प्रधानमन्त्री दाहाल राष्ट्र संघीय सभालाई सम्बोधन गर्न अमेरिका प्रस्थान गर्दै
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज अमेरिका प्रस्थान गर्दैछन्। संयुक्त राष्ट्रसंघकाे ७८ औँ महासभामा भाग लिन शनिबार अमेरिकातर्फ प्रस्थान गर्न लागेका हुन्।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो।
चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, कृषिलगायतका बिषयमा दुईपक्षीय छलफल र केही विषयमा समझदारी हुने सरकारकी प्रवक्तासमेत रहेकी सुचना तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिएकी छिन्।
यसैबीच प्रधानमन्त्री दाहालले आफ्नो आसन्न चीन भ्रमणबाट नेपाल-चीनबीच विद्यमान द्विपक्षीय सम्बन्ध थप उच्च र प्रगाढ हुने विश्वास व्यक्त गरेका छन्।
चीनको औपचारिक भ्रमण र संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुनुपूर्व संसद्लाई जानकारी गराउँदै उनले भ्रमणलाई नेपाल र नेपाली जनताको हित एवं नेपाल चीन सम्बन्धलाई थप मजबुत तुल्याउन प्रयास गर्ने बताएका हुन्।
नेपालको प्रधानमन्त्रीको हैसियतमा आफ्नो यो तेस्रो चीन भ्रमण भएको उल्लेख गर्दै उनले कोभिड महामारीपछि प्रधानमन्त्रीको स्तरमा हुने पहिलो उच्चस्तरीय भ्रमणले नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने बताए।
“नेपालको पूर्वाधार विकास, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षालगायत विविध क्षेत्रमा छिमेकी मित्रराष्ट्र चीनबाट प्राप्त सहयोगबारे छलफल हुनेछ”, उनले भने, “भ्रमणका क्रममा कोभिडको कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापार नाका र परम्परागत सीमा नाकाहरू खोल्ने विषयमा समेत कुराकानी हुनेछ।”
चीनको औपचारिक भ्रमणबाट दुई देशबीच रहिआएको परम्परागत घनिष्ठ र सहयोगात्मक सम्बन्ध थप सुदृढ हुने तथा आपसी सहयोगका क्षेत्रहरू थप विस्तार हुँदै जाने विश्वास व्यक्त गरे।
संघीयता लागू भएपछिको दोस्रो आमनिर्वाचनपश्चात बनेको सरकार प्रमुखको हैसियतमा आफूले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने र नेपालको चासोका विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले शान्ति, दिगो विकास, जलवायु परिवर्तन जस्ता क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग र सद्भाव हासिल गर्न सहयोगी हुने विश्वास व्यक्त गरे।
संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधनपश्चात् आगामी असोज ५ गते चीनको औपचारिक भ्रमणका लागि हाङजाउ जाने कार्यक्रम तय भएको उनले जानकारी दिए। “संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण म न्युयोर्कबाट सिधै छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा जानुपर्ने परिस्थिति बन्न गएको हो”, उनले भने।
नेपाल र चीनबीच सदियौँदेखि सौहाद्र्रपूर्ण एवं अति घनिष्ठ सम्बन्ध रहिआएको र हालैका वर्षमा यो सम्बन्ध बहुआयामिक क्षेत्रमा अझ व्यापक र थप घनिष्ठ बन्दै गएको उनको भनाइ छ।
चीन लामो समयदेखि नेपालको विकास साझेदार रहेको र नेपालको सर्वाङ्गीण विकासका प्रयासमा सहयोग गर्दै आएको उनले उल्लेख गरे। हाङ्जाउमा नै चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेटघाटको कार्यक्रम रहेको जानकारी उनले दिए।
प्रधानमन्त्री दाहाल १९औँ एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ। सेप्टेम्बर २५ मा बेइजिङमा समकक्षी ली छियाङसँग भेटघाट तथा द्विपक्षीय वार्ताको कार्यक्रम रहेको प्रधानमन्त्रीले जानकारी दिए।
Facebook Comment