शिक्षकहरुको प्रदर्शनका कारण नयाँ बानेश्वर क्षेत्र अस्तव्यस्त
काठमाडाैं। संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै देशभरका शिक्षकहरुले तेश्रो दिन शुक्रबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।
देशभरबाट काठमाडौं केन्द्रीत शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन्।
शिक्षकको आन्दोलनका कारण काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघरसम्मको सडक अस्तव्यस्त बनेको छ।
‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’मा रहेका केहि प्रावधानहरु शिक्षकहरूको हकहितविपरित भएको भन्दै नेपाल शिक्षक महासंघको अगुवाइमा लगातार प्रदर्शन भइरहेको छ।
सरकारले शिक्षकसँग पटक पटक वार्ताको प्रयास गरेपनि सफल हुन सकेको छैन।
महासंघले अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृजना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मुल्यांकनलगायतका विषयमा विधेयकमा रहेका प्रावधान स्वीकार्य हुन नसक्ने बताएका छन्।
शिक्षकको नियुक्ति, सरुवा, बढुवामा स्थानीय तहलाई भूमिका दिदा मनोमानी हुने र शिक्षकमाथि ज्यादती हुने भएकाले शिक्षकको नियुक्ति, सरुवा, बढुवा लगाएतको भूमिका जिल्ला शिक्षा कार्यालयलाई दिनुपर्ने र केहि भूमिका प्रदेश तहमार्फत राखिनुपर्ने महासंघको माग छ।
सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो।
Facebook Comment