भारतले पनि क्यानाडाली कूटनीतिज्ञलाई देश निकाला गरिदियो
काठमाडौं । क्यानडाबाट भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि क्यानडाका वरिष्ठ कूटनीतिज्ञलाई देश निकाला गरेको छ । उनलाई भारत छोड्न पाँच दिनको समय दिइएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘भारतले क्यानाडाली कूटनीतिज्ञलाई निष्कासन गरेको छ । क्यानडाका उच्चायुक्तलाई आज बोलाएर भारत सरकारको यो निर्णयबारे जानकारी गराइएको छ । सम्बन्धित कूटनीतिज्ञलाई पाँच दिनभित्र भारत छोड्न भनिएको छ ।’
“यो निर्णयले हाम्रो आन्तरिक मामिलामा क्यानाडाली कूटनीतिज्ञहरूको हस्तक्षेप र भारत विरोधी गतिविधिहरूमा उनीहरूको संलग्नतामा भारत सरकारको बढ्दो चिन्तालाई प्रतिबिम्बित गर्दछ।”
यसअघि भारतीय विदेश मन्त्रालयले भारतस्थित क्यानाडाली उच्चायुक्तलाई बोलाएको थियो । केही समयअघि क्यानडाका उच्चायुक्त क्यामरुन म्याकी नयाँ दिल्लीको साउथ ब्लकस्थित विदेश मन्त्रालयको मुख्यालय पुगेका थिए ।
केही मिनेटको भेटपछि क्यामरुन म्याकी परराष्ट्र मन्त्रालयको कार्यालयबाट बाहिर निस्किए । यो अवधिमा उनले मिडियासँग खासै कुरा गरेनन् ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको हात रहेको आरोप लगाएका छन् । भारतीय विदेश मन्त्रालयले क्यानडाको यो आरोपलाई पूर्णतया अस्वीकार गर्दै यसलाई आधारहीन भएको बताएको छ ।
यसै वर्षको जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बियास्थित गुरुद्वारा बाहिर निज्जरको गोली हानी हत्या गरिएको थियो ।
ट्रुडोले सोमबार क्यानडाको संसदमा भने, “क्यानाडाली एजेन्सीहरूले निज्जरको हत्यामा भारत सरकारको हात हुनसक्ने भरपर्दो जानकारी प्ताप्त गरेका छन् ।”
क्यानडाका प्रधानमन्त्रीले जी–२० सम्मेलनमा पनि प्रधानमन्त्री मोदीसँग यो मुद्दा उठाएको बताए ।
ट्रुडोले क्यानडाको संसदमा भने, “हाम्रो देशको भूमिमा क्यानाडाली नागरिकको हत्याको पछाडि विदेशी सरकारको हात हुनु अस्वीकार्य छ र यो हाम्रो सार्वभौमसत्ताको उल्लङ्घन हो।”
ट्रुडोले भने, “यो लोकतान्त्रिक, स्वतन्त्र र खुला समाजहरू सञ्चालन गर्ने आधारभूत नियमहरूको विरुद्ध हो।”
क्यानडाका विदेशमन्त्री मेलानी जोलीले सोमबार भारतीय कूटनीतिज्ञ पवनकुमार रायलाई यस प्रकरणको अनुसन्धानका कारण निष्कासन गरिएको बताइन् ।
Facebook Comment