भारत-क्यानडा विवाद उत्कर्षमा पुगेका बेला क्यानडामा अर्का खालिस्तानीको हत्या
काठमाडौं । भारतबाट फरार अर्का खालिस्तान समर्थकको क्यानडाको पिनिपेग शहरमा हत्या भएको छ । पञ्जाबबाट भागेर क्यानडामा बसेका सुखदुल सिंह उर्फ सुक्खा दुनुकेको क्यानडामा गोली हानी हत्या गरिएको छ ।
सुक्खा खालिस्तानी नेता अर्शदीप सिंह उर्फ अर्श दालाको दाहिने हात थिए र भारतको एनआईएको वान्टेड सूचीमा समावेश थिए। सुक्खाले क्यानडामा बसेर भारतमा रहेका आफ्ना सहयोगीमार्फत अपरेशन चलाइरहेको एनएआइको आरोप छ ।
सुखदुल सिंह उर्फ सुक्खा दुनेकेविरुद्ध सातवटा फौजदारी मुद्दा थिए । उनी २०१७ मा नक्कली कागजातका आधारमा राहदानी र प्रहरी क्लियरेन्स सर्टिफिकेट लिएर क्यानडा गएका थिए ।
प्रहरीसँग मिलेर उनले क्यानडाको भिसा लिएका थिए । दुनेकेविरुद्ध मुद्दा दायर भएको थियो । उनलाई सहयोग गरेको आरोपमा पञ्जाब प्रहरीका दुई कर्मचारीलाई पछि मोगा प्रहरीले पक्राउ गरेको थियो ।
यो वर्ष खालिस्तानी नेता हरदीप सिंह निज्जरको क्यानडामा गोली हानी हत्या गरिएको थियो । निज्जरलाई सरेस्थित गुरुद्वाराको पार्किङ स्पेस नजिकै दुई मुखौटाधारी बन्दुकधारीले गोली हानेका थिए ।
उनको हत्यापछि खालिस्तानी समर्थकहरूले क्यानडा, लन्डन र अमेरिकालगायत धेरै ठाउँमा विरोध प्रदर्शन गरे र भारत विरोधी नारा लगाए र निज्जरको हत्याको लागि भारतलाई जिम्मेवार ठहराए।
खालिस्तानका लागि जनमत संग्रह गराउने समूहमा हरदीप सिंह निज्जरको नाम निकै चर्चित थियो। उनी पञ्जाबको जलन्धर जिल्लाको भरसिंहपुर गाउँका बासिन्दा थिए। हरदीप सिंह निज्जरलाई भारतको सुरक्षा निकायले फरार र आतंकवादी घोषणा गरेको थियो । यसबाहेक राष्ट्रिय अनुसन्धान एजेन्सीले निज्जरको जानकारी दिनेलाई १० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको थियो ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार क्यानडाको संसद (हाउस अफ कमन्स) मा खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारको संलग्नतालाई लिएर प्रश्न उठाउदै भने, ‘क्यानाडाली सुरक्षा निकायले भारत सरकार र क्यानाडाली नागरिकमाथि अनुसन्धान गरिरहेको छ ।’
हत्यामा भारत सरकार संलग्न भएको भन्दै उनले भने, “हामी भारतको सम्बन्धको विषयमा सक्रियताका साथ अनुसन्धान गरिरहेका छौं। क्यानडाको भूमिमा क्यानाडाली नागरिकको हत्यामा अन्य कुनै पनि देश वा विदेशी सरकारको संलग्नता सहन सकिने छैन। यो हाम्रो सार्वभौमसत्ताको हनन हो। यो पूर्ण रूपमा अस्वीकार्य छ।”
Facebook Comment