नागरिकताले निम्त्याएको पीडा : बिपन्न परिवार सबै सरकारी सेवाबाट बञ्चित

सुधा देव
२० भदौ २०८० १२:१२

सप्तरी। राजविराज नगरपालिका- १ की सुनैर देवी राम ४५ वर्ष पुगिसक्दा पनि नेपाली नागरिक बन्न नपाउँदा उनको परिवार नै बिचल्लीमा छन्।

देशको नागरिक नबन्दै मरेपछि छोराछोरीको विजोग हुने चिन्ताले उनलाई सताई राखेको छ। श्रीमानको घर अग्निसाईर कृष्णासवरण गाउँपालिका – ५ धिमारमा रहेपनि २२ वर्ष अघि जेठी छोरी जन्मे लगत्तै परिवारसहित माइती राजविराज नगरपालिका – १ मा बस्दै आएकी छिन्।

उनको ससुरा सिपैत राम तीन पुस्तादेखि त्यहाँ बसोबास गर्दै आएपनि उनले नागरिकता पाउन सकेका थिएनन्। सासू ससुराको मृत्यु भएपछि उनी माइतीमा बस्न बाध्य भएकी हुन्।

ससुराको नागरिकता नभएकोले पति ५० वर्षीय चन्देश्वर राम अहिलेसम्म पनि नागरिकताबाट बन्चित  छन्। सुनैर र चन्देश्वरका चार सन्तान छन्। सम्पत्तिको नाममा केही छैन। अर्काको १ धुर जग्गामा एउटा झुप्रो ठड्याएर ६ जनाको परिवार त्यहीँ झुप्रोमा गुजारा गर्दै आएका छन्।

उनको परिवारको खाना पकाउने, सुत्ने, बस्ने, खाना पकाउनका लागि बटुलेर राखेको दाउरा राख्ने सबै काम त्यही झुप्रोमा हुन्छ। झुप्रोको छानाको प्वालबाट बाहिरको घाम भित्र पस्छ। पानी चुहिन्छ। पानी परेको दिन परिवारै रातभर जागेर बिताउनुपर्ने बाध्यता रहेको सुनैरको दुखेसो छ।

श्रीमान श्रीमती नै मजदुरी गर्छन्। श्रीमानले एकदिन मजदुरी गरेर ल्याएको पैसाले तीन दिनसम्म रक्सी खाएर सक्छन् । पैसा सकेपछि मात्र फेरि मजदुरी गर्न जाने गरेको स्थानीय ६८ वर्षीया भुलैर राम बताउँछिन्।

अर्काको छोराछोरीलाई पढेको देख्दा आफ्नो छोराछोरीलाई पढाएर ठूलो मान्छे बनाउने धोको सुनैर दम्पत्तिको छ।

जेठी र माइली दुवै छोरीलाई आठ कक्षासम्म पढाए पनि आठ कक्षामा जन्मदर्ता नभई नहुने भएकोले बिद्यालयबाट छोरीहरू बाध्य भएर निस्कनु परेको थियो।

आफ्नो नागरिकता र छोराछोरीको जन्मदर्ता नभएकै कारण आफ्नो र छ‍ोरीहरूको सपना हावाले उडाए झै उडाएको चन्देश्वरको भनाइ छ। जन्ममदर्ता नभएर बिद्यालय छोड्नु परेको दिन माइली छोरी राजकुमारी धुरूधुरू रोएको दृश्य सम्झेर आमा सुनैरले बर्रर आँसु झारिन् ।

उनले भनिन्, ‘बिद्यालयबाट बन्चित भएपछि आर्थिक अवस्था कमजाेर तथा सानो झुप्रोमा परिवारै बस्नुपर्ने बाध्यता भएपछि दुबै छोरीको बालविवाह गरिदिन बाध्य भएँ।’

माइली छोरी राजकुमारीलाई बालविवाह गर्नु हुँदैन भन्ने थाहा थियो।  जन्मदर्ता नभएपछि उनी कक्षा ८ मा पढ्दै गर्दा विद्यालयबाट निकालिइन। दुई वर्ष घरमा त्यसै बसिन्। खान,लगाउन, बस्न समेत समस्या भएपछि उनको आमाले दाइजो नलिई विवाहका लागि तयार भएको केटालाई २०८० बैशाखमा विवाह गरेर दिइन्।

विवाह गरेर पनि सुख छैन। जन्मदर्ता नभएकोले उनी माथी पीडामा पीडा थपिएको छ। चार जना सन्तान भएपनि देशको नागरिक बनाउन नसकेपछि आफ्नो जीवनमा पाहाडले च्यापे जस्तै अनुभूति हुँदै आएको उनी बताउँछिन्।

सुनैरको छोरा कक्षा-४ र कान्छी छोरी कक्षा ३ मा स्थानीय बिद्यालयमा अध्ययनरत छिन्। बिद्यालय गयो कि विद्यालयमा शिक्षकहरूले जन्म दर्ता माग्दै शिक्षकको कचकच सुनेर बिद्यालय जान मन नलाग्ने छोरा रबि किसन बताउँछन्।

सोही ठाउँकी ७० वर्षीया ननु देवी रामले भनिन्, ‘हामी दलितको बस्तीमा सबै बिपन्न छौं तर सुनैर हामी सबैभन्दा विपन्न र पीडित छिन्। उनको छोराको जन्मदर्ता नभएकोले बिद्यालयबाट निकालिएको थियो।’

आफ्नो छोरा वडा सदस्य भएकोले विद्यालयमा गएर भनसुन गरेपछि बल्लतल्ल बिद्यालय जान दिन थालेको ननुको भनाइ छ । फेरि परिक्षाको बेला निकालिने हामीलाई भन्दा किसनलाई चिन्ता रहेको उनको अनुभव छ। नागरिकता नभएको कारण उनको परिवार राज्यले दिने हरेक सेवा सुबिधाबाट बन्चित रहेको उनी बताउँछिन्।

सोही ठाउँकि ६० वर्षीया सीता देवी राामले अर्काको जग्गामा सानो झुप्रोमा गुजारा गर्दै आएकोले जग्गाधनी आएपछि उठिबास हुने डरले सुनैरको परिवार केही दिन अर्काको घरमा  बस्नुपर्ने बाध्यता रहेको बताइन्।

बर्खा महिनामा त उनीहरूको परिवारको विजोग हुन्छ। छानामा ठूलो प्वाल छ। पानी परेपछि दाउरा लुगाफाटो सबै भिज्ने गरेकोले भोकभोकै बस्नुपर्ने बाध्यता छ।

टोलमै सबभन्दा बिपन्न भएपनि बाढी आएपछि पाइने राहत, कोरोनाको बेला पाइने राहत , दलित विपन्नका लागि आउने पैसा, भूमिहीनका लागि नेपाल सरकारले दिने जग्गा पाउनु पर्ने पहिलो प्राथमिकताको व्यक्ति टोलमै उनीहरू नै भएपनि उनीहरू नै सबै सुविधाबाट बच्चित हुनुपर्ने बाध्यता रहेको सीताले दुखेसो पोखिन्।

निवर्तमान वडा सदस्य कविता रामले नागरिकता भएको भए नेपाल सरकारले सुकुम्बासीका लागि दिइने घरजग्गा उपलब्ध गराउने बताउँछिन्।

उनले भनिन, ‘यिनीहरूको नागरिकता भएको भए यस्तो झुप्रोमा बसेर यति दुस्ख गर्नु पर्दैन्थ्यो। नेपाल सरकारले सुकुम्बासीको लागि दिईने जग्गा अहिलेसम्म पाईसक्थ्यो र आफ्नै घर हुन्थ्यो।’

वडामा आउने बेरोजगारी कार्यक्रम होस वा जुनसुकै राहत पाउने सबैभन्दा अगाडि उनीहरूकै नाम हुन्छ। उसको परिस्थिति हेरेर उसको नाम लेखाउन गाउँले नै अगाडि भएपनि अहिलेसम्म उनीहरू नेपाली नागरिक बन्न नसकेकोले उनको परिवार सबै सुविधाबाट बञ्चित हुँदै दुखद अवस्था रहेको स्थानीय नन्दु रामको भनाइ छ ।

‘तीनवटी छोरीहरू मात्रै भएकोले धेरै भाकल गरेर भगवानसँग उसको लागि छोरा मागरेर ल्याउन सक्यौं तर हामी सबैले चाहँदा चाहँदैनन्। उसलाई अहिलेसम्म देशको नागरिक बनाउन नसक्दा दुःख लागेको स्थानीय महिलाले बताए।

यही ठाउँमा जन्मेको छोरी विवाह भएपछि पनि यहि ठाउँमा बस्दै आएकोले यहीँबाट नागरिकता बनाईदिने हामी टोलवासीले वडा अध्यक्ष चन्दर चौधरीसँग पटकपटक आग्रह गरेपनि उनले कुनै वास्ता नगरेको स्थानीयको आरोप छ।

राजविराज नगरपालिका – १ को वडा अध्यक्ष चन्दर चौधरीका अनुसार सुनैरको श्रीमान् चन्देश्वरले जन्मसिद्धको आधारमा नागरिकता उसले जन्मेको ठाउँबाटै जन्मको आधारमा नागरिकता पाउने व्यवस्था छ। त्यहाँबाट लिन सकेमात्र सम्भव रहेको अन्यथा ससुरालीबाट उनको नागरिकता बनाउन नमिल्ने बताए।

सुनैरले आफ्नो माइतीबाट जन्मसिद्धको आधारमा नागरिकता प्राप्त गर्न सक्ने अध्यक्ष चौधरीको भनाइ छ। त्यसको लागि आफुले यश बिषयमा पंजिकरण बिभागसंग जानकारी लिएर प्रोसेस थाल्ने बताए।

सुनैर देवी रामको ७५ वर्षिया आमाले भनिन्,‘हामी श्रीमान श्रीमती र हाम्रो छिमेकीले पटक पटक छोरीको नागरिकता बनाउन निकै प्रयास गरेपनि नागरिकता र नातानातिनीको जन्मदर्ता बन्न नसक्दा छोरीको परिवार एकदमै पीडामा रहेको बताइन्।

देशमा जन्मेको कुनैपनि नागरिक जन्मदर्ताबाट बन्चित हुनुहुँदैन। मुलुकमा जन्मेपछि जन्मदर्ता र जन्मको आधारमा नागरिकता पाउने प्रावधान छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा लामो समय काम गरेका हाल जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा प्रशासकीय अधिकृत मेघराज शंकरले नेपालमा जन्म भई नेपालमा बसोबास गर्ने कुनै पनि व्यक्ति नागरिकताबाट बञ्चित नहुने बताउँछन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *