पाकिस्तानका राष्ट्रपतिको निर्वाचन आयुक्तलाई पत्र, नोभेम्बर ६ मा निर्वाचन गराउन सल्लाह
काठमाडौं । पाकिस्तानका राष्ट्रपति डा आरिफ अल्वीले देशका मुख्य निर्वाचन आयुक्तलाई नोभेम्बर ६ सम्ममा निर्वाचन गराउन सुझाव दिएका छन् ।
राष्ट्रपति अल्वीले प्रदेश सरकार र राजनीतिक दलसँगको छलफलपछि देशभर राष्ट्रिय र प्रदेश सभाको निर्वाचन एकै दिन गराउन सर्वोच्च अदालतबाट सल्लाह लिनुपर्ने बताएका छन् ।
राष्ट्रपतिले प्रमुख निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजालाई आम निर्वाचनका लागि पत्र लेखेका छन् ।
उक्त पत्रमा पाकिस्तानका राष्ट्रपतिले संविधानबमोजिम राष्ट्रिय सभा विघटन भएको ९० दिनभित्र आम निर्वाचन गरिनुपर्नेमा फेरि जोड दिएका छन् । यो अवधि नोभेम्बर ६ हो ।
राष्ट्रपति अल्वीले अगस्ट ९ मा पूर्व प्रधानमन्त्री शाहबाज शरीफको सल्लाहमा राष्ट्रिय सभा भंग गरेको बताए ।
उनले ९० दिनभित्र निर्वाचनको मिति तोक्ने अधिकार राष्ट्रपतिलाई रहेको र यो संवैधानिक जिम्मेवारी पूरा गर्न प्रमुख निर्वाचन आयुक्तलाई संविधानबमोजिमको प्रक्रियामा टुंगो लगाउनका लागि राष्ट्रपति भवनमा बैठक बोलाइएको बताए ।
Facebook Comment