अवसरवादीता शक्तिशाली हुँदा भ्रष्टचार मौलायो
देश चरम अवसरबादीहरुको अन्याय र अत्याचारबाट गुर्जी रहेको छ। यो चरित्रले न देश अगाडि बढ्छ, न नेता सुध्रने देखिन्छ। जनता अभाव, अन्याय, भ्रष्टाचारको चरम चपेटामा परेका छन्। मूलुक भ्रष्टाचारले थिलथिलो भएको छ।
देशको जुनसुकै गाउँ र चौक चौराहामा सत्ता सञ्चालनका सरोकारवालाहरुले मिलिजुली भ्रष्टचार गरेको कुराको मात्र चर्चा भइरहेको छ। अवसरवादीता शक्तिशाली भइदिंदा जताततै भ्रष्टचार मौलाएको छ।
मुलुकमा अहिलेको अबस्था आउनुमा शत्तासिन नेताहरुकै भूमिका हो। उक्त कुरा सरकारका प्रधानमन्त्रीदेखि सरकारमा आबद्ध पार्टी, प्रतिपक्ष सबैले स्वीकार गरिसकेको विषय हो।
माफियाहरुले नेताहरुलाई कब्जामा लिइसकेको, सिंहदरवार, बालुवाटार माफियाको घेराबन्दीमा परेको खुलासा अरु कसैले नभै बर्तमान प्रधानमन्त्री स्वयंले गर्नु भएको हो।
जनताले होइन। कुनै विद्वान, नागरिक समाज, पार्टीका कार्यकर्ताहरुले पनि होइन। केही स्वाभिमानी कार्यकर्ताहरुले पहिला देखिनै आफ्ना नेताहरुलाई बिभिन्न तरिकाबाट भेटेर प्रत्यक्ष अप्रत्यक्ष रुपमा अबगत गराउँदै नआएका होइनन्। तरे घमण्ड, अबसरबादी भ्रष्ट चरित्रका कारण नेताहरुले कहिले त्यस्ता सुझाब बुझ्ने, मनन गर्ने कोसिसै गरेनन्।
कार्यकर्तासँग राय लिने आवश्यकता ठानेनन्। त्यस्तो परिपाटी ७० को दशकसम्म नेपाली कांग्रेसमा थियो। त्यतिबेलासम्म निर्वाचन हुँदा आफ्नै पार्टी भित्रका क्षमतावान साथीहरु, पार्टीमा आबद्ध केही ब्यापारी, ठेकेदारहरुसँग ऋण लिएर पछि सांसदहरुबाट उठेको लेवी, महाधिवेशनमा कार्यकर्ताहरुबाट उठेका पैसाबाट ऋण तिरिन्थ्यो।
केही तिर्न अझै बाँकी होला तर त्यो प्रचलन तेह्रौं महाधिवेशन र ०७४ को निर्वाचनपछि देखि समाप्त भयो। कारण आजकल नेताहरुलाई कार्यकर्ताहरुको आवश्यकता छैन।
सबै काम, नेताहरुको आवश्यकता माफियाहरुबाटै पूर्ति हुन्छ। नेताहरुलाई कार्यकर्ताको आवश्यकता पर्दैन। उनीहरुलाई आफ्नो भक्तिगान गाउने भजन मण्डली बाहेक अरु केही चाँहिदैन। यो यथार्थ हो।
जनता चरम अभाव, बेरोजगारका कारण, स्वदेशमै केही उद्यम गरी खाउ भन्ने उद्देश्यले बैंक, लघुबित्तबाट लिएको ऋण तिर्न ढिलो हुँदा बैंकहरुको ज्यादतीका कारण आत्महत्या गर्न र बिदेश पलायन हुन बाध्य छन्।
त्यही ऋण तिर्न नसकेका कारण उद्यमी युवा प्रेम आचार्यले ०७९ साल माघ १० गते संसद भवन अगाडि ब्यस्त सडकमा शरीरमा आफैंले पेट्रोल खनाएर आत्मदाह गरे।
आगो लगाउँदै गरेको अबस्थामा संसदबाट निस्किएको प्रधानमन्त्रीले देखेर पनि उनलाई बचाउने आवश्यकता ठानेनन्। बरु त्यहिनिर प्रधानमन्त्रीको गाडी तेज रफ्तारमा अगाडि बढ्यो। उहाँलाई आफ्नै ज्यानको खतरा महसुस भएको होला।
जनताको ज्यानको कुनै मूल्य नै नभएको, मानवीय समबेदना नभएको त्यो कारुणिक दृश्यले छोएन। त्यसपछिका दिनमा हजारौं उद्यमी युवा, महिला, ब्यापारीहरुले आत्महत्या गरिसकेका छन्। बैंक, सहकारी, लघुबित्तको ज्यादती रोकिएन। सरकारले अहिलेसम्म कुनै चाँसो देखाएको पनि छैन।
नेताहरुको दैनिकी भ्रष्टाचारमा सम्लग्न भएका, आफ्ना नेता, परिवारका सदस्य, छोराछोरी, श्रीमतीको संरक्षण गर्ने र राष्ट्रिय, अन्तर्राष्ट्रिय तस्कर माफियाहरु र सत्ता जोगाउनेमा मात्र सीमित छ।
जनताको सुखसुविधा, न्यायमूलक समाज, बिधिको शासन सीमा सुरक्षा, भ्रष्टाचाररहित समाज निर्माण गर्दै जनताको शिक्षा स्वास्थ्य सुलभ बजार मूल्य, जनता बचाउँ, बिदेशी हस्तक्षेप रोकौं, अन्दाधुन्ध स्वार्थमा आधारित बैदेशिक ऋण लिनु हुँदैन भन्नेपट्टी कहिले ध्यान गएन।
यस्तो बिषयमा आवाज उठाउने जनता, कार्यकर्तालाई गलत ठहराइन्छ। के यही हो लोकतन्त्र? के यही हो गणतन्त्र? यदि हो भने जनताले अस्वीकार गर्नु गलत होइन। अहिले मुलुकमा जे भैरहेको छ, यसले गणतन्त्र असफल भैसकेको पुष्टि गर्दछ।
भ्रष्टाचार, अन्तार्राष्ट्रिय तस्करी, मानव बेचबिखनमा सामेल हुनेहरुमा अधिकांश नेता, उपनेता, उपराष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, रक्षा मन्त्री, उच्चस्तरीय प्रशासकहरु र उनका परिवार छोरा, छोरीनै संलग्न भएको देखियो।
बाबुहरुको शक्तिको आडमा मौलाएको धन्दा सबैभन्दा सजिलो र भरपर्दो अर्थ आर्जनको ब्यवसाय, त्यसैको लागि शत्ता जसरी पनि चाहियो र टिकिरहनु पर्यो। यो शक्तिको चरम दुरुपयोग हो।
भ्रष्टाचारका फाइल बन्द गराउन पूर्व प्रधानमन्त्रीहरुलाई घरघरमा पठाएर बयान लिने। त्यसो गर्न नमान्ने अनुसन्धानमा उच्च जिम्मेवारी पाएका सिआईबीका अफिसरलाई बिनाकारण सरुवा गरिदिने सरकार यसैमा केन्द्रित छ। यदि त्यसो नगरेको भए आज नेताका छोराहरु, जेलमा हुने थिए।
प्रधानमन्त्री स्वयंले तस्कर भगाउने, सिआइबीको रिपोर्ट अनुसार अदालतमा चलिरहेको मुद्दालाई प्रभावित गर्ने, पूर्व प्रधानमन्त्री निर्दोष रहेछन् भन्दै न्यायाधीशको काम पनि प्रधानमन्त्रीले नै गर्ने काम हुँदैछ।
नेपाली कांग्रेसको नेतृत्वदेखि पदाधिकारी, सांसद गलत कुराको वकालत गर्ने, जनतालाई उत्तेजित गर्दै आफू निकट नेताको भक्तिगान गर्ने काम गर्दैछन्। यो दण्डहीनताको पराकाष्ठ हो। यस्तो नहुँदो हो त नेता र तिनका छोराहरूले जेल भरिने थियो।
घटना केही दिन अगाडि रिपोर्टर्स क्लबमा भएको अन्तरकृया कार्यक्रमको प्रत्यक्ष प्रसारणमा बोलिएको आक्रोश पूर्ण अभिव्यक्तिलाई लिएर गरिएको सांघातिक हमलाको हो।
कार्यक्रममा अभिब्यक्ति दिनुहुने हाम्रा मित्र सांसद महेन्द्र यादव माथि खुकुरी प्रहार भयो। यो खेद पूर्ण कुरा हो। त्यस्तो उत्तेजनामा आउनु जो कोही भएपनि राम्रो होइन। तर सांसद यादवले अदालतले सजाय तोकेका खाणलाई निर्दोष छन् छुटेपछि फेरि मन्त्री हुन्छन् भनेछन्।
उद्योगधन्दाहरु बन्द गर्नु, करबाट उठेको पैसाले उद्योग चलाउन सकिँदैन थियो। बेचेको ठिक भन्नु, देशमा रोजगार नपाएर बिदेशिनु परेका जनताको पेटमा लात हाने सरह भएन? त्यसैबाट उपस्थित पत्रकार, दर्शकहरु सबै आक्रोशित भएको देखिन्छ। त्यसमा पनि ध्यान जानु आवश्यक छ।
सांसद यादवले अभिव्यक्ति दिइरहँदा जनताले आजका दिनमा भोग्नु परेको चरम अत्याचार, भ्रष्टाचार गर्नेलाई निर्दोष भन्नु, त्यो जनताप्रतिको अपमान थियो। चाकडी, गुनगानको पनि सीमा हुन्छ।
बिहान खाए बेलुका के खाउँ, बेलुका खाए बिहान के खाउँ भन्ने अबस्थामा भएका जनतालाई सैह्य हुने कुरा होइन। खुकुरी हान्ने ब्यक्ति त एउटा प्रतिनिधि पात्र मात्र हुनसक्छ। जनता चरम आक्रोशमा छन् भन्ने संकेत मात्र हुनसक्छ। यस बिरुद्ध संसद गुन्जायमान भएको छ।
ठूलाबढाले त सुरक्षा पाउँछन्, तर जनतालाई कसले सुरक्षा दिने? जनता मरिरहँदा नउठेको आवाज सांसदलाई पर्दा आफ्नो सुरक्षाको लागि उठेका छ।
त्यसैले नेपाली कांग्रेसका दूरदर्शी नेता स्व. विपी कोइरालाले भनेका थिए-
‘नेताहरुले गलत गर्दा पनि टुलुटुलु हेरेर बस्ने, बोल्न नसक्ने तिनीहरू कि नेताका दास हुन्, या चरम अबसरबादी हुन्।’ त्यस्ता दूरदर्शी नेताले निर्माण गरेको पार्टीका कार्यकर्ताको भ्रष्टाचारीको गुणगान गाउनु भ्रष्ट चरित्र बाहेक अरु केही भन्न सकिन्न।
Facebook Comment