किम जोङ उनको रूस भ्रमणको उद्देश्य के हो ?

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन यसै महिना रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न जाँदैछन् । बाइडेन प्रशासनका एक अधिकारीले अमेरिकी न्यूज च्यानल सीबीएसलाई यो जानकारी दिएका छन्।
दुई नेताको भेटमा उत्तर कोरियाले रुसलाई हतियार आपूर्ति गर्ने सम्भावनाबारे छलफल हुने अधिकारीले बताए । यी हतियार युक्रेन विरुद्ध प्रयोग गरिनेछ।
हाल रुसमा राष्ट्रपति पुटिन र किम जोङ उनबीचको यो बैठक कहाँ हुने भन्ने तस्वीर स्पष्ट छैन । रुसका रक्षामन्त्रीले जुलाईमा उत्तर कोरियाको भ्रमण गरेका थिए ।
अन्य अमेरिकी सञ्चारमाध्यमहरूले पनि किम जोङ उनको प्रस्तावित रुस भ्रमणबारे समाचार प्रकाशित गरेका छन् ।
यद्यपि, क्रेमलिनका प्रवक्ताले यी रिपोर्टहरूमा आफ्नो प्रतिक्रियामा ‘उनीहरूको भन्नु केही छैन’ भनेका छन्। उत्तर कोरियाले पनि हाल कुनै प्रतिक्रिया दिएको छैन।
न्यूयोर्क टाइम्सले स्रोतलाई उद्धृत गर्दै आफ्नो रिपोर्टमा किम जोङ उन आफ्नो सशस्त्र रेलमा रुस जान सक्ने बताएको छ।
दुई नेताबीचको सम्भावित भेटवार्ताको केही दिनअघि अमेरिकाले रुस र उत्तर कोरियाबीच हतियार आपूर्तिको विषयमा वार्ता तीव्र गतिमा अघि बढेको नयाँ जानकारी प्राप्त भएको बताएको थियो ।
राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले रुसी रक्षामन्त्री सर्गेई शोइगुले हालै उत्तर कोरियाको भ्रमणका क्रममा रुसलाई गोलाबारुद आपूर्ति गर्न मनाउने प्रयास गरेको बताएका छन् ।
रुसलाई १२२ एमएम र १५२ एमएमको आर्टिलरी गोलाबारुद चाहिने अनुमान गरिएको छ किनभने यसको स्टक खाली भइरहेको छ, तर उत्तर कोरियाले कति क्षमताको आपूर्ति गर्छ भन्ने बारे थोरै जानकारी उपलब्ध छ।
Facebook Comment