जेष्ठ प्राध्यापक समाजकाे शुभकामना आदानप्रदान

काठमाडौं। अवकाशप्राप्त प्राध्यापकहरूको संस्था ‘जेष्ठ प्राध्यापक समाज, नेपाल’ले शुभकामना आदानप्रदानको कार्यक्रम आयोजन गर्दै दुई जना विशेषज्ञहरूबाट विद्वत प्रवचन प्रस्तुत गरेको छ। विश्व अल्जाइमर्स दिवसको मेसो पारेर उक्त कार्यक्रमको आयोजना गरिएको हाे।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रा.डा. चुडाबहादुर कार्कीले अल्जाइमर्स र डिमेन्सिया रोगका बारेमा जानकारी दिए। विश्वको तथ्याङ्कअनुसार डिमेन्सिया हरेक पाँच वर्षमा दोब्बर बढ्दै गएको बताउँदै जेष्ठ नागरिकहरू यसप्रति सचेत हुनुपर्ने उल्लेख गरे।
डा. कार्कीले डिमेन्सियाले स्मरणशक्ति, तर्कशक्ति, सोच्ने शक्तिमा ह्रास ल्याउने हुँदा हरेक व्यक्तिले आफूलाई सक्रिय राख्नुपर्नेमा जोड दिए। उनले डिमेन्सियाका लक्षणहरूबारे जानकारी दिँदै भने, “सामान्यतया ६५ वर्षपछि डिमेन्सिया हुनसक्ने सम्भावना भएकोले उमेर पुगेका हरेकले आफ्नो जीवनशैलीलाई सन्तुलित राख्नुपर्ने हुन्छ। हरेक व्यक्तिले सन्तुलित आहारविहार, शारीरिक व्यायाममा ध्यान दिनुपर्छ । नियमित स्वास्थ्य जाँचका लागि डाक्टरसँग सम्पर्कमा रहनु पर्छ ।”
कार्यक्रममा प्रा.डा. लोचना श्रेष्ठले बोल्दै डिमेन्सिया र अल्जाइमर्सबाट बच्न तथा मस्तिष्कलाई सक्रिय राख्न खानपान र व्यायामसँगै पढ्ने, लेख्ने, संगीत सुन्ने, सिनेमा हेर्ने, घुमफिर गर्नेजस्ता क्रियाकलाप गर्न सुझाइन्। उनले आराम हराम भएकाले आफूलाई सक्दो व्यस्त राख्न सबैसँग आग्रह गरिन्।
उक्त अवसरमा शिक्षाविद् प्रा. सुरेशराज शर्माले नेपालको शैक्षिक क्षेत्रलाई अझै बलियो बनाउनुपर्नेमा जोड दिए। समाजका संस्थापक अध्यक्ष वसन्त गौतमले संस्था स्थापनाका प्रारम्भिक दिनको सम्झना गर्दै यसले गर्दै आएका कामबारे जानकारी दिए।
समाजका अध्यक्ष डा. विमलकुमार शर्माले जेष्ठ प्राध्यापकहरूको हितका लागि आफूहरू क्रियाशील रहँदै आएको बताए। उनले, जेष्ठ प्राध्यापक मात्र नभएर आज आम नेपालीको औसत उमेर ७२ वर्ष पुगिसकेको उल्लेख गर्दै नेपालमा पनि अल्जाइमर्स, डिमेन्सियाजस्ता रोगबाट पीडितको संख्या दिनानुदिन बढ्दै गएकोमा चिन्ता व्यक्त गरे।
हिजोअस्ति मुटु, सुगरजस्ता रोग धनीलाई मात्रलाग्छ भनेजस्तै अल्जाइमर्स अमेरिका युरोपको रोग मानिन्थ्यो। अहिले नेपाललगायत अन्य देशमा पनि यी रोग बढेको उनको भनाइ थियो।
समाजले सरोकारवाला दुवै मन्त्रीहरूलाई नेपालमा सामाजिक रुपान्तरण पनि समस्यामा आगोमा ध्यु थप्ने भएको बताएको छ । संयुक्तभन्दा सानो परिवार बन्ने प्रक्रिया आजका दिनमा बढ्दैछ ।
त्यसमाथि हुर्केका जति काम गर्न वा पढ्न विदेश जाने हुँदा बुढाबुढी घरमा एक्लै हुनेको संख्यामा बढोत्तरी हुँदै गएको छ । त्यस्ता बुढाबुढीलाई अल्जाइमर्सको जोखिम अझै बढी हुने डा. शर्माले तर्क गरे ।
समाजले दुवै मन्त्रीहरूलाई वृद्धावस्थाका रोग जन्य समस्या हेर्न केन्द्रमा एक बेग्लै सुविधा सम्पन्न अस्पताल अथवा भएका अस्पतालमा सुविधा थप्ने र प्रादेशिक अस्पतालमा समेत वृद्धावस्थाका लागि वार्ड राख्ने कुरामा ध्यानाकर्षण गराएको थियो ।
Facebook Comment