अवसरसँगै चुनौती थियो : अभिनेता कार्की

डिसी नेपाल
२६ भदौ २०८० २०:०२

काठमाडौँ । नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेतामध्येका एक विपीन कार्की छन् । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’ लगायत चलचित्रमा निर्वाह गरेको चरित्रले पहिचान स्थापित भए पनि अभिनेता कार्कीलाई ‘जात्रा’ पश्चात् दर्शकले चिनेका हुन् ।

दर्शकमाझ परिचित भए पनि अभिनेता कार्की आफ्ना पात्रलाई नयाँ जीवन दिन सङ्घर्षशील छन् । दर्शकले आफ्ना भूमिकामा आफूलाई महसुस नगरुन् भन्ने उनको प्रयास हुन्छ । यसकै निरन्तरता हो ,‘एक भगवत् र एक गीता (सामाजिक प्रेमकथा)’ । उनले चलचित्रमा निर्वाह गरेको ‘कमलामाई’ को भूमिकामार्फत यौनिक लैङ्गिक अल्पसङ्ख्यक समुदायको जीवनलाई प्रस्तुत गरेका छन् ।

“एउटा कलाकारले यस किसिमको भूमिकामार्फत आफूले फरक जीवन बाँच्नुका साथै दर्शकलाई पनि त्यो महसुस गराउन सक्छ । अभिनयमा विविधता खोजिरहँदा यस्ता भूमिका अवसर र चुनौती दुवै हुन्”, अभिनेता कार्कीले भने, “मैले आफ्नो पात्रमार्फत उक्त समुदायको दबिएका कथालाई पर्दामार्फत व्यक्त गर्ने अवसर पाएको छु ।”

उनलाई कथाले आकर्षित गरेता पनि निर्माण समूहसँग विश्वस्त हुन समय लाग्यो । किनकि निर्देशक झरना थापाले अभिनय र निर्देशन गरेका अधिकांश चलचित्र परम्परागत थिए । यद्यपि यो विषयवस्तुलाई महिला निर्देशकले अन्यको तुलनामा न्याय गर्न सक्ने विश्वास अभिनेता कार्कीलाई थियो ।

“मैले पटकथा सुनेपछि प्रस्तुतीकरणका विषयमा छलफल गरेँ । म विश्वस्त भएपछि काम सुरु गरेँ । किनकि उहाँहरू परिवर्तन हुन् खोज्नु भएको छ भने हामीले सहकार्य गर्नै पर्छ”, अभिनेता कार्कीले भने । छायाङ्कनका क्रममा उनले नयाँ अनुभव सङ्गाले । शृङ्गारमा लाग्ने समय, लिङ्ग परिवर्तन हुँदा ल्याउनु पर्ने हाउभाउ लगायतले उनलाई छायाङ्कन अवधिभर ‘विपीन’ भन्दा पर राख्यो । छायाङ्कन सकिएको दुई दिन जनकपुरमै बसेर बल्ल उनी काठमाडौँ फर्किए । किनकी उनी पात्रलाई अन्यसँग परिचित गराउन चाहन्थेनन् ।

निर्देशक थापाले लगातार निर्माण गरिरहेको चलचित्रमा फरक रहेको बताइन् । उनले भनिन्, “प्रेम कथानकभन्दा बाहिर आएर समाजमा रहेको समस्यालाई उठाउने कोसिस गरेका छौँ ।” चलचित्रमा अभिनेता कार्कीसँगै धीरज मगर, सुहाना थापा, कविर खड्का, जेविश र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झालगायतका कलाकारले अभिनय गरेका छन् ।

सुनिलकुमार थापाले निर्माण गरेको चलचित्रमा निर्देशक थापासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुङ्गेलले पटकथा, राजेश श्रेष्ठले छायाङ्कन, मित्र डी गुरुङले सम्पादन, हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *