कथा : गल्ती कहाँबाट भो ?
एसईईको परीक्षाफल प्रकाशित भयो। दुई विद्यार्थीबीच कडा प्रतिस्पर्धा थियो। यसपटक को पहिलो हुन्छ भन्ने जनचासो पनि थियो। टिप्पणी आयो- पहिलो हुनुपर्ने दोस्रो भएछ, दोस्रो हुनुपर्ने पहिलो भएछ। धेरैले असजिलो अनुभव गरे।
निवेदन पर्यो। उत्तरपुस्तिकाको पुनर्मूल्यांकन गरियो। हुनुपथ्र्यो वाशिङ्टनको Washington र ब्रिटिशको British, तर उत्तर पुस्तिकामा Wasington र Brotis लेखेको पाइयो। यस्तो लेख्ने चाहिँ पहिलो भएछ। यही मान्य ठानियो। सुम्निमा पछि परी, साकिराले उछिनी, पहिलो भई।
शिक्षकले नेपालीमा वासिङ्टन र ब्रिटिस पढाएकै हो। त्यसलाई अंग्रेजीमा लेख्दा नेपाली चलनलाई महत्व दिएर गलत स्पेलिङ लेखिएकै हो। विद्यार्थी दोषी थिएन। शिक्षण गलत थियो। यही देखियो।
दोस्रो हुने विद्यार्थी थिइन् सुम्निमा सुब्बा। उनले मुद्दा गरिन्। कोर्टले विदेशी भाषाका शब्दबारे बहस नगर्ने भो। मुद्दा लण्डन पुग्यो।
अक्सफोर्ड विश्वविद्यालय आधिकारिक संस्था भएको हुनाले यसले चासो लियो र British सही हो भनेर ठोकुवा गर्यो। तर Washington बारे बोल्न चाहेन। अर्को देशको राजधानीको नामबारे आफूले निर्णय दिन नमिल्ने ठान्यो कि। मुद्दा वाशिङ्टन पुग्यो।
संयुक्त राज्य अमेरिकाले नेपाललाई आफ्नो राजधानीको नाम थाहा गर्न न नबिगार्न चेतावनी दिँदै न्यूजपेपर, पुस्तक र सयौं फोटाको कार्गो प्लेन पठाएर सही स्पेलिङ पढाउने सन्देश दियो -Washington/ वाशिङ्टन। पत्र पनि नत्थी गरिएको थियो। तर काठमाण्डूले आफ्नो अज्ञान बारे सोचेन।
संशोधित परीक्षाफल निस्क्यो। सुम्निमा सुब्बा दोस्रो स्थानबाट उक्लेर पहिलो स्थानमा पुगी। यो वर्ष अधिराज्यभरि एसईईको परीक्षामा सर्वाधिक अंक ल्याएर कीर्तिमान कायम गर्ने पनि सुम्निमा नै भइ।
नेपालका स्वतन्त्र नगरपालहरुले ५-५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरे। उक्त पुरस्कार राशी र प्रशंशा पत्र धरान नगरपालिकाको वार्षिक दिवसको विशेष कार्यक्रममा हस्तान्तरण गर्ने योजना बन्यो।
ऐजन मौकामा तीनै जना नगरप्रमुखले छात्रा सुम्निमा सुब्बालाई १५ लाख पुरस्कार राशी र प्रशंशा पत्र प्रदान गरे। साकिराले ३ लाख र प्रमाण पत्र बुझी। दलसंचारको उपस्थिति त्यहाँ थिएन। फेरि पनि यस कार्यक्रमको बढाइ र प्रशंशाले नेपाली जगत प्रफुल्ल थियो।
गलत शिक्षाको प्रवेशबारे खोज-अनुसन्धान गर्ने संकल्प गरेर त्रिमूर्ति मेयरहरु छुट्टिए। अक्षरसँग खेल्नेले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको देखेर अभिभावक समेत दुखी भए। राज्यसत्ताले कुनै पक्षबाट दायित्वबोध गर्न सकेन। न शिक्षामा देखिएका गलत कुराहरुको सुधारमा रुचि देखायो। तर भाषा प्रयोग गर्नेहरु अन्तर्मुखी देखिँदै गए।
अस्थायी शिक्षकको भाषाले यो घटना केही वर्ष चर्चित रह्यो। नेपाली भाषाका ज्ञाताहरु लघुताभासले खुम्चेनन् बरु चर्चाको विषय जन्माउन सकेकोमा आफैंलाई स्याबासी दिँदै रहे। आत्मप्रशंशा गर्दै हिँडे।
त्यसपछि विद्यार्थीहरुले अर्पण गरेको गुरुभाव फिर्ता लिए। पछिसम्म यस घटनाले भट्टी पसलमा चर्चा पाउँदै रह्यो।
Facebook Comment