कविता : सहकार्य
तिमी निदाउ र सपनाहरु देख भन्छाै
आफ्नो खुसी,इच्छाहरु घेरा भित्र लेख भन्छाै
बाहिर त संङ्ष, बेइमानी, बिकृति छ
हन्डर खान्छाै, दु:ख पाउँछाै
त्यसैले तिमी आराम क्षेत्र भित्रै रमाउ
सानो पोखरीमा आफ्नो स्थान जमाउ
मृदु मुस्कानले त्यहीँ भित्र
जिन्दगीका सपानाहरु थमाउ
ताकी तिमीलाई बाहिरी परिधी नाघ्न नपरोस्
संसारको परिवर्तन हेरी तिमीमा
सशक्तिकरणको भोक नजागोस्
बाहिरी संसार हेर्ने तिम्रो दाउ?
छोड, बरु मेरै हात समाउ
सपनाहरू आँखा चिम्लिएर दबाउ।
तर,
म बिउँझेरै आँखा खोलेर
सपनाहरू देख्न चाहन्छु
तिमीले निर्धारण गरेको परिधी नाघेर
पन्छि झै पंखेटा फैलाएर आकाशको
नजीकसम्म उडान भर्न चहान्छु
ताकी धर्ती माताका हामी उस्तै सन्तान
किन तिमी र ममा आकाश जमिनको फरक?
माथि पुगेर लैंगिक विभेद
नियाल्न चाहन्छु
कारण बुझेर
खबरदारी गर्न चाहन्छु
मेरा फैलिएका पंखेटा
तिम्रो आवेग, निर्देश,मायाको
पिंजडामा बन्द नगर।
अब तिमी, तिम्रो सोचमा परिबर्तन गर
ताकि त्यँहा कुनै विभेद, हिंसा बिसङ्गती नहोस्
तिम्रो यथेष्ट सहयोगको आबश्यक्ता छ
हाम्रा इच्छा र चाहना केही मिल्लान्
केही बिश्वास, सम्मान र सहमति चल्लान्
म पनि हामी भएर हाम्रा लागि उडान भर्छु
तिमी पनि हाम्रै लागि परिवर्तन जरुरी ठान
आउ अब तिमी र म भद्र सहमति गरौं
तिमी र म एउटा रथका दुई पाङ्ग्रा हौं
हामी टेक्ने धरातल एउटै
हाम्रो बिमतिमा सहमति रोजेर
अगाडि बढनु नै हाम्रो उपलब्धि हुनेछ
तिमी र म मिलेर नै सुन्दर समाज,
कार्यालय र पारिवारिक दायित्वको
भूमिका निभाउन सहकार्य गर्नु जरुरी छ।
त्यसैले,
आराम क्षेत्रलाई छिचोलेर
इच्छाशक्तिलाई जगाएर
तिमी र म बिचको सोचाईको बिभेद
पहिलाएर त्यो जरा काटेर
समाजमा परिवर्तनको सुगन्ध छर्नुछ।
अनि,
म बाँचेको युगको चित्र कस्तो थियो
त्यहाँ भित्रका कथाहरु लेख्नु छ
शब्दभित्रै समाजको ऐना देख्नु छ।
Facebook Comment