क्यानडाले भारतमाथि लगाएको हत्याको आरोपबारे अमेरिका, बेलायत र अस्ट्रेलिया के भन्छन् ?

डिसी नेपाल
२ असोज २०८० १६:५३

काठमाडौं । खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्याको मामिलामा क्यानडाले भारतमाथि लगाएको आरोपको अमेरिकाले जवाफ दिएको छ। मंगलबार, ह्वाइट हाउसले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको आरोपलाई ‘अत्यन्त चिन्ताजनक’ भनेर वर्णन गरेको छ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार देशको संसदमा नयाँ दिल्लीमा भएको जी-२० सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्याको मुद्दा उठाएको बताएका थिए।

“क्यानडाको भूमिमा क्यानाडाली नागरिकको हत्यामा विदेशी सरकार संलग्न हुनु हाम्रो सार्वभौमसत्ताको उल्लङ्घन हो र अस्वीकार्य छ,” उनले क्यानडाका सांसदहरूलाई भने। भारतले यसअघि नै निज्जरको हत्यामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।

अर्कोतर्फ क्यानडा र भारतबीच चलिरहेको कूटनीतिक टकरावमा बेलायतले पनि मंगलबार आफ्नो क्यानाडाली सहयोगीसँग घनिष्ठ सम्पर्क राखेको बताएको छ। बेलायती सरकारका प्रवक्ताले भने, “हामी यी गम्भीर आरोपहरूका सम्बन्धमा क्यानाडासँग नजिकको सम्पर्क राखिरहेका छौं।”

तर, बेलायतले क्यानडा सरकारले हाल यस विषयमा अनुसन्धान गरिरहेकोले यस विषयमा थप टिप्पणी गर्नु उचित नहुने बताएको छ ।

अस्ट्रेलियाले पनि खालिस्तानी सिख नेताको हत्याको मामिलामा क्यानडाले भारतविरुद्ध लगाएको आरोपप्रति ‘अत्यधिक चिन्तित’ रहेको बताएको छ।

अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङका प्रवक्ताले भने, “अष्ट्रेलिया यी आरोपहरूप्रति गहिरो चिन्तित छ र चलिरहेको अनुसन्धानलाई पछ्याउँदैछ।”

उनले भने, “हामी यस विकासमा हाम्रा साझेदार देशहरूसँग नजिकको सम्पर्क राखिरहेका छौं। हामीले भारतमा उच्च स्तरमा आफ्नो चिन्ता व्यक्त गरेका छौं।”

हरदीप सिंह निज्जरको १८ जुनमा क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तमा हत्या भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *