नेपाललाई रोज्ने कि बंगलादेशलाई ? भारतको अगाडि धर्मसंकट

डिसी नेपाल
२१ भदौ २०८० १६:१८

काठमाडौं । भारतलाई आफ्ना दुई छिमेकी राष्ट्र नेपाल र बंगलादेशमध्ये एउटालाई छनोट गर्ने द्विविधा खडा भएको छ । नेपाल र बंगलादेशले विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशक पदका लागि उम्मेदवारी दिएका छन् ।

भारतमा यस हप्ता जी-२० शिखर सम्मेलन बाहेक यो चुनावका विषयमा पनि छलफल हुन सक्छ। अङ्ग्रेजी पत्रिका द हिन्दूले यस विषयमा भारत धर्मसंकटमा रहेको रिपोर्टलाई प्रमुख स्थान दिएको छ ।

द हिन्दूको रिपोर्टका अनुसार डब्लुएचओको शीर्ष पदका लागि बंगलादेशबाट प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेद र नेपालका शम्भुप्रसाद आचार्य उम्मेदवार हुन्।

विश्व स्वास्थ्य संगठनको दक्षिण-पूर्वी एसिया क्षेत्रीय कार्यालय निर्देशकको पदका लागि आगामी अक्टोबर ३० देखि नोभेम्बर २ सम्म नयाँ दिल्लीमा बन्द ढोकाभित्र निर्वाचन हुँदैछ। यसमा ११ सदस्य राष्ट्रले भोट हाल्नु पर्ने हुन्छ र जसले बढी भोट ल्याउछ त्यो विजेता हुनेछ ।

मतदान गर्ने देशमा बंगलादेश, भुटान, उत्तर कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, नेपाल, श्रीलंका, थाइल्याण्ड र टिमोर-लेस्टे छन् । भारतकी पुनम क्षेत्रपाल सिंह सन् २०१४ देखि यो पदमा थिइन् ।

जब द हिन्दूले भारतीय सरकारी अधिकारीहरूलाई भारतको अडान के हुन्छ भनेर सोध्यो, उनीहरूले निर्णय गर्न अझै समय रहेको जवाफ दिए।

तर, भारत र बंगलादेशबीचको सम्बन्धलाई हेर्दा बंगलादेशकी उम्मेदवार साइमा वाजेदको पक्ष लिने बलियो सम्भावना रहेको अधिकारीहरूले सङ्केत गरेका छन् । यसको एउटा कारण प्रधानमन्त्री शेख हसिनाले आफ्नी छोरीलाई दिएको समर्थन हो ।

अधिकारीहरू यो पनि भन्छन् कि संयुक्त राष्ट्र प्रणाली अन्तर्गत हुने कुनै पनि चुनावमा, विश्व स्वास्थ्य संगठन दक्षिण-पूर्वी एशियाका सदस्य राष्ट्रहरू बंगलादेश र नेपालसँगको सम्झौता र वार्तामा चीजहरू निर्भर हुन्छन्।

यस्ता चुनावमा पारस्परिक सम्बन्धका आधारमा मात्रै मतदान हुन्छ । अर्थात्, यदि कुनै देशले अर्को देशलाई समर्थन गरिरहेको छ भने, उसले संयुक्त राष्ट्र संघमा कुनै अन्य मुद्दामा आफ्नो लागि समर्थन खोज्न सक्छ।

शम्भुप्रसाद आचार्य हाल विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससको नेतृत्वमा कन्ट्री स्ट्राटेजी एण्ड सपोर्ट निर्देशक छन् र जेनेभा मुख्यालयमा तैनाथ छन्।

अहिलेको भूमिकाका लागि आचार्यको अनुभव राम्रो मानिन्छ ।

जबकि साइमा वाजेद एक मनोवैज्ञानिक र बंगलादेश सरकारमा एक सल्लाहकार छिन् । उनी उच्चस्तरीय कूटनीतिक नियोगको पनि हिस्सा भइसकेकी छिन् ।

द हिन्दुले स्रोतलाई उद्धृत गर्दै लेखेको छ कि साइमा वाजेद पनि आफ्नी आमा र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँगै जी-२० सम्मेलनमा भाग लिन भारत आउन सक्छिन्।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयसस जी-२० सम्मेलनमा भाग लिन दिल्ली आउनेछन्। उनको साथमा संस्थाका वरिष्ठ अधिकारी पनि रहनेछन् ।

यी व्यक्तिहरूले आफ्ना सहकर्मी आचार्यलाई साथ दिने विश्वास गरिन्छ। यस्तो अवस्थामा दुवै पक्ष आ–आफ्नो उम्मेदवारका लागि सेरो सदस्य देशलाई मनाउन सक्रिय हुनेछन् । यससँगै नेपाल र बंगलादेश दुवैले महत्वपूर्ण भूमिका खेल्न सक्ने मुलुकलाई प्रभाव पार्ने प्रयास गर्नेछन् ।

साइमा वाजेद आसियान शिखर सम्मेलनमा भाग लिन बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दीनसँग बुधबार इन्डोनेसिया पुगेकी छिन् ।

जकार्तामा साइमा वाजेदले इन्डोनेसियाका विदेशमन्त्री रेत्नो मार्सुदीसँग भेट गरेकी छिन्। वाजेदले म्यानमार र थाइल्यान्डको समर्थन पनि जुटाउने प्रयास गरिरहेको बताइएको छ ।

एक सामाजिक सञ्जाल पोस्टमा साइमा वाजेदले भनिन्, ‘बंगलादेश र इन्डोनेसियाबीचको द्विपक्षीय वार्ता राम्रो भयो । हामी दुई देशबीच राम्रो सम्बन्ध र सहयोगको अपेक्षा गर्दछौं।’

साइमा वाजेद यसअघि अगस्टमा ब्रिक्स सम्मेलनमा सहभागी हुन आफ्नी आमासँग दक्षिण अफ्रिका गएकी थिइन् । यस भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि भेट गरेकी थिइन् ।

बंगलादेश आफ्नो उम्मेदवारलाई जिताउन सक्रिय देखिन्छ, त्यस्तै नेपाल पनि पछाडि छैन। नेपालले पनि आफ्नो अभियानलाई तीव्र पारेको द हिन्दुको रिपोर्टमा उल्लेख छ । हालै काठमाडौंमा सेरो सदस्य राष्ट्रका राजदूतहरुको बैठक बसेको थियो ।

कूटनीतिक श्रोतलाई उद्धृत गर्दै द हिन्दुले लेखेको छ कि आचार्यले उक्त भेटमा प्रस्तुति दिएर आफ्नो स्वास्थ्य अधिकारीको पेशालाई ध्यानमा राख्दै सहयोगको अपिल गरेका छन् । आचार्य विगत २४ वर्षदेखि विश्व स्वास्थ्य संगठनको जेनेभास्थित मुख्यालयमा कार्यरत छन् ।

यस निर्वाचनलाई लिएर नेपाल सरकार पनि सक्रिय रहेको र संयुक्त राष्ट्रसङ्घको सहयोगको अपेक्षा गरेको विश्वास गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *