म्यानमारको सैन्य सरकारले चीन र भारतका पर्यटकलाई लोभ्याउन नयाँ अफर ल्यायो

डिसी नेपाल
३० भदौ २०८० ११:३६

काठमाडौं । म्यानमारको सरकारी सञ्चारमाध्यमले चीन र भारतका पर्यटकलाई आकर्षित गर्न सैन्य सरकारले ‘भिसा अन अराइभल’ दिने निर्णय गरेको एक रिपोर्टमा जनाएको छ ।

समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार सैनिक सरकारले विदेशी पर्यटकको आगमन र उनीहरुको विदेशी मुद्रालाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो ।

‘ग्लोबल न्यू लाइट अफ म्यान्मार’ ले सैन्य शासनको अध्यागमन विभागलाई उद्धृत गर्दै यो नयाँ योजना छिट्टै घोषणा गरिने र प्रारम्भमा यसलाई एक वर्षको परीक्षणका रूपमा सञ्चालन गरिने जनाएको छ ।

‘भिसा अन अराइभल’ पाउने पर्यटकलाई प्रतिबन्धित क्षेत्रबाहेक सबै ठाउँमा जान अनुमति दिइने पत्रिकाले बिहीबारको आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

हालको प्रणालीमा दुवै देशका नागरिकले पर्यटक भिसाका लागि अनलाइन वा म्यान्मारको दूतावासमा आवेदन दिनुपर्ने हुन्छ ।

म्यानमारमा सन् २०२१ को ‘कु’को विरोध अझै छ र सैन्य सरकार यसलाई दबाउन संघर्ष गरिरहेको छ।

सैनिक सरकारले देशमा आफ्नो पूर्ण नियन्त्रण नभएका क्षेत्रहरु रहेको स्वीकार गरेको छ । अमेरिका र अष्ट्रेलिया जस्ता देशले आफ्ना नागरिकलाई म्यानमार नजान सल्लाह दिएका छन् ।

तर म्यानमारसँग चीन र भारतको लामो सीमा रहेको छ र दुवै देशले त्यहाँको सैनिक सरकारसँग कूटनीतिक सम्बन्ध कायम राखेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *