैदा हुँदा यस आलेखले यो संरचना लिन पुगेको हो।

इतिहास के हो भन्ने प्रश्न सहज छ तर यसको अर्थ विश्लेषण गर्न कठिन छ। हुन त सामाजिक विज्ञानको विषयक्षेत्रका कुनै पनि विषय वा शास्त्रको एकमात्र सार्वभौम र सर्वव्यापी परिभाषा गर्न सकिँदैन। वास्तवमा यो सहज पनि छैन।

तापनि साधारणतया इतिहास भनेको बितेका घटनाहरूको बोधगम्य र महत्त्वपूर्ण वृत्तान्त हो भन्ने गरिन्छ। इतिहास लेखन विधा, दर्शन र यस क्षेत्रका स्थापित मान्यताका विषयमा अनवरत छलफल तथा अध्ययन-अनुसन्धान भइरहेका छन्। त्यसतर्फ पनि यो आलेख उन्मुख छैन। अतः नेपालमा इतिहास बुझ्ने र बुझाउने क्रममा देखा परेका वर्तमान सन्दर्भतिर लागौं।

नेपाली जनमानसमा इतिहास भनेको शासकको गुणानुवर्णन, युद्धका घटना तथा राजवंशको उत्थान र पतनका दस्तावेज ठानिन्थ्यो। वंशावली राजाहरूको स्तुति गरिएका ग्रन्थद्वारा प्रवाहित सूचनालाई इतिहास भनिन्थ्यो। राजनीतिलाई इतिहास मान्नेहरूको जमात पनि ठूलै थियो र यो यद्यपि छँदै छ।

शासकको गुणानुवर्णन, युद्ध र सन्धि, सत्ताप्राप्तिका लागि भएका षड्यन्त्र, राजवंशको उत्थान र पतन, विभिन्न कालखण्डमा भएका विविध सुधारहरू, विभिन्न जाति एवं वर्गले आफ्नो स्वार्थका लागि गरेगराएका संघर्ष जस्ता विषयवस्तुले सर्वाधिक प्राथमिकता पाए।

जनताको इतिहासको रूपमा रहेका विगतका कलाकौशल स्मारक जस्ता सांस्कृतिक धरोहरको अध्ययन र अन्वेषणमा खासै रुची देखिएन। यसतर्फ सम्बन्धित पक्षले समयमै ध्यान दिन नसक्दा कयौँ प्राचीन स्मारक तथा कलाकृतिहरू नष्ट भए र कति मासिने क्रममा पनि छन्।

मन्दिर, पाटी, पौवा, सत्तल बिहार तथा ढुङ्गेघारा अतिक्रमणमा परेर खुम्चिँदै छन्। प्राचीन स्तम्भलेख, अभिलेख तथा कुँदिएका शिला व्यक्तिका घरआँगनमा राखिएका छन् भने कतिपय पुराना लेखाइ नष्ट गरी रामसीता लेखिएका छन्।

सार्वजनिक स्थलका भौतिक सम्पदा व्यक्तिका घर घर पुगेका छन्। मन्दिर टुँडाल तथा काष्ठकलाहरू आगो ताप्ने र खाना बनाउने कार्यमा प्रयोग हुने गरेका छन्। पुर्खाद्वारा विशेष प्रयोजनका लागि राखिएका गुठीहरू मासिँदै छन्। यस्ता क्रियाकलापबाट इतिहास नै लोप हुने खतरा बढेको छ। यी सबैको कारण हामीले इतिहास बुझाउन नसक्नु नै हो।

नेपालमा बसोबास गर्ने सबैको सामूहिक प्रयास, कार्यगत एकता, उचित समन्वय र एकले अर्कोलाई आदरसम्मान गरेमा मात्र मुलुकमा अमनचयन हुन्छ। यस ऐतिहासिक तथ्यलाई बुझ्न र बुझाउन नसक्दा आज जातीय द्वन्द्व सिर्जना हुने गरेका छन्।

कसैलाई ठूलो वा सानो तथा उच वा निच भनी पहिचान गर्ने वस्तुगत आधार के हो? सदियौँदेखि सहिष्णुतापूर्वक बसेका हामी नेपाली बीच आदिवासी, जनजाति, महिला, दलित, मुस्लिम, खस जस्ता जातीय नारा किन आए? यस्तो भावनाले समाजमा सहिष्णुताको बदला वितृष्णा पैदा हुन्छ।

परस्परमा मिलेर बसेका हामी नेपालीलाई छिन्नभिन्न बनाउने प्रपञ्च किन रचियो र यस्ता संयन्त्र विकास किन भए? यसमा कसको स्वार्थ छ? राजनीति जोड्नका लागि हो कि विखण्डनका लागि हो? राष्ट्रिय स्वार्थभन्दा व्यक्तिगत वा राजनीतिक पार्टी र नेताको स्वार्थले किन प्रश्रय पायो? यो स्थिति पनि इतिहासलाई बुझ्न र बुझाउन नसकेकै कारण सिर्जना भएको हो।

पहिले भएका घटनालाई लिएर वर्तमानको सन्दर्भमा पुनर्मूल्यांकन नगर्दा अथवा स्वार्थप्रेरित व्याख्या र विश्लेषण गर्ने परिपाटीले गर्दा विगतमा भएका नराम्रा मानिएका मुद्दाहरूको मात्र चर्चा हुने गरेका छन्।

कतिपय राम्रा कार्य पनि भएका छन्, किन यी कुरा ओझेलमा पार्ने प्रवृत्ति विकास भएको छ? यसो हुनुको पनि प्रमुख कारण इतिहास बुझ्न र बुझाउन नसकेकाले नै हो। यी र यस्ता इतिहास बुझ्न र बुझाउन नसकेका अनेकौँ तथ्यांक प्रस्तुत गर्न सकिन्छ।

इतिहासको उचित अध्ययन मनन गरी यसबाट शिक्षा लिन सकेको खण्डमा भविष्य सप्रन्छ भन्ने गुरुवाणीमा सत्यता छ। यथार्थमै कटु सत्यका रूपमा आएको यो तथ्य विश्व इतिहासमा पनि सर्वत्र पाइन्छ।

इतिहासको चिन्तनमननबाट विगतमा भएका घटना, कर्म र सम्बन्धित क्षेत्रबाट लिइएको नीतिबाट तत्कालीन अवस्थामा परेको प्रभाव बुझ्न सक्छौं। हिजोका अनुभवलाई आत्मसात् गरी आज अपेक्षित नीति र कार्यक्रम सञ्चालन गर्दा भोलिका लागि उपयुक्त रणनीति तयार गर्न सहज हुन्छ।

इतिहासको अध्ययनबाट हिजो देखिएका कमीकमजोरी पुनः दोहोरिन नपाउने अवस्था सृजना गर्न सकिन्छ भन्ने तथ्य प्रमाणित भइसकेको छ। आगलागी, भूस्खलन, महामारी, बालमृत्यु जस्ता विगतमा भोग्नुपरेको सास्तीबाट पाठ सिकी भविष्यमा पुनः त्यस्तो समस्या नआओस् साबधानी अपनाएको र समस्या सृजना भए निराकरणका लागि संयन्त्र विकास भएका दृष्टान्त छन्।

यो विश्व इतिहासबाट पाठ लिन सकिन्छ। उदाहरणका लागि संयुक्त राज्य अमेरिकामा विगतमा आएको मन्दीका कारण धेरैले आर्थिक समस्या झेल्नुप¥यो। त्यस विषम परिस्थितिमा त्यहाँ सामाजिक सुरक्षाका विविध रणनीति तयार भए।

यसले प्रभावितहरूको भविष्य सुनिश्चित पनि भयो। अतः सबै क्षेत्रमा कार्य क्षमता अभिवृद्धि हुन पुग्यो। कोभिडको महामारीमा पनि सर्वसाधारण जनता, व्यापारी तथा कर्मचारी सबैले राज्यको यही नीतिको कारण राहत पाए।

नेपालमा पनि समय समयमा बाढी, भूस्खलन, आगलागी जस्ता धेरै दुःखदायी घटना भएका छन्। र, यसबाट सर्वसाधारण आहत बन्न पुगेका पनि छन्। तापनि यसको निराकरणका लागि उपयुक्त संयन्त्र विकास हुन सकेको छैन, यसको मूल कारण इतिहास नबुझ्नु र बुझाउन नसक्नु नै हो।

राजनीतिको क्षेत्रमा पनि इतिहासबाट शिक्षा लिँदा सफल भएका र शिक्षा लिन नसक्दा असफल भएका अनेकौँ दृष्टान्त पाइन्छन्। अन्यत्र जानै पर्दैन। नेपालको इतिहास हेरौँ, नेपालका शक्तिशाली प्रधानमन्त्रीका रूपमा भीमसेन थापाको गणना हुन्छ तर राजाका हातमा राज्यको शक्ति केन्द्रित भएकै कारण उनको अवसान भयो।

अवसान मात्र भएन अपमानपूर्वक मृत्युवरण गर्न पुगे। राजा नै शक्तिशाली हुँदा माथवरसिंह थापालगायत अन्य केही प्रधानमन्त्रीहरूको पतन भयो। विगतमा भएका यस्तै घटनाबाट पाठ सिकी जंगबहादुरले राजाको अधिकार आफ्ना हातमा लिई शक्तिशाली बने।

शक्तिशाली मात्र भएनन् जहानिया शासन कायम गर्न समेत सफल बने। जंगबहादुरका सबै कार्य ठीक थिए भन्ने मनशाय होइन तर इतिहासबाट शिक्षा लिएको एक उदाहरण मात्र उल्लेख गरिएको हो।

नेपालको इतिहास हेर्ने हो भने विशेष गरेर २०४६ सालपश्चात् राजनीतिको मञ्चमा बारम्बार सबै पार्टीका राजनेताले एकै प्रकृतिका गल्ती दोहो¥याएका छन्। यसको मूल कारण पनि इतिहास बुझ्न र बुझाउन नसक्नु नै हो।

नेपालमा इतिहासको पठनपाठन र अनुसन्धानले अपेक्षाकृत प्रोत्साहन पाउन सकेको छैन। विश्वमा अन्यत्र इतिहास विषयको अध्ययन अनुसन्धानले सर्वाधिक प्राथमिकता पाएको छ। तापनि, नेपालका सम्बन्धित पक्षको नीति र कार्य हेर्दा इतिहास मृत विषय बन्न पुगेको छ।

जुन क्षेत्रका जनशक्तिमा पर्याप्त इतिहासको ज्ञान छ, त्यो सफल छ। यस्ता क्षेत्रमा अख्तियार गरिएका कार्य र रणनीतिले आशातीत सफलता पाउन सकेका छन्। इतिहास बुझ्न र बुझाउन नसक्दा आज हामी कस्तुरी मृग हुन पुगेका छौं।

इतिहासको अध्ययन, अध्यापन तथा अनुसन्धानमा व्यापक पुनरावलोकन गरी समयसापेक्ष वाञ्छित कार्य गर्न ढिलो भइसकेको छ। अन्यथा भविष्यमा नेपालको इतिहास अध्ययन गर्न विदेश जानै पर्ने बाध्यता आउन सक्छ।

इतिहास बुझाउन सक्दा राष्ट्रप्रेम जगाउन सकिन्छ। विगतमा भएका राम्रा कार्यहरू जुन ओझेलमा परेका छन्, ती सबैलाई उजिल्याउन सकिन्छ। आन्तरिक स्रोत परिचालन गरेर नै हिजो नेपाल प्रायः सबै क्षेत्रमा आत्मनिर्भर थियो। तर, आज उक्त स्थितिमा किन परिवर्तन आयो? यो अवस्था पनि इतिहास बुझ्न र बुझाउन नसकेकै कारण भएको हो।

इतिहासले समस्याको पहिचान मात्र गराउँदैन यसको उचित समाधानका लागि उपयुक्त सुझाव समेत प्रदान गर्दछ। इतिहासले समाजमा आएको परिवर्तनको कारण र यसको प्रभाव मात्र विश्लेषण गर्दैन, समयसापेक्ष रूपमा अगाडि बढ्न समेत सुझाउँछ।

इतिहासको विभिन्न कालखण्डमा विभिन्न राजनीतिक व्यवस्थामा परिवर्तन आए पनि मानव स्वभावमा चाहिँ परिवर्तन आउन नसक्दा समाजमा विसंगति आउने सम्भावना भएको तथ्यतर्फ हेक्का राख्नुपर्दछ।

नेपालको सन्दर्भमा हेर्ने हो भने पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र उत्तर हिमालदेखि दक्षिण तराईका कयौँ स्थान सांस्कृतिक दृष्टिले सम्पन्न छन्। पुर्खाको अनवरत परिश्रमबाट सृजित ती सांस्कृतिक धरोहरलाई उचित संरक्षण मर्मतसम्भार गरेमा ती संरचनाहरू आन्तरिक र बाह्य पर्यटक आकर्षण गर्न सक्षम हुन्छन्।

जसमा मुलुकले उल्लेख्य आर्थिक लाभ लिन सक्छ। संसारका सबै मुलुकहरूले प्राचीन स्मारकहरूको संरक्षण गर्दै सोको प्रचारप्रसार गर्ने गरेका छन्। र, ती स्थानमा पर्यटकको घुइँचो लाग्ने गरेका छन्।

नेपालका यी असंख्य सम्पदा उचित कार्यनीति र संरक्षणतर्फ ध्यान नपुग्दा मासिने स्थिति छ। यसकै कारण आज नेपालबाट कतिपय भाषासंस्कृति लोपोन्मुख अवस्थामा पुगेको हामीले देखेकै छौं।

इतिहास सबै ज्ञानविज्ञान, सामाजिक शास्त्र, साहित्य, कला, वास्तुकला, सीप अर्थात् सबै शास्त्र ज्ञान विज्ञानको जग इतिहास नै हो। यही जगका आधारमा प्रत्येक विधा विकसित र परिमार्जित हुँदै आजको स्थिति आइपुगेको हो।

आज विश्वमा इतिहासको महत्त्व अभिवृद्धि हुँदै गइरहेको छ। सबै सरकारी तथा गैरसरकारी संघसंस्था, शैक्षिक संस्था र औद्योगिक प्रतिष्ठानहरूमा इतिहासविज्ञहरू रहेका छन्। संसारका कतिपय विश्वविद्यालयहरूमा विज्ञान तथा प्राविधिक विषयका प्रायः सबै विभागमा इतिहासका प्राध्यापकहरू कार्यरत छन्।

जुनसुकै गम्भीर विषय र दीर्घकालीन असर पर्ने खालका नीति अख्तियार गर्दा इतिहासविज्ञसँग राज्यले राय लिने परिपाटी छ। हाम्रो देशको हालत ठीक विपरीत छ। अरूतिर त के कुरा सरकारी कार्यालयमा पनि इतिहासविज्ञ छैनन्। यसकारण पुराना अभिलेखहरू नष्ट हुँदै छन्।

तिनको जगेर्ना गर्नुपर्छ भन्ने साधारण चेटसमेत सम्बन्धित व्यक्तिलाई नभएको भान हुन्छ। यसैकारण आज नेपालसम्बन्धी अध्ययन गर्न भारतको नयाँदिल्लीस्थित अभिलेखालय, बेलायतको ब्रिटिस लाइब्रेरीमा जानुपर्ने बाध्यता छ।

यसको कारण इतिहास बुझ्न र बुझाउन नसक्नु नै हो। हाम्रा पूर्वजले अथक् परिश्रम गरी तयार गरिएका अभिलेखहरूबाट भविष्यका कतिपय गाँठो फुकाउन सकिनेतर्फ पनि हेक्का राख्नै पर्छ।

इतिहास प्रेरणाको स्रोत हो। इतिहासका एक प्रयोगशाला हो। राष्ट्रिय पहिचान, स्वाभिमान र प्रतिष्ठा अभिवृद्धि गर्ने सोच हो। समाजमा सहिष्णुता, समन्वय र एकता कायम गर्ने सूत्र हो। यसैकारण इतिहासको मर्मलाई आत्मसात् गर्दा भविष्य सप्रने कुरा निर्विवाद छ।

श्रद्धेय गुरुदेवका उद्गार दूरदर्शी छन् र कालजयी पनि छन्। गुरुको यही उद्गारबाट इतिहास विषयमा यती मन्थन गर्ने चेतना प्राप्त भएकामा सर्वप्रथम सद्गुरुप्रति ससम्मान हार्दिक कृतज्ञता ज्ञापन गर्दछु।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *