मेरा बा मेरो प्रेरणाका स्रोत
कुमारी पाटीको एनसेल सेन्टर नजिकै रहेको क्याफे कर्नरमा बसेर एक एक कप कफी अर्डर गरेर चारै जना गफमा भुल्लिँदै थियौं। केशव दाइले सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि त बिहीबार पो गर्ने भएछन् है? आज गरेको थियो भने भोलि बा को मुख हेर्ने दिनमा सार्वजनिक बिदा जुध्ने थिएन।
अर्का साथीले हातमा भएको कफीलाई एक चुस्की लाए अनि अर्को हातमा भएको चुरोटलाई मजाले सर्को तानेर आकास तिर धुँवा उडाए मानौ कि उनलाई धेरै नै हतार छ, एकै सर्कोमा सिंगै चुरोट सिध्याइहाल्नुछ।
केशव दाईको कुरा सक्किन नपाई उसले लामो सास फेर्दै कुरा थप्यो आफ्ना बा उ बेलै बिते। खुट्टा कस्तो थियो, हात कस्तो थियो पनि याद छैन। प्रेरणाको श्रोत बा नै हुन भनेको सुन्छु खै कस्तो हुन्छ प्रेरणा? कस्तो हुन्छ बा को माया अनि स्नेह।
उ बेलासम्म उनका आँखा रसाई सकेका रहेछन्। सायदै उनको मनमा ती बा शब्दबाट पाउने प्रेरणा, माया र स्नेहको निकै ठूलो अभाव खड्किएको हुँदो हो। केशव दाइले अलि सम्झाउँदै हुनुहुन्थ्यो त्यसो हैन सबैको दिन ढिलो छिटो मात्र हो, तल माथि मात्र हो तर जाने ठाउँ पाउने कुरा प्राय एकै हुन्छन् ।
बा को आधार पाउने भन्दा कम पाएर के भो त तिमी एक सफल व्यक्ति हौ, छौ र अझै प्रगति गर्छौ त्यसमा कुनै दुई मत छैन। म पनि बाको प्रेरणा पाएकै कारण यो पेशामा आइपुगेँ तर बाले खोजेको र दिएको योगदानको कदर अझै पुगेको छैन जस्तो भान हुन्छ, नहोस पनि कसरी समय यस्तै भइदियो। (केशव दाइ एक हेल्थ वर्कर हुनुहुन्छ।)
मेरो मन अलि खिन्न भो। सायद त्यसपछि मेरो बोल्ने पालो हुँदो हो। दुई शब्द थप्दा केही अर्थपूर्ण हुनजान्थ्यो होला, उनको मन अझै हलुंगो हुन्थ्यो होला तर म अक्क न बक्क भएँ।
दुबै जनाको कुराले मेरो भने मन भारी थियो। त्यहाँ मेरो कानको काम मात्र वहाँहरुको कुरामा अल्झिरहेको थियो मेरो बहकिएको मन मेरा बाले मप्रति गर्नुभएको योगदान, प्रेरणा, माया, हौसला, यात्रा, अनि आसासँगै दौडिरहेको रहेछ।
उहाँले भोग्नुभएको भोगाइका कथाहरु र हामीले बाँचिरहेको जीवनमा आकास जमिनको फरक छँदै छ, यसको कारण अरु केहस् नभइ बाले हामीप्रति देखिदिएको सपना र उहाँको तल्लीन खटाइ अनि बदलिँदो समाज र हाम्रा असीमित आवश्यक्ता नै होलान सायद।
बा यहाँले खियाएका हातका नग्राहरु, बगाएका पसिनाका धाराहरु र हाम्रा लागि गरेको खरबौँको योगदानले म आज ‘म’ हुन पाएको छु। मेरा बाले सानो छँदा आफूलाई ठूलो डोको अनि मलाई बजारे सानो डोको किनेरसँगै घाँस काट्न लैजाँदा अनि घाँसका भारीसँगै असिन पसिन हुँदै फर्कँदा हामी घाँस मात्र ल्याएका हुँदैन थियौं, डोकाको छुट्टै अर्थ थियो उहाँसँग ठूलो डोको भरी ज्ञान पहिल्यै थियो त्यसैले त म घर पछि फर्कँदा मेरो सानो डाकोभरी अनगिन्ति ज्ञान भरिएको हुन्थ्यो।
घाँस काट्ने कचियामा बिज्ञान हुन्थ्यो त उसको बिँडमा कला। हाम्रो शरीरबाट बगिरहेको पसिनासँगै मेहेनत गर्नका लागि जाँगर थपिएको हुन्थ्यो, घरदेखि टाढासम्म घाँस खोज्न जाँदा हाम्रो सफल यात्रा हुन्थ्यो अनि बाटोमा बिसाउँदै सिकेका नयाँ कुराहरु भविश्यको योजना हुन्थ्यो। सायद मेरा बाको पाइलै पिच्छे मैले प्रेरणा पाएको हुन्थेँ।
बाले सिकाएका हरेक ज्ञान र बिज्ञानका कुरा आज ब्यावहारमा लागू भएको पाउँछु। उ बेला देखेको बाको भविश्यवाणी आज हरेक काममा मेल खाँदा वहाँ साँच्चिकै महान बिचारक हो भन्ने अठोट म गर्न सक्छु।
वहाँ नै मेरो बैज्ञानिक ठान्छु किनकि बा ले उ बेला हाम्रा लागि गरेको संघर्षका कारण मैले अनेकौं अविस्कार देख्न पाएँ, प्रयोग गर्न पाएँ, नियाल्न पाएँ अनि ज्ञान आर्जन गरेँ जसमा मेरा बाको पसिना छ अनि योगदान पनि। कहिले काहीँ हवाइजहाजमा उड्दै गर्दा म मेरा बा पाइलटको रुपमा देख्छु।
मेरा बा मेरा लागि पाइलट नै हुनुहुन्छ किनकि वहाँले सिकाएका पाठहरु नियाल्दा र वहाँको मप्रति देखेका सपनाहरुले गर्दा आज म उडन सक्ने भएको हुँ। जीवन यात्रा गर्दै जाँदा भोग्ने अनेकौँ ठक्करको क्रममा बाले सिकाउनु भएको संस्कार, असल व्याबहार र ज्ञानको प्रयोग गर्ने हो भने सायदै कहीँँ समस्या पर्ने थिएन होला।
सायद यहाँले देखाउनु भएको बाटो मैले धेरै वटा बिराएँ होला, उ बेला म मा देख्नु भएको सपना सायदै कत्ति पनि पूरा गर्न सकेका छैन होला। तर यहाँले गर्नुभएको योगदान यहाँको मप्रतिको परिकल्पना, मेहेनत, यहाँले सदा थप्नु हुने उर्जा, हिम्मत, यहाँको माया प्रेरणाको गुण तिर्न कहिले पनि म असमर्थ हुने रहेछु।
बा तपाईं जसरी आमा (धर्ती) लाई सदा साथ दिने आकासको रुपमा मप्रति सदा सर्वदा खटिनुभयो। मेरा अनेका सपनाहरु पूरा गर्नका लागि आफ्ना लाखौँ सपनाहरु कुहाउनु प¥यो त्यसका लागि म क्षमाप्रार्थी छु।
मेरा लागि हिँड्दा कहिल्यै नथाकेका तपार्ईका खुट्टा, तपाईंले हजारौँ माइल काँधमा बोक्दा थाकेको म अनि मेरो शरीर। तर नगलेका यहाँका बलिया टेको बनेका काँधहरु प्रतिसदा उच्च सम्मान छ।
‘बा’ साँच्चिकै बा बन्न त मुस्किल पो हुने रहेछ त? अहिले थाहा हुँदैछ मलाई मेरा बा ले कहिल्यै बा हुँदाको पीडा हामिलाई सुनाउनु भएको रहेनरहेछ। तपाईंको सबै बिषयको ज्ञान बाँड्नुहुन्थ्यो।
तर यी बच्चाहरु भइसकेपछि बहन गर्नुपर्ने उत्तरदायित्व, गर्नुपर्ने अनेकौँ प्रयास, भोग्नुपर्ने पीडा चाहीँ कुन बिषय अन्तर्गत पर्थे होलान्? सायद गाह्रो बिषय हुँदो हो त्यसैले त कहिल्यै हामीलाई भन्नुभएन।
बा मेरो जीवनमा मेरा बालबच्चाहरु लाई यहाँले जत्तिको नसके पनि केही प्रतिशत तपाईंले दिनुभएको जस्तै प्रेरणा र प्रेरणाको श्रोत बन्न सकूँ भन्ने बाहेक मेरो केही पनि संकल्प छैन।
मेरा बाको ती फुटेका हात र फुटेका खुट्टामा भएका रेशारेशा मेरो लागि गरेको योगदान र मप्रति देखेको सपनाको बाटा हुन जस्तो लाग्छ र यसलाई कदर गर्न सकूँ त्यो बाहेक मेरो अर्को सपना छैन। पाइला टेक्न, हिँड्न, दौडिन अनि गन्तब्यमा पुग्न सिकाउने मेरा बा मेरो प्रेरणाको सबैभन्दा उच्च श्रोत हुनुहुन्छ
र सबैका लागि मुख्य र अब्बल प्रेरणाको श्रोत आफ्ना बा बाहेक यो संसारमा कोही हुन सक्दैन। बा यहाँलाई बुवाको मुख हेर्ने दिनको अथाहा शुभकामना। यहाँप्रति स-सम्मानसहित सदा यहाँको मुख हेर्न लायक छोरा बन्न सकूँ।
Facebook Comment