देश र समाजको अवस्थामा परिवर्तन हुन सकेन, राज्यको चरित्रको पुनः संरचना आवश्यक छ : राष्ट्रपति

डिसी नेपाल
३ असोज २०८० १८:४०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बिभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई कमजोर पार्नेविरुद्ध सचेत हुनुपर्ने बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले जनआन्दोलनका उपलब्धिहरुलाई कमजोर पार्ने काम हुन सक्ने भन्दै सचेत हुनुपर्ने बताएका हुन् ।

जनअनुमोदित संविधानसभाबाट निर्माण भएको लोकतान्त्रिक संविधानका व्यवस्थाहरूलाई निस्तेज पार्ने काम कतैबाट हुन नपाओस् भन्नेमा चनाखो हुनुपर्ने उनको भनाइ छ । उनले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्ने धारणा राखे । राष्ट्रपति पौडेलले सबैले मिलेर लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण चरण पार गरेकाले आफैँले बनाएको संविधान मुलुकमा रहेको जिकिर गरे ।

उनले व्यवस्था परिवर्तन भएपनि देश, समाज र जनसामान्यको अवस्थामा भने अझै परिवर्तन हुन नसकेकाले राज्यको चरित्रको पुनः संरचना आवश्यक रहेको बताए । मुलुकको सुखद भविष्य प्राप्त गर्न राजनीतिक उपलब्धिहरूलाई जोगाउँंदै र संविधानको रक्षा गर्दै अगाडि जानुको विकल्प नरहेको उनले बताए । राष्ट्रपति पौडेलले देशलाई नेपाली मौलिकतासहितको एक विशिष्ट र विश्वको उन्नत राष्ट्र बनाउने प्रचुर सम्भावना रहेको भन्दै लोकतान्त्रिक संस्कारको जग बसालेर कुशलतापूर्वक मेहनत गरेमा सम्भव रहेको बताए । त्यस्तै उनले सबै किसिमका वेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट जलस्रोत र उर्जा शक्तिको मात्र उचित व्यवस्थापन गर्न सके नेपाल दुनियाँको समुन्नत राष्ट्रको कोटीमा पुग्ने सम्भावना अगाडि देखापरेको जिकिर गरे ।

उनले सुशासन नै मुलुकको अमनचयन, विकास र समृद्धिको आधार भएकाले उल्लेखित सबै क्षेत्रमा सुधारको आवश्यकता रहेको धारणा व्यक्त गरे । यसका लागि सन्तुलित र प्रभावकारी परराष्ट्र नीतिका माध्यमबाट द्विपक्षीय र बहुपक्षीय अन्तर्राष्ट्रिय सम्बन्धलाई अझै सुदृढ गरी राष्ट्रिय अर्थतन्त्रलाई सबलीकरण गर्दै युवा जनशक्तिलाई देशभित्रै रोजगारी र आम्दानीका अवसर सृजना गर्न उनले आग्रह गरे । कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादव, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, पूर्वसभामुख अग्निप्रसाद सापकोटा, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ लगाएतको उपस्थीति रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *