डेलिगेट लफडाले एनआरएनए अमेरिकामा रडाको, को को परे १० प्रतिशतमा ?

डिसी नेपाल
२४ भदौ २०८० ७:३३

वासिंगटन डिसी। स्वार्थ र राजनीतिले थलापरेको गैरआवासीय नेपाली संघ, अमेरिकामा डिलिगेट काण्डले फेरि अर्को रडाको चलेको छ।

‘परिवर्तन सम्भव छ’ भन्ने नारा लगाएर एनआरएनए अमेरिकाको अध्यक्ष जित्न सफल भएका डा.अर्जुन बन्जाडेले संघको केन्द्रीय अधिबेशनका लागि अमेरिकाबाट प्रतिनिधि छनौट गर्दा जथाभावी गरेको र अपारदर्शी काम गरेको आरोप लागेको छ।

सदस्यता नै रिन्यू नै नगरेकालाई छनौट गरेको औचित्य पुष्टि गर्न बन्जाडेलाई कार्यसमितिकै पदाधिकारीहरुले चुनाती दिएका छन्।

एनआरएन अभियानमा छुटेका तर समाजमा योगदान दिएकाहरुमध्येबाट १० प्रतिशत छनौट गर्नु पर्नेमा केहीवाहेक अधिकांश राजनीतिक दलका नेताहरुलाई पारिएको छ।

त्यसैगरी लाइफ मेम्बर भए पनि हरेकपल्ट रिन्यू गर्नु पर्नेमा यसपल्ट रिन्यू नै नगरेका न्यूयोर्कका एटर्नी खगेन्द्र जिसीलाई पनि १० प्रतिशतमा राखिएको छ। सदस्यता नै रिन्यू नगरिएका व्यक्ति कसरी डेलिगेटमा पर्न सके भन्ने जवाफ पनि बन्जाडे नै दिनुपर्ने भएको छ।

(हेर्नुहोस् १० प्रतिशतमा को को परे लिष्टमा)

 

विधानत ९० प्रतिशत डेलिगेट छनौट वर्तमान र भूतपूर्व समितिका पदाधिकारी तथा सदस्यहरु, अन्तर्राष्टिय समन्वय परिषद्मा अमेरिकाबाट प्रतिनिधित्व गर्ने पदाधिकारी र सदस्यहरु छनौट हुनुपर्नेमा कतिपयलाई छुटाएर अन्य केहीको नाम राखिएको छ।

रविन शर्मा, राजेन्द्र जोशी, राजेन्द्र वाग्ले, ज्ञानेन्द्र खड्का, क्रान्ति अर्याल, किशोर रेग्मी, विश्व सुवेदीजस्ता नामहरु ९० प्रतिशतमा कसरी पारिए भन्ने प्रश्न बन्जाडेमाथि गरिएको छ।

१० प्रतिशतमा राखेको भए पनि अर्कै विषय हुने थियो ९० प्रतिशतको क्राइटेरियामा जवर्जस्ती राखिनु औचित्यहिन छ भन्ने आलोचनाको सिकार बन्जाडे भएका छन्।

केन्द्रीय पदाधिकारीमध्ये महासचिवपछिको पदमा कोही छ भने त्यो व्यक्तिसहित दुईजना क्षेत्रीय संयोजक र अमेरिकाका अध्यक्षसहितको अनुगमन टोली बनाउने र त्यसले पारित गरेपछिमात्र डेलिगेट्सको नाम अन्तिम हुने भन्ने पत्र केन्द्रबाट आए पनि त्यसलाई पनि बन्जाडेले वेवास्ता गरेको आरोप खेपिरहेका छन्।

संघका बरिष्ठ उपाध्यक्ष विकास उप्रेतीले अध्यक्ष बन्जाडेले मनपरि गरेको भन्दै सार्वजानिक अभिव्यक्ति दिँदै आएका छन्। उनले केन्द्रीय अध्यक्ष डा.बद्री केसीलाई सम्बोधन गर्दै सेप्टेम्बर १ तारिकम इमेल लेखेर आफू डेलिगेट छनौट समितिको अध्यक्ष हुँदा हुँदै अध्यक्ष बन्जाडे र महासचिव रामहरि अधिकारीले अर्कै लिष्ट पठाएको भन्ने सुनिएकाले छनौट समितिको संयोजकको हैसियतले आफूले पठाएको लिष्ट आधिकारिक भएको दावी गरेका छन्।

(हेर्नुहोस् इमेल)

श्री डा. बद्री केसी ज्यु
अध्यक्ष, NRNA ICC

उपरोक्त सम्बन्धमा अगस्ट १३, २०२३ मा बसेको NRNA NCC USA को 2nd पूर्ण बैठक द्वारा म विकास उप्रेती, वरिष्ठ उपाध्यक्ष लाई सर्वसम्मतीले, (उपाध्यक्षहरु तथा महासचिव सदस्य रहने गरी) डेलीगेट्स छनौट कमिटी को Chair (संयोजक) तोकेको हो ।

सोही निर्देशन अनुसार हामीले ICC को Guidelines अनुसार NRNA NCC USA ले पाऊनु पर्ने संख्या अनुसारको लिस्ट तयार गरी ICC लाई पठाएको छू । तर, अहिले सामाजिक संजालमा म छनौट कमिटी को संयोजकले पठाएको भंदा केही फरक खालको अर्को लिस्ट, अध्यक्ष र महासचिवको हस्ताक्षर गरेर पठाएको भन्ने चर्चा चलीरहेकोछ ।

तसर्थ : त्यो अरु लिस्टलाई Ignore गरी मैले पठाएको लिस्ट लाई आधिकारीकता प्रदान गरीयोस भन्ने विनम्र अनुरोध गर्दछू । बैठक को माइन्यूट तथा डेलीगेट्स लिस्ट पनि येसै पत्रको साथ attachment गरी पठाएको छू ।

बिनीत
विकास उप्रेती
वरिष्ठ उपाध्यक्ष, NRNA NCC USA तथा Chair (संयोजक) डेलीगेट्स छनौट समिति

यी प्रश्नमा डिसी नेपालसँग उनले भने, ‘छनौट समितिको संयोजकलाई थाहै नदिई अर्कै लिष्ट पठाएकोमा मेरो आपत्ति हो। १० प्रतिशतमा पनि राजनीतिक दलका ठेकेदारहरुलाई नै यसपल्ट पनि दोहोर्‍याउनु हुन्न भन्ने मेरो अडान हो।’ तर, बन्जाडेले भने व्यक्तिको बारेमा आफूले कुनै टिप्पणी नगर्ने बताए।

अक्टोवरको १७-१९ मा संघको अन्तर्राष्ट्रिय अघिवेशन काठमाडौंमा हुँदैछ। र, यो अधिवेशनले नयाँ कार्यसमितिको निर्वाचन गर्ने छ। निर्वाचनमा उम्मेद्वार हुने र तिनका समर्थनमा लाग्ने नेताहरुले मनपरि प्रतिनिधि छनौट गरेको भन्दै अमेरिकालगायत केही देशमा चर्को विवाद भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *