जी-२० शिखर सम्मेलनको नतिजाबारे चीनले के भन्यो ?

डिसी नेपाल
२६ भदौ २०८० १५:४५

काठमाडौं । भारतमा भएको जी–२० सम्मेलनबारे चीनको धारणा आएको छ । यस सम्मेलनले विश्वका चुनौतीहरूको सामना गर्न र आर्थिक पुनरुत्थानका लागि यो प्रभावशाली समूह मिलेर काम गरिरहेको छ भन्ने सकारात्मक सन्देश दिएको चीनले जनाएको छ।

जी-२० सम्मेलनको नतिजामा पहिलो पटक चीनको बयान आएको हो । चीनको विदेश मन्त्रालयले जी २० सम्मेलनको नतिजाको प्रशंसा गरेको छ।

चिनियाँ विदेशमन्त्रीका प्रवक्ता माओ निङले जी–२० सम्मेलनको तयारीमा चीनले भारतलाई सहयोग गरेको बताइन् । यसमा चीनले सधैं सकारात्मक भूमिका खेलेको छ।

उनले विकासोन्मुख देशको चासो र साझा विकासका लागि चालिएका कदमलाई महत्व दिएकोमा चीनले समर्थन गरेको बताइन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ जी–२० सम्मेलनमा सहभागी हुन दिल्ली आउने भनिए पनि अन्तिम समयमा उनले प्रधानमन्त्री ली कियाङलाई त्यसमा सहभागी हुन पठाए ।

गत वर्ष इन्डोनेसियामा भएको जी–२० सम्मेलनमा पश्चिमी मुलुक र रुस–चीनबीच असहमति भएको थियो । उक्त सम्मेलनमा युक्रेनमा भएको आक्रमणमा रुसको भूमिकाको निन्दा गरिएको थियो ।

तर यस जी-२० सम्मेलनको घोषणापत्रमा सदस्य राष्ट्रहरूबीच भएको सहमतिको श्रेय भारतलाई दिइँदैछ। नयाँ दिल्ली घोषणालाई भारत र यसको बढ्दो विश्वव्यापी प्रभावको लागि कूटनीतिक विजयको रूपमा हेरिएको छ।

सेप्टेम्बर ९–१० मा नयाँ दिल्लीमा भएको सम्मेलनमा भारतले अमेरिकालगायत देशसँग द्विपक्षीय वार्ता पनि गरेको थियो ।

चीनको आधिकारिक पत्रिका ‘ग्लोबल टाइम्स’ ले पनि आफ्नो लेखमा जी–२० सम्मेलनले बढ्दो मतभेदबीच आधारभूत एकता प्रदर्शन गरेको जनाएको छ ।

ग्लोबल टाइम्सले लेख्यो, “दिल्लीमा भएको जी-२० शिखर सम्मेलनले अन्ततः एक संयुक्त वक्तव्य अपनायो जसले धेरै आधारभूत ऐक्यबद्धता र युक्रेन युद्धमा तटस्थ दृष्टिकोण देखाउँदछ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *