भियतनामको ९ तले भवनमा भीषण आगलागी, ४ बालबालिकासहित ५६ जनाको मृत्यु
काठमाडौं । भियतनामको राजधानी हनोईस्थित एउटा अपार्टमेन्टमा बुधबार भीषण आगलागी भएको छ । यस दुर्घटनामा करिब ५६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बालबालिका पनि परेका छन् । दमकलले करिब ७० जनाको उद्धार गरेको थियो । एपी रिपोर्टका अनुसार यस भवनमा करिब १५० जना मानिस बस्दै आएका छन् र आगलागीको कारण भने खुल्न सकेको छैन ।
प्रहरीले बुधबार आगलागी भएको भियतनामको राजधानी हनोईको ९ तले भवन सहरको आवासीय क्षेत्रको साँघुरो गल्लीमा रहेको जनाएको छ । तर, आगलागीपछि राहत कार्य तीव्र गतिमा भइरहेको छ । भियतनामको न्युज च्यानलमा दुर्घटनाको तस्विरमा पानीले सुसज्जित अग्निनियन्त्रकहरू घटनास्थलमा भवनमा लागेको आगो निभाउनमा व्यस्त देखिन्छ।
यस घटनामा ज्यान गुमाएका ५६ जनामध्ये ३९ जनाको सनाखत भएको सरकारी मिडिया कम्पनीले जनाएको छ । टिभी च्यानल भिटिभीले मृतकमध्ये चार बालबालिका पनि रहेको जनाएको छ । घाइतेहरुलाई विभिन्न अस्पतालमा लगिएकाले मृत्यु हुनेको संख्या सुरुमा खुल्न सकेको छैन ।
भवन एउटा ‘ट्युब हाउस’ थियो। धेरै तला अग्लो पातलो भवनमा धेरै परिवार र विद्यार्थीहरू बस्थे। आगलागीपछि भवनको पर्खाल कालो भएको छ भने वरपरका विद्युतीय तारहरु गर्मीका कारण क्षतिग्रस्त भएका छन् ।
भियतनामका प्रधानमन्त्री फाम मिन्ह चिनले घटनास्थलको भ्रमण गरी पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले यो घटनालाई आगलागी रोकथाम र दमकलमा सुधार गर्ने पाठका रूपमा लिनुपर्ने बताए । प्रधानमन्त्रीले यस्तो विपत्तिबाट बच्नका लागि नियमलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
गत वर्ष दक्षिणी भियतनामको बिन्ह डुङ प्रान्तको कराओके पार्लरमा आगलागी हुँदा ३२ जनाको मृत्यु भएको थियो ।
Facebook Comment