सिमकार्ड डुप्लिकेसन गरी छ लाख बढी ठगी गर्ने पक्राउ
काठमाडौं । सिमकार्ड डुप्लिकेसन गरी रु छ लाख दुई हजार पाँच सय ४८ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–६ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्ने २२ वर्षीय सरोज दिवाली रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार पीडितको मोबाइल नम्बरको सिमकार्ड सेवा प्रदायक कम्पनीबाट आफ्नो नाममा नामसारी गरी मोबाइल बैंकिङ एक्टिभ गराई पीडितको बैंक खाताबाट विभिन्न बैंक खाता तथा वालेटमा पटक–पटक गरी रु छ लाख दुई हजार पाँच सय ४८ ट्रान्सफर गरी सिम डुप्लिकेसनमार्फत ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएपछि उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका दिवालीलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
Facebook Comment