छुवाछुतको रहस्य के हो ? 

हरिप्रसाद सोडारी
१८ भदौ २०८० १२:२३

उच्च र निच, पवित्र र अपवित्रजस्ता भावले जन्माएको भेदभावलाई छुवाछुत भनिन्छ। छुन हुने र नहुने विभेदको जरो धर्ममा अड्केजस्तो देखिए पनि राजनीतिक दुराग्रह, आर्थिक अभाव, शिक्षा र चेतनाको कमीले उमारेर फैलाएको रोग हो।

वेद, पुराण, गीता, मन्धुम, त्रिपिटक आदिले कुन जात र थरका मानिसलाई कसले छुन हुने र नहुने विषयमा चर्चा नै गरेका छैनन्। वेदले यी थरहरू ब्राम्हण र पवित्र समूहमा पर्छन्, यी थर भएका मानिस शूद्र एवं अछुत हुन् भनेको छैन।

ब्राम्हण ज्ञानले, क्षत्रिय बलले, वैश्य व्यापारले, शूद्र सेवाभावले आदरणीय हुन्छन्। हाम्रा शास्त्रले सबैलाई समान स्थान र भूमिका दिन्छन्। यो थर भएकाले मात्र लुगा सिलाउने, छाला र फलामको काम गर्ने, कर्मकाण्ड गर्ने भन्ने निर्देशन शास्त्रले दिएको छैन।

बरु यी विशेषता एवं ज्ञान भएकाले यस्ता कर्म गर्दा उत्तम हुने बताउँछन्। राजा, मन्त्री, सेनापति, विद्वान् व्यापारी, डाक्टर, सेवक आदिमा कस्ता ज्ञान र दक्षता हुनुपर्छ भन्ने सूचना दिन्छ।

धर्मगुरु निदाएको, राजनीति सुस्ताएको, शकुनि जागेको अवस्था पारेर छुवाछुतको खास्टो धर्मलाई ओडाइएको छ। राजनीतिले जन्माएको छुवाछुतलाई हिन्दूधर्मको टाउकोमा थुपारेर जबरजस्ती नेपालीलाई बोकाइएको छ।

छुवाछुतको जरोमा डलरको मलजल भएपछि पश्चिमाले मिलेको समाज, एकजुट भएको समुदाय, आत्मीय परिवारलाई फुटाउन प्रयास गरिरहेका छन्। शास्त्रै नपढेका, प्रतिशोधले जलेका, इशारामा चल्नेहरूले वेदमा छुवाछुत देख्छन्।

उपनिवेशलाई जन्माउने, विदेशी स्रोत र साधनबाट जीवन धान्ने विभीषणहरूबाट वैदिक धर्म, शास्त्र र पुर्खाको बदनाम गराउने भगीरथ प्रयास हुँदै आएको छ।

वैदिक शास्त्र र धर्मले जन्मको आधारमा होइन विद्वत्ता, दक्षता, रुचि, पेशाअनुसार जातको निर्धारण गर्दछ। जातमा विभेद छैन, थरमा भेदभाव छ। जात धर्मले निर्धारण गर्छ, थर राजनीतिले उर्माछ।

जात बन्द व्यवस्था होइन, सीप, भूमिका र शिक्षाको तह हो। थरचाहिँ बन्द व्यवस्था हो, जात परिवर्तनशील व्यवस्था हो। थरको उत्पत्तिपछि छुवाछुतजस्तो अमानवीय एवं निन्दनीय कुप्रथाहरू नेपालीसमाजमा देखा परे।

जस्तै वेदव्यासको जन्म मत्स्यगन्धा नामकी शूद्र कन्याबाट भयो। वेदका मन्त्रहरू संकलन गरी चार भागमा विभाजन गरेका हुनाले कृष्णद्वैपायनको नाम वेदव्यास हुन पुग्यो।

सबै पुराना कुरा प्रयोगहीन र सम्पूर्ण नयाँ आविष्कार जनोपयोगी हुँदैन त्यसलाई समयसापेक्ष बुझ्नुपर्छ। गरिबी, छुवाछुत, कुपोषण, द्वन्द्व हुनमा हिन्दूधर्म होइन, पश्चिमाहरूको शिक्षा, संस्कार, संस्कृति र राजनीति एवं होलीवाइनरूपी रक्तबीज जिम्मेवार छन्।

महाभारत, अठार पुराण, अठार उपपुराणलगायतका शास्त्रहरू रचना गरेका वेदव्यास ज्ञान र साधनाको प्रभावले शूद्रबाट ब्राम्हण मात्र बनेनन्, ऋषि पद प्राप्त गरे। शूद्रलाई छुन हुँदैन भने ब्राम्हणहरूले वेद कसरी पढ्न हुन्छ?

वेदका कैयौँ मन्त्रहरू शूद्र वर्णमा जन्मिएका वेदव्यासलगायतका ऋषिहरूले देखेका छन्। जातिव्यवस्था रहेसम्म एउटै परिवारभित्र चारै जातिका मानिसहरू पाइन्थे।

जस्तै बुबाले पढाउँछ भने ब्राम्हण, छोरा सैन्य सेवामा भए क्षत्री, बुहारी व्यापार गर्छिन् भने वैश्य, छोरी नर्स वा डाक्टर पेशामा संलग्न भए शूद्र जातिमा पर्दछिन्। एउटै व्यक्ति पढाउन जाँदा ब्राम्हण, व्यापार गर्दा वैश्य, सेवामूलक कार्यमा संलग्न भए शूद्र हुन्थे।

एउटै व्यक्तिले एकै दिनमा चार प्रकृतिका काम गर्छन्, त्यसका आधारमा चारै जातिको हुने व्यवस्था हिन्दूधर्ममा मात्रै छ। शुक्लयजुर्वेद (३१।११)मा भनिएको छ-

ब्राम्हणोस्यमुखमासिद्बाहूराजन्यः कृतः ।
ऊरु तदस्ययद्वैश्यः पद्भ्यां शूद्रोअजायत ।।

अर्थात्, “परमात्माको मुखबाट ब्राम्हण, पाखुराबाट क्षत्री, तिघ्राबाट वैश्य र पैतालाबाट शूद्रको जन्म भयो।” वेदका यी साङ्केतिक वचनले पेशा, रुचि, दक्षता आदिका आधारमा मानिसलाई विभिन्न जातमा विभाजन गरिएको पुष्टि हुन्छ। थरका बाहुनलाई मात्र ब्राम्हण भनिएको होइन।

ज्ञान, ध्यान, साधना, त्याग, योगदान उच्च भएका मानिस ब्राम्हण हुन्छन्। यो पद जन्मको आधारमा प्राप्त हुँदैन। शूद्रलाई अपवित्र कहाँ भनिएको छ? वेदले शूद्रजातमा यी यी थर पर्छन्, त्यसैले छुन हुँदैन भनेर लेखिएको छैन।

बौद्धिक बल भएका ब्राम्हण, शारीरिक बल क्षत्रीय, आर्थिक बल भएका वैश्य, सेवाभाव भएका शूद्र हुन्। इन्टरनेट, मोबाइललगायतका प्रविधिको विकाश हुनुभन्दा पहिले व्यापारीहरू विभिन्न ठाउँमा पुगेर वस्तु तथा सेवाको मूल्य र गुणस्तर बुझी खरिद बिक्री गर्दथे।

हिँड्नुपर्ने हुँदा व्यापारीहरूलाई प्रतीकात्मकरूपमा तिघ्राबाट जन्मिए भनियो। सेवा गर्नेको कोमल मन, खुल्ला हृदय, परोपकारी स्वभाव हुन्छ। स्वास्थ्यकर्मी, समाजसेवीहरू शूद्र हुन्। स्वास्थ्यकर्मीहरूले रोगी वा बिरामीको हरेक सेवा गर्न कहिल्यै हिच्किचाउँदैनन्, त्यसैले शूद्र भनियो।

प्रकृतिले पनि वनस्पति, पशुपंक्षी, माटोको ऊर्जा हेरी चार जातमा विभाजन गरेकी छिन्। पीपल–तुलसी-गाई ब्राम्हण समूहमा पर्छन्। बाज-साल-बाघ क्षत्रीय, कोदो-प्याज-गिद्ध आदि शूद्रमा पर्छन्। आर्यवर्त ब्राम्हण भूमि हो, अमेरिका र युरोप शूद्र, चीन वैश्य भूमि हो।

द्वापरयुग अर्थात् आजभन्दा पाँच हजार वर्षअघिसम्म थरको विकाश भएको थिएन। थरको विकाशसँगै तल्लोस्तरको काम गर्ने मानिसहरूलाई हेयको दृष्टिले हेर्न थालियो। यो क्रम बढ्दै गएर अन्ततः छुवाछुतको जन्म हुन पुग्यो।

व्याभिचार, दुराचार, भ्रष्टाचार, अत्याचार गर्नेहरूलाई समाजले बहिष्कार र तिरस्कार गरे। जीवनशेषपछि तिनीहरूका सन्तानलाई त्यही दृष्टिले हेरियो र शूद्रको पद दिइयो।

प्रविधियुक्त कलाकौशलले भरिपूर्ण भवन, महल, दरबार निर्माण गर्ने विश्वकर्मा (इन्जिनियर)का सन्तानलाई कामी बनाउने अनुमति र विधि वेदले बताएको छैन।

आरनमा बस्ने, फलामको काम गर्ने, गोल पोल्ने तर सरसफाईमा ध्यान नदिनेलाई राजनीतिले अछुत एवं पश्चिमाको डलरले अपवित्र र तल्लो थरमा बदलिदियो।

किरातकालसम्म राजपरिवारलाई रायका सन्तान भनिन्थ्यो। तामसी खाना खान थालेर गोत्र र प्रवर, पाछा र सामेलाई भुलेपछि किरातक्षत्रीहरू तल्लो जातका हुन पुगे। क्रमशः विद्या, अर्थ र राजनीतिक भूमिकाबाट बञ्चित भए, हीनताबोधले पिछडिन पुगे।

यस्तो हुनुमा वैदिक धर्म दोषी छैन, राजनीति दोषी छ। देवीदेवता, ऋषिमुनि आदिको जात र थर दुबै छैन, न त छुवाछुतको विभेद छ। जस्तै महादेव, विष्णु, राम, कृष्ण, कश्यप, विश्वामित्र, वशिष्ठ आदिको थर छैन।

रत्नाकार चोर थिए, शास्त्र अध्ययनपछि ब्राम्हण बने। तीन दाजुभाइमा रावण र कुम्भकर्ण खराब कर्मले राक्षस भए तर विभीषण क्षत्रीय राजा र चिरञ्जीवी बने। क्षत्रीय वंशमा जन्मिएका विश्वामित्र  ब्रम्हचिन्तनले ब्रम्हर्षि बने।

जातो व्यासस्तु कैवत्र्यां श्वपाक्यां तु पराशरः।
वेश्याया गर्भसंभूतो वशिष्ठस्तु महामुनिः।।

अर्थात्, “माझीकी छोरीबाट जन्मिएका वेदव्यास सबैका पूज्य भए, चण्डालका पुत्र पराशरसमेत ऋषिहरूमा पूज्य भए, वेश्याबाट जन्मिएका वशिष्ठ ब्रम्हर्षि बने।” आफ्नो परिचय आफैँले बनाउनुपर्छ। आफ्नो जात आफ्नै कर्मले निर्धारण गर्नुपर्छ।

बृहदारण्यकोपनिषद्मा गौतम ऋषिले राजासँग ज्ञान लिएको, राजा जनकसँग विभिन्न विद्वान्, विदुषीले शिक्षा लिएको उदाहरणहरू पाइन्छन्। हाम्रा शास्त्रले छुवाछुत जन्माएको भए त क्षत्रीसँग ब्राम्हणले पढ्नै नहुने।

गीतामा पनि विभिन्न समयमा विद्या कमजोर भएको र ब्राम्हणइतरका महामनाहरूले ज्ञान प्रचार र उत्थानमा सहयोग पुर्‍याएको इतिहास छ। गीता ज्ञान नै क्षत्रियबीचको ब्रम्हचिन्तन हो।

हरिवंशपुराणमा भनिएको छ-नाभागारिष्टपुत्रौ द्वौ वैश्यौ ब्राम्हणतां गतौ अर्थात् नाभागारिष्टका दुई पुत्र वैश्यबाट ब्राम्हण भए। विभिन्न समयमा भएका युद्ध, दैवीविपत्ति र राजनीतिबाट छुवाछुत जन्मन पुग्यो। निम्न कारणले पनि छुवाछुत जन्मन पुग्यो।

(१) महाभारतको युद्धमा विद्या, विकाश, वैभव र विज्ञानको सर्वविनाश भयो। योग्य विद्वान्, परिश्रमी युवासहित अथाहा कला, सम्पत्ति र सम्पदा यही युद्धमा सखाप हुन पुगे।

महाभारत युद्धसँगै उत्पन्न अस्थिर सामाजिक र राजनीतिक अवस्थाका  व्यवस्थापन गर्न शासकहरूले अनेक हत्कण्डा अपनाउन थाले। विद्वान्हरू शासकका दास र कामदारजस्ता बन्न पुगे। गुरुकुल र वंशपरम्पराबाट सञ्चालित शिक्षा व्यवस्था कमजोर बन्दै जाँदा समाज, संस्कृति र सभ्यता रुग्ण हुन थाले।

(२) तक्षशीला, विक्रमशीला, नालन्दाजस्ता विश्वविद्यालयमा आगो लाग्यो। विशाल आर्यावर्त केन्द्रीय शासक कमजोर हुँदा ससाना राज्यमा विभाजित हुन पुग्दा गुरुकुल र वंशकुल जीर्ण भए। शिक्षा, सीप र संस्कारलाई युगानुकूल संरक्षण गर्न सकेनन्।

(३) लामो समयसम्म भारतमा मुसलमानले शासन चलाएर कैयौँ हिन्दूहरू बाँच्नका लागि इस्लाम(मुसलमान) बने, सयौँ मठमन्दिरहरू मस्जिदमा बदलिदिए।

(४) आर्यावर्तमा अंग्रे्रेज प्रवेशसँगै यहाँका हरेक पक्ष बिटुला, छिन्नभिन्न र अस्तित्त्वबिहीन बन्न पुगे। अङ्ग्रेजले त न्वारनकै बल लगाएर बोक्सी, सती, छुवाछुत प्रथा हिन्दूधर्मको पेवा हो भनेर रटान लगाए, इतिहासको इतिश्री गर्ने, संस्कारलाई सक्ने काममा लागे।

(५) विद्या र विद्वान्लाई राष्ट्रले संरक्षण दिन सकेन। समाज भाँडेर, सम्प्रदायलाई जुधाएर शासन गर्नुपर्छ भन्ने मानसिकताले समाजमा विकृति अझ मौलाए।

यसरी गलत मान्यता र परम्परा बिस्तारै धर्मका अङ्ग बन्न पुगे। आर्यावर्तमा शासन गर्न चाहने इस्लाम र इसाई क्रमशः सबल एवं सक्षम बन्न पुगे। उनीहरूले प्रविधि, पैसा र प्रशिक्षणका माध्यमबाट अपवाद फैलाउने काम गरे।

किनेर, भ्रम छरेर, विभीषण जन्माएर, विवाद खडा गरेर विदेशीले गलाउन, गडाउन र सडाउन लागि परे। हाम्रो धर्म, शिक्षा, संस्कार, राजनीति, ज्ञान, भाषा, पहिरन, इमानलाई अंग्रेजले उठ्न नसक्ने, उठे पनि हिँड्न नसक्ने, हिँडे पनि दौडन नसक्ने अवस्थामा पुर्‍याइदिए।

यसबाट छुट्करा पाउन हाम्रा शास्त्र पढ्न, इतिहास बुझ्न र विदेशीको प्रभावबाट जोगिन आवश्यक छ। यसका लागि आगामी दुई सय वर्ष इमान्दारीका साथ शास्त्रीय मार्गमा हिँडेर पुर्खाको झैँ कडा मिहिनेत गर्नुपर्छ।

नेपालबाट छुवाछुत भगाउन नामपछाडि राखिएको थरलाई हटाएर गोत्र, पाछा, सामे मात्र राख्नुपर्छ। जस्तै चामलिङ राईहरूको दोवालीछा पाछा हो, उनीहरूले राई नलेखेर दोवालीछा लेख्ने। आत्रेय गोत्र भएका पोखरेलहरूले नामको पछाडि आत्रेय लेख्ने।

छुवाछुतको चपेटामा परेकाहरूलाई आर्थिक, शैक्षिक, साँस्कृतिकरूपमा सबल तुल्याउने नाममा केहीको व्यापार फैलिएको छ, कसैको राजनीति मौलाएको छ, विदेशीको चलखेल बढेको छ, टाठाबाठाको खेती फस्टाएको छ, लक्षित समूह भने सबैको खेलौना भएका छन्।

चर्को भाषण र ठूला ¥याली गरेर, संविधानमा लेखेर, आरक्षणको घुम्टो ओढाएर छुवाछुतको अन्त्य हुँदैन। जयस्थिति मल्लले चार जात ६४ वर्णमा विभाजित गरेको नेपाली समाजलाई जङ्गबहादुरले वि. सं. १९१० मा मुलुकी ऐन ल्याएर विश्रृङ्खलित बनाए।

यसलाई हटाउन वि. सं. २०२० सालमा राजा महेन्द्रले नयाँ मुलुकी ऐन ल्याएका थिए। प्रभावकारी कार्यान्वयनको अभावमा प्रतिफलमुखी हुन सकेन। यसलाई निको पार्नतिर नलागेर खाने भाँडो, माग्ने झोली, विभाजन गराउने खाँडो बनाउँदैछन्।

कर्म र चिन्तनबाट नै मानिस पवित्र र अपवित्र, देवता र राक्षस, सभ्य र असभ्य बन्ने हो। विभेद हटाउन चेतना र संस्कारको विकाश गर्नुपर्छ। बाह्य सहयोग र धर्मपरिवर्तनबाट समस्या समाधान हुन सक्दैन।

घाउ कहाँ लागेको हो नबुझी औषधि गर्नुहुँदैन। छुवाछुतले पश्चिमी समाज कति ग्रस्त छ भन्ने थाहा पाउन तिनीहरूका इतिहास र धर्मग्रन्थ पढे पुग्छ।

कर्मले नै पुज्य हुन्छ भन्ने तथ्यलाई अहिले पनि तल्लो जातमा जन्मिएका कैयौँ विद्वान्, साधक वा महापुरुषहरूलाई उपल्ला जातका विद्वान्, विदुषीले मानेको, पूजेको, श्रद्धा गरेको प्रमाणले पुष्टि गर्छ।

लिम्बूकुलमा जन्मनुभएका महागुरु फल्गुनन्द, राईकुलमा जन्मनुभएका सं. डा. स्वामी प्रपन्नाचार्यजी महाराज, क्षत्रीय कुलमा जन्मनुभएका योगीराज योगी नरहरिनाथ, तामाङ परिवारमा जन्मनुभएका कालिञ्चोकबाबा आदि यसका ज्वलन्त उदाहरण हुन्।

आचरण, संस्कार नभएका बाहुनहरूलाई कसले सम्मान गरेको छ र? धर्मले यो जातिलाई नछुनु, यसले ल्याएको पानी नचलाउनु, यसले पकाएको भात नखानु भनेको छैन। गीतामा श्रीकृष्णले भन्नुभएको छ-चातुर्वण्र्यं मया सृष्टं गुणकर्म विभागशः चार वर्णको जन्म मैले गुण र कर्मका आधारमा गरेको हूँ। एउटै बुबाआमाले जन्माएका सन्तानको समान हक, अधिकार र हैशियत भएझैँ एकै परमात्माले उत्पन्न गरेका चार वर्णबीच कसरी छुवाछुत हुन सक्छ?

न जन्मतो न जनकाद् ब्रम्हतेजः प्रजायते जस्ता मान्यता यसैका परिपोषक हुन्। जन्म, कर्म र अध्ययन तीनै तरिकाले ब्राम्हण हुनु सर्वोत्तम हो तर जन्मको ब्राम्हण आचरणको शूद्रलाई कसरी चोखो मान्न सकिएला र? उदयनाचार्यले भन्नुभएको छ-

जन्मसंस्कारविद्यादेः शक्तेः स्वाध्यायकर्मणोः।
ह्रासदर्शनतो ह्रासः सम्प्रदायस्य मीयताम्।।
-न्यायकुसुमाञ्जलि (२।३)

अर्थात् युग परिवर्तनसँगै प्रविधिले जीवनलाई सहज बनाए पनि संस्कार, विद्या, शारीरिक शक्ति, अध्ययन, चरित्र दिन प्रतिदिन नोक्शान हुँदै गएको छ। हामीसँग सम्पत्ति छ, सन्तान छन् तर शान्ति छैन किन कि आचार र चरित्रको सर्वनाश भएको छ।

पितापुर्खाले उचालेका ढुंगा, अध्ययन गरेका ग्रन्थ, याद गरेका श्लोक सम्झन सक्दैनौँ। एक सय वर्षको अन्तरालमा मानिसका आयु २० वर्ष कम हुँदै गएको छ। संस्कार, शिक्षाबाट बञ्चित भएपछि छुवाछुतले जरा गाड्न थाल्यो। छुवाछुत न त धर्मले, न त हाम्रा पुर्खाले जन्माएका हुन्।

विचारणीय विषय के छ भने सबै पुराना कुरा प्रयोगहीन र सम्पूर्ण नयाँ आविष्कार जनोपयोगी हुँदैन त्यसलाई समयसापेक्ष बुझ्नुपर्छ। गरिबी, छुवाछुत, कुपोषण, द्वन्द्व हुनमा हिन्दूधर्म होइन, पश्चिमाहरूको शिक्षा, संस्कार, संस्कृति र राजनीति एवं होलीवाइनरूपी रक्तबीज जिम्मेवार छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *