पाकिस्तानका प्रधानमन्त्रीले भने– भारतमा बढ्दो हिन्दू राष्ट्रवाद ‘गम्भीर चिन्ताको विषय’
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री अनवारुल हक कक्कडले भारतमा बढ्दो हिन्दू राष्ट्रवाद अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायका लागि ‘गम्भीर चिन्ताको विषय’ भएको बताएका छन्।
संयुक्त राष्ट्र संघको महासभाको छेउमा परराष्ट्र सम्बन्ध परिषद्को बैठकलाई सम्बोधन गर्दै कक्कडले भारतको हिन्दू राष्ट्रवादलाई क्यानडाले भारतविरुद्ध लगाएको आरोपसँग जोडे।
उनले भने, ‘हिन्दुत्वका यी चिन्तकहरुको साहस यसरी बढ्दै गएको छ कि उनीहरु अब आफ्नो देशभन्दा अगाडि बढिरहेका छन् ।’
“आर्थिक र रणनीतिक कारणहरूले गर्दा पश्चिमी देशहरूले भारतमा बढ्दो हिन्दू राष्ट्रवादको वास्तविकतालाई बेवास्ता गर्ने विकल्प छनौट गरे।”
यसअघि भारत र क्यानडाबीच जारी कूटनीतिक विवादमा पाकिस्तानको विदेश मन्त्रालयले भारतले गरेको कार्य अन्तर्राष्ट्रिय कानुन र देशको सार्वभौमसत्ताको स्पष्ट उल्लङ्घन भएको बताएको थियो।
पत्रकारहरूसँग कुरा गर्दै पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मुमताज जेहरा बलोचले भनिन्, ‘क्यानडामा भएको गैरन्यायिक हत्यामा भारतको भूमिकाको समाचारले अन्य देशमा भारतको हत्याको सञ्जाल अहिले विश्वव्यापी भएको देखाएको छ । भारतीय गुप्तचर एजेन्सी रअ दशकौंदेखि दक्षिण एसियामा अपहरण र हत्यामा संलग्न रहेको छ।’
“पाकिस्तान यी हत्याहरू र रअद्वारा जासुसीको लक्ष्य भएको छ। गत वर्ष डिसेम्बरमा, पाकिस्तानले एक व्यापक डोजियर जारी गरेको थियो, जसमा जुन २०२१ मा लाहोरमा भएको आक्रमणमा भारतको भूमिकासँग सम्बन्धित बलियो र विश्वसनीय प्रमाणहरू थिए। यो आक्रमण भारतीय गुप्तचर विभागले नियोजित रुपमा गराएको थियो।”
Facebook Comment