काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सञ्चालन शुभारम्भ

डिसी नेपाल
३ असोज २०८० १३:२२

काठमाडाैं। काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सञ्चालन शुभारम्भ गरिएको छ।

संविधान दिवसको अवसर पारेर भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्क सडक खण्डमा सुरु गरिएको द्रुत बस सेवाको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शुभारम्भ गरे। १३ दशमलव ४ किलोमिटरको उक्त सडक खण्डमा द्रुत बस सेवा सञ्चालनका लागि यसअघि नै मार्किङको काम सम्पन्न भइसकेको छ।

द्रुत बस सेवा सञ्चालन शुभारम्भ गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाले पहिलो चरणमा सुरु गरिएको द्रुत बस सेवालाई उपत्यकाका अन्य स्थानमा पनि विस्तार गरिने बताए।

उनले द्रुत बस सेवालाई अवरोध नपुग्ने गरि निरन्तरता दिनका लागि निरन्तर अनुगमन र सरोकारवालासँग छलफल गर्ने जानकारी दिए। त्यस्तै मन्त्री ज्वालाले दशै तिहार जस्ता चाडपर्वलाई मध्यनजर गर्दै यातायातलाई सुव्यवस्थीत गर्नका लागि योजनाबद्ध रुपमा अघि बढ्ने बताए।

उनले यातायात कार्यालयमा अनलाईन सेवालाई देशव्यापी बनाउदै सहज रुपमा सेवा प्रदान गर्ने गरि काम अघि बढेको जानकारी दिए। कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले सार्वजनिक यातायात सहज नहुदा निजी यातायातलाई प्रयोग गर्नुपरेको भन्दै यस क्षेत्रलाई व्यवस्थीत गर्दै सहज बनाउनुपर्ने बताए।

उनले सार्वजनिक सेवाको सुधारको कामलाई दीर्घकालीक रुपमा अघि बढाउनुपर्नेमा जोड दिए।

त्यस्तै सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले साना गाडीको संख्या बढ्दा सडक व्यवस्थापनमा चुनौती देखिने भन्दै सार्वजनिक यातायातमा आकर्षण बढाउनुपर्ने बताए।

त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले काठमाडौं उपत्यकामा देखिएको यातायात व्यवस्थापनको चुनौतीलाई समाधान गर्नुपर्ने बताए। उनले सार्वजनिक सेवाप्रति आकर्षित गर्ने कामलाई दिगो बनाउनुपर्ने बताए।

कार्यालय समयलाई ध्यानमा राख्दै द्रुत बस सेवा दैनिक बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुनेछन्। सो समयमा रेड मार्किङ गरेको सडकमा द्रुत बस बाहेक अन्य सवारी साधन गुड्न नपाउने यातायात कार्यालयले जनाएको छ।

द्रुत बससेवाको सम्भाव्यता अध्ययनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सडक विभागका महानिर्देशकको संयोजकत्वमा समिति बनाएको थियो। समितिले प्रारम्भमा सूर्यविनायक-रत्नपार्क खण्डमा परीक्षणको रुपमा द्रुत बससेवा सञ्चालन गर्न सकिने सुझाव दिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *