विश्व उदयमान शक्ति राष्ट्र चीन र नेपालको सम्बन्ध
पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुंगाबीचको तरुल भनेका छन्। विशाल चीन र भारतबीच नेपाल रहेको हुनाले नेपाललाई दुई ढुंगाबीचको तरुल भनिएको हो।
आर्थिक रुपमा सम्पन्न यी दुवै मुलुकका बीचमा नेपाल रहनु राणनीतिक हिसावले जति महत्वपूर्ण हुन्छ, आर्थिक हिसावले त्यति नै फाइदाजनक पनि हुन्छ।
नेपालले यी दुई विशाल मुलुकसँग राम्रो सम्बन्ध स्थापित गरे पनि आर्थिक रुपमा फाइदा भने लिन सकेको देखिँदैन। भारतसँग खुला सिमाना भएका कारण नेपाली जनता रोजगारीका लागि भारत जान सहज भएको छ। तर चीनसँगको सिमाना बन्द भएका कारण जनतास्तरमा त्यति धेरै फाइदा लिन सकिएको छैन।
पछिल्ला वर्षहरुमा नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरमा विस्तार गर्ने भन्दै दुवै मुलुकका उच्चस्तरीय भ्रमणहरु बाक्लिन थालेका छन्।
त्यसो त चीन र नेपालबीचको औपचारिक सम्बन्ध २८ अप्रिल १९६० को सन्धिपछि सुरुवात भएको मानिन्छ।
नेपाल र चीनबीचको सम्वन्ध सन् ६००-६५० तिर नेपालकी छोरी राजकुमारी भृकुटीको तिब्बतका बादशाह श्रोंगचोंग गम्पोसँग भएपछि बिबाह र दाइजोको रुपमा बुद्धका अनगिन्ति अवशेष र थान्का तिब्बतमा लिएर जानु र यही बुद्ध धर्म तिब्बतमा स्थापित हुनुमा नेपाल र चीनको सम्बन्ध अत्यन्त सुमधुर रहेको मानिन्छ।
त्यसमा पनि रातो दरबारको रुपमा रहेको तिब्बती दरबार पछि पाँचौ दलाइ लामाले सारा नेपाली निर्माणकर्ता लगाएर निर्माण गरेको पोताला दरबार आजसम्म पनि कला र कौशलताले परिपूर्ण र भरिपुर्ण मानिएको छ।
त्यस्तै राजा जय भिमदेवको पालामा नेपालका एक ख्याती प्राप्त कलाकार र मूर्तिकार अरनिको चीनमा गइ त्यहाँ सयौं मुर्ति बनाइ चीनका बादशाह कुब्लाई खानलाई निक्कै रिझाएका थिए। यी सबै कारणले बिगतका कालमा पनि नेपाल र चीनको राम्रो सम्बन्ध रहेको देखिन्छ।
त्यसपछि राजा महेन्द्रको पालामा नेपाल र चीनको सम्बन्ध अत्यन्त सौहार्दपूर्ण स्थितिमा विद्यमान थियो। राजा महेन्द्रको गहन कुटनीतिक बिचारले चीनका नेताहरु माओ, लिसाउची र चाउएनलाइहरु अत्यन्त सन्तुष्ट रहेको कैयौं उनीहरुका भेटघाट र आवत-जावतले पुष्टि गर्दछ।
असंलग्न परराष्ट्रनीति र पञ्चशीलको नीतिमा हिँड्ने राजा महेन्द्रले चीनलाई जहिलेपनि आफ्नो मित्रवत् ब्यबहार गरी नेपालमा धेरै उद्योग स्थापना गर्नमा र आर्थिक सहयोग प्राप्त गर्नमा निक्कै सफल रहे।
राजा भए पश्चात जब २७ जनवरी १९५६ मा टंकप्रसाद आचार्यलाई प्रधानमन्त्री बनाइसके पछि चीनलगायत अरु देशसँग राम्रो कुटनैतिक सम्बन्ध रह्यो र चीनबाट नेपालको बिकासको लागि त्यस बखतमै पहिलो पटक करिब ६० लाखको सहयोग प्राप्त भएको थियो।
पछि पनि यस्तो सहयोग निरन्तर हुँदै रह्यो। पछि राजा वीरेन्द्रको पालामा पनि चीनसँग नेपालको सम्बन्ध अत्यन्त राम्रा थियो। चीनकै सहयोगमा उनको पालामा कैयौं भवन र चक्रपथको निर्माण भयो। ट्रलीबसको निर्माण भयो।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण भयो। नागरिक अस्पतालको निर्माण भयो र ब्यापार सम्झौतानुसार चीनको उत्तरी नाका खासा बजारबाट नेपाललाई चाहिने भिभिन्न लत्ता कपडा, इलेक्ट्रोनिक्स सामान सबै नेपालीले आयात गरी नेपालीको दैनिक जीबनलाई चाहिने धेरैजसो सामानहरु उतैबाट परिपूर्ति हुने सहज व्यापारिक बाताबरणले नेपालको अर्थतन्त्रमा ठूलो सहयोग पुगेका छ।
तिब्बत र चीनका नागरिक प्रक्रिया पुर्याई सहजै नेपाल प्रवेश गर्न सक्ने कुराले दुई देशबीचको सम्बन्ध अझ राम्रो भएको छ। सम्बन्ध र मित्रतामा कहीं कतै आँच आउन नदिने हो भने नेपालले चीनबाट निरन्तर ठुलो सहयोग पाइराख्ने कुरामा ढुक्क भएर रहे हुन्छ। ब्यापार र व्यवसायमा चीनले नेपालको करीब १६% ब्यापारको हिस्सा पनि ओगटेको विभिन्न तथ्यांकले देखाएको छ।
नेपाल चीनको सम्बन्धको पुनरुत्थान बिशेष गरि सन् २९ मार्च १९६० मा नेपाल चीन सिमाना सम्बन्धि सन्धि पश्चात नै भएको हामी पाउँदछौँ। यसरी भएको सन्धिलाई पछि दुवै देश नेपाल र चीनद्वारा सन् ५ अक्टोबर १९६१ मा दुबैलाई मन्जुर हुने गरी पुनः सन्धि सुधारहरु भएको देखिन्छ।
पछि फेरि जब भारतले १९७५ मा सिक्किम स्वतन्त्र राज्यलाई उसको कब्जामा पार्यो, त्यस बेलादेखि नेपालको चीनसँगको सम्बन्ध अझ बलियो र गाढा बन्दै गयो। भारतले आफ्नो बिस्तारित नीतिलाई कायम राखी सिक्किम लिए पछि यसमा नेपाल पनि सजग रहनु पर्ने भएकोले भारतलाई नचिढियाइ चीनसँग बलियो सम्बन्ध राख्नु अति जरुरी थियो र अझै पनि देखिन्छ।
तसर्थ सार्क संगठनमा चीनलाई सहभागी गराउन नेपालको पनि उच्च प्राथमिकता र समर्थन थियो। यसबाट झन् नेपालको चीनसँगको सम्बन्ध अझ बलियो बन्न पुग्यो। यसरी फरक शासन ब्यबस्था र बिशाल देश भइकन पछि नेपाल र चीनको सदियौं देखिको गाढा सम्बन्ध रही आउनु भनेको आफैंमा एउटा सुन्दर पक्ष हो।
वास्तवमा भन्ने हो भने नेपाल धेरै भाग्यशाली देश हो। नेपालको उत्तरतिरको करीब १४१४ किलोमिटर सिमानाको सम्बन्ध भौगोलिक हिसाबले चीनसँग जोडिन पुगेको र चीनको एकद्वार नीतिलाई नेपालले सहर्ष स्वीकार गर्नु भनेको सम्बन्धको अर्को आयाम थपिएकोनै मान्नु पर्दछ।
यही गाढा सम्बन्ध र मित्रताको कारणले आज नेपालको राजदूतावास बेइजिङ, ह्लासा र हङकङमा महावाणिज्य दूतावास खोलेर सम्बन्ध, ब्यापार र उद्योग व्यवसायलाई अझ गाढा बनाउने काम भएका छन्।
सम्बन्धकै कुरा गर्ने हो भने राजतन्त्रपछि गणतन्त्रको आगमन पछि पनि सन् २०१६ र २०१८ मा उपराष्ट्रपति नन्दबहादुर पुनः र फेरि जुन १९-२४ ,२०१८मा प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक भ्रमण र राष्ट्रपति सी.जिनपिङसँगको उच्च स्तरीय भेटवार्ता र त्यस बीचमा भएका अनेकौं दुई पक्षीय वार्ताले नेपाल र चीनको कुटनैतिक सम्बन्धलाई अझ प्रगाढ बनाएको छ।
यस भ्रमणमा नेपालले चीनबाट पूर्वाधार बिकास, शिक्षा, ब्यापार प्रवद्र्धनलगायत धेरै सम्झौताहरु प्राप्त गरेको छ। त्यस्तै फेरि राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण भएको कारणले पनि चीन सधैं नेपालको भलो उन्नति र बिकास चाहन्छ भन्ने कुरा यस्ता भ्रमणबाट प्रष्ट हुन्छ।
यसरी सन् १९५६ देखि औपचारिक रुपमा गासिँदै आएको नेपाल र चीनको सुमधुर सम्बन्धले फट्को मार्दै यसैको निरन्तरतामा अझैपनि चीनले आफ्नो सहयोगमा माथिल्लो त्रिशुली जलबिदुत योजना, उत्तरका १५ जिल्लाहरुमा खाद्यान्न र बजारको सहयोगको योजना, काठमाडाैंकाे रिंगरोड विस्तारित आयोजना, पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण जस्ता विषयमा सहयोग र स्याप्रुबेसी र रसुवागढी बाटो निर्माण, काठमाडौं, बानेश्वरको नागरिक अस्पतालको पुनरुत्थान गर्ने, कोदारी राजमार्गको पनि पुनरुत्थान गर्ने जस्ता आयोजनाहरुको जिम्मा लिएर बसेका हालै केही बर्ष अगाडि २०७२ सालमा गएको महाभूकम्पमा लाखौँ रुपैयाँ सहयोग, करिब ६० जनाको तत्काल उद्धारकर्मीको सहयोग स्वरुपको बिज्ञ समूहको उपस्थिति र हजारौं थान लत्ता कपडा तथा खाने कुराका सामान भूकम्प पीडितलाई यथासक्य चाँडो वितरण गरिएको प्रसंग प्रसंशनीय छ।
यस्तो सहयोगको कुराहरुको सम्बन्धमा त्यही भूकम्पले ध्वस्त भएको बिशाल हनुमान ढोका दरबार वरिपरिका मन्दिरहरु तथा गद्दी बैठक र रानीपोखरी अगाडिको दरबार स्कूलको पुनर्निर्माण चीन सरकारकै सम्पूर्ण सहयोगमा सुसम्पन्न भएको र यस्ता निर्माणका कार्यहरु असंख्य रहेका छन्। यसबाट चीन देश सधैं नेपालको भलो र निरन्तर राम्रो सम्बन्ध कायम राख्न चाहन्छ भन्ने कुरा स्पष्ट हुन्छ।
सम्बन्ध राम्रो भएर नै सन् २०१८ मा चीनले नेपाललाई आफ्नो बिभिन्न सातवटा बन्दरगाहहरुबाट बिदेशी देशसँग ब्यापार गर्न पाउने सम्बधमा सम्झौता भएको पनि स्मरणीय छ।
यस्तै फेरि चीनले विश्वकै सबै भन्दा अग्लो सतह केरुङदेखि काठमाडौंसम्मको ३० किलोमिटरको सुरुङ मार्ग गरी जम्मा ५३० किलोमिटरको रेलमार्ग निर्माण गर्ने काम पनि भै रहेको छ, जुन बि.स.१९७३ सालमै राजा वीरेन्द्र र चीन सरकारबीच बार्ता भैसकेको छ।
जसरी दक्षिणमा रहेको बिशाल छिमेकी मुलुक भारतसँग हाम्रो सम्बन्ध र आस्था गहिरो छ, त्यसरी नै उत्तरतिर रहेको बिशाल छिमेकी मुलुक चीनसँगपनि हाम्रो सदियौंदेखिको अगाध कुटनैतिक, सांस्कृतिक, व्यापारिक र आर्थिक सहयोग तथा सम्बन्ध कायम रहेको देखिन्छ।
वास्तवमा चीन देश यस्तो हाम्रो छिमेकी हो जसले नेपालको राजनीतिमाथि कहिलेपनि प्रत्यक्ष रुपमा दवाब सृजना गर्ने काम गरेन र सधैं नेपालको राम्रो चिताउने देशका रुपमा आफूलाई परिचित बनाएको छ।
अतः नेपाल एक असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त अनुरूप चल्ने देश भएकोले आजका हाम्रा बर्तवान देसका शासकहरुले यी दुई देशसँग अत्यन्त राम्रो सम्बन्ध निरन्तर राख्न सकेमा नेपाललाई धेरै फाइदा पुग्ने देखिन्छ।
Facebook Comment