दाहालको पाँचै वर्ष प्रधानमन्त्री बन्ने अभिव्यक्तिले कांग्रेस-माओवादीमा तरंग

शरद रिजाल
२२ भदौ २०८० १२:४१

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत शनिबार पार्टीको विशेष रुपान्तरण अभियानको उद्घाटनको क्रममा दिएको अभिव्यक्तिले कांग्रेसमा तरंग ल्याएको छ।

उनले माओवादीको गत शनिबारदेखि देशभर सुरु गरिएको तीनमहिने अभियानको उद्घाटनको क्रममा चन्द्रागिरि नगरपालिका–४ मा आफू पाँचै वर्ष प्रधानमन्त्री बन्ने वातावरण बन्दै गएको टिप्पणी गरेका थिए।

‘कति दिनलाई हो १५ दिन या एक महिना भन्ने थियो। अब पाँचै वर्ष जाला जस्तो भयो,’ उनको भनाइ थियो। उनले भ्रष्टाचारविरुद्धको सरकारको कदमलाई लिएर कतिपय सरकार ढाल्ने दाउमा रहेको बताउँदै लाखौं जनतालाई सडकमा ओराल्ने तयारी समेत रहेको बताएका थिए।

प्रधानमन्त्री पाँचै वर्ष सरकारको नेतृत्व गर्ने सम्भावना औंल्याएपछि यसले कांग्रेस वृत्तमा तरंग आएको छ। कांग्रेसको सभापति शेरबहादुर देउवा इतरका नेताहरुले सार्वजनिक टिप्पणी गर्न थालिसकेका छन्।

प्रधानमन्त्रीको अभिव्यक्तिको प्रतिवाद गर्दै कांग्रेस नेता शेखर कोइरालाले अहिलेको अवस्थामा प्रधानमन्त्री नै प्रमुख भएकाले त्यसको प्राप्तिको लागि देउवाको भूमिकामाथि प्रश्न गरेका थिए।

उनले संसदीय व्यवस्थाको प्रमुख पद भनेकै प्रधानमन्त्री भएकाले पार्टीले नेतृत्व गर्न देउवाको अग्रसरता हुनुपर्ने मत व्यक्त गरेका थिए।

सत्ता गठबन्धनमा भएको भद्र सहमति अनुसार दाहाल दुई वर्ष त्यसपछि माधव नेपाल एक वर्ष र बाँकी अवधि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताइएको छ। यद्यपि दाहालको पाँचै वर्ष प्रधानमन्त्री बन्ने अवस्था निम्तिएको अभिव्यक्ति कार्यकर्ता रिझाउने आश्वासन मात्रै भएको कतिपयले चर्चा गर्दछन्।

प्रधानमन्त्री दाहालको अभिव्यक्ति सत्ता गठबन्धनलाई निरन्तरता दिने आशयले व्यक्त गरिएको माओवादी केन्द्रका महासचिव देव गु्रुङको बुझाइ छ। उनले कार्यकता माझ बोलिएको विषयलाई मिडियाले अतिरञ्जित गरेको बताए।

उनले डिसी नेपालसँग भने, ‘मैले गठबन्धनलाई पाँचै वर्ष निरन्तर अघि बढाउनुपर्छ भन्ने आशयले बोलेको बुझेको छु। उहाँले सहमति भए पाँचै वर्ष बन्ने सम्भावना पनि छ भन्न खोज्नुभएको होला।’

महासचिव गुरुङ अहिलेको आवश्यकता गठबन्धनको निरन्तरता भएकाले सहमति विपरीत जाने प्रयत्न कसैले गर्न नहुने जिकिर गर्दछन्। उनले सत्ता गठबन्धनको सहमति अनुरुप माओवादी अघि बढ्ने प्रतिवद्धता जनाए।

उनले भने, ‘कतिपय सन्दर्भ अनुरुप अभिव्यक्ति जे व्यक्त गरिएपनि अहिलेको आवश्यकता गठबन्धनको निरन्तरता हो। यसको विपरीत कोही पनि जाने प्रयत्न प्रधानमन्त्रीबाट हुँदैन।’

उनले प्रधानमन्त्रीको अभिव्यक्ति कार्यकर्ता माझमा व्यक्त गरिएकाले सशंकित हुन जरुरी नभएको प्रष्ट पारे। राजनीतिक रुपमा कार्यकताबीच बोलिने विषय र बाहिर प्रधानमन्त्रीको हैसियतमा अभिव्यक्त विषयमा तादाम्यता नमिल्दा अन्यथा ठान्न नहुने उनको भनाइ छ।

समयानुकुल अभिव्यक्ति दिएर पछि आत्मआलोचित गर्ने दाहालको पुरानै स्वभाव हो। यही बुझेर कांग्रेसको संस्थापन पक्षले मौनता प्रकट गरिरहेपनि इतर पक्ष भने प्रधानमन्त्रीको अभिव्यक्तिले सशंकित बनेको छ।

कांग्रेसका संस्थापन इतरका महामन्त्री गगन थापाले पनि प्रधानमन्त्रीको अभिव्यक्ति पछि सार्वजनिक रुपमा सरकारको आलोचना गर्न थालेका छन्। उनले पछिल्लो महेन्द्र यादवमाथि आक्रमणको घटनालाई लिएर सरकारको तिव्र आलोचना गर्न लागेका हुन्।

सरकारले सुरक्षा व्यवस्था कायम गर्न नसकेको उनको आरोप छ। सरकारको भ्रष्टाचार विरोधी अभियान पनि पूर्वाग्रही भएको उनले बताइरहेका छन्। बिहीबार सदनमा समेत उनले सरकार र गृहमन्त्रीको कडा आलोचना गरेका थिए। सरकारले सुरक्षा व्यवस्था मजबुद बनाउन नसकेको उनको आरोप थियो।

प्रधानमन्त्री दाहालको पछिल्लो अभिव्यक्ति सत्ता गठबन्धनको मर्म विपरीत रहेको कांग्रेस नेता डा.शेखर कोइराला बताउँछन्। उनले सरकारको काम कारबाही सन्तोषजनक नभएकाले कांग्रेसले नेतृत्व लिन अग्रसरता देखाउनुपर्ने धारणा व्यक्त गरे।

उनले डिसी नेपालसँग भने, ‘सरकारले जनताका अपेक्षाहरुको सम्बोधन गर्न सकिरहेको छैन। कांग्रेसकै मन्त्रीहरुको कार्यसम्पादन पनि सन्तोषजनक देखिएन। संसदीय व्यवस्थामा प्रमुख पद भनेकै प्रधानमन्त्री हो। त्यसैले ठूलो दलको हैसियतले अब कांग्रेसले नेतृत्व लिन पहल गर्नुपर्छ।’

सरकारको बेथिति नियन्त्रणमा अक्षमता देखाएकाले कांग्रेसले सरकारको नेतृत्व लिन पहल गर्नुपर्ने आफ्नो मत रहेको उनको भनाइ छ।

सरकारको नेतृत्व गर्न यस अघि गठबन्धनमा भएको सहमति तोड्न कांग्रेस तयार भएको हो? भन्ने प्रश्नमा कोइरालाले भने, ‘त्यस विषयमा अहिल्यै केही निर्णय गरिएको छैन। तर सरकारको कामकारबाहीले कांग्रेस मात्रै होइन कोही पनि सन्तुष्ट छैन। अब छलफल अघि बढाउनुपर्छ भन्ने हाम्रो मत हो।’

उनले सरकारको नेतृत्व लिने विषयमा पार्टीमा छलफल गर्दै दबाव बढाउने आफूहरुले तयारी गरेकोे समेत जानकारी दिए। सरकारको काम प्रभावकारी हुन नसकेको बताउँदै प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति गठबन्धन विरोधी भएको उनको धारणा छ।

उनले दाहाल नेतृत्वको वर्तमान सरकारले देशका विद्यमान बेथिति नियन्त्रण गर्न नसक्दा दण्डहीनतालाई प्रश्रय दिएको आरोप लगाए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *