सनी देओलको गदर २ को धमाका जारी, आज ५ सय करोडको कमाईको आँकडा छुन सक्छ
काठमाडौं । सन्नी देओल स्टारर फिल्म ‘गदर २’ ले चौथो हप्ता पनि बक्स अफिसमा धमाका जारी राखेको छ ।
अगस्ट ११ मा रिलिज भएको फिल्मले २३ औँ दिन (सेप्टेम्बर २) सम्म देशभर ४९३.४ करोडको नेट कलेक्सन गरेको छ ।
अग्रिम बुकिङको अवस्था हेर्दा २४ औँ दिन अर्थात आइतबार फिल्मले ५ सय करोडको आँकडा पार गर्ने अनुमान गरिएको विज्ञहरू बताउँछन् ।
यदि यस्तो भयो भने शाहरुख खानको पठानपछि ५०० करोड कमाउने क्लबमा सामेल हुने गदर २ दोस्रो फिल्म हुनेछ ।
फिल्मले पहिलो हप्ता २८५ करोड, दोस्रो हप्ता १३४ करोड र तेस्रो हप्तामा ६३ करोड कमाएको थियो ।
चौथो हप्ताको शुक्रबार र शनिबार यसले क्रमशः ५.२ र ५.७ करोड कमाएको छ ।
यो फिल्मले आइतबार सात करोडभन्दा बढी कमाउन सक्ने अनुमान गरिएको छ । यसरी यसले ५ सय करोड रुपैयाँको अंकमा पुग्ने छ ।
निर्देशक अनिल शर्माको यो फिल्म सन् २००१ मा आएको सुपरहिट फिल्म गदरको सिक्वेल हो ।
Facebook Comment