क्यानडाका रक्षामन्त्रीले भने– भारतसँगको सम्बन्ध हाम्रा लागि महत्वपूर्ण छ

डिसी नेपाल
८ असोज २०८० १४:२९

काठमाडौं । क्यानडाका रक्षामन्त्री बिल ब्लेयरले भारतसँगको सम्बन्धलाई ‘महत्वपूर्ण’ भन्दै क्यानडाले इन्डो-प्यासिफिकमा भारतसँग रणनीतिक साझेदारीलाई निरन्तरता दिने बताए।

आइतवार, ब्लेयरले हरदीप सिंह निज्जरको हत्याको अनुसन्धान जारी रहँदा इन्डो-प्यासिफिकमा भारत र क्यानडाबीचको साझेदारी जारी रहने बताए।

वेस्ट ब्लकसँगको अन्तर्वार्तामा, ब्लेयरले भारतसँगको सम्बन्धलाई महत्त्वपूर्ण बताए र आरोपहरूको अनुसन्धान जारी रहँदा क्यानडाले भारतसँग साझेदारीलाई निरन्तरता दिने बताए।

उनले भने- “हामी बुझ्छौं कि यो भारतसँगको हाम्रो सम्बन्धको सन्दर्भमा चुनौतीपूर्ण मुद्दा साबित हुन सक्छ। कानुन पालना गर्ने, हाम्रा नागरिकको सुरक्षा गर्ने र अनुसन्धान पूरा गरी सत्यतथ्यमा पुग्ने सुनिश्चित गर्ने हाम्रो दायित्व हो।”

ब्लेयरले भने – यदि आरोपहरू सत्य साबित भएमा क्यानाडाली भूमिमा क्यानाडाली नागरिकको हत्या हाम्रो सार्वभौमसत्ताको उल्लङ्घन हुनेछ र क्यानडाका लागि ठूलो चिन्ताको विषय हुनेछ।

गत हप्ता क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारका एजेन्ट संलग्न हुन सक्ने आरोप लगाएका थिए । त्यसयता दुई देशबीच तनाव बढ्दै गएको छ ।

भारतले क्यानडाको आरोप अस्वीकार गर्दै यसलाई आधारहीन र राजनीतिबाट प्रेरित भएको बताएको छ ।

दुवै देशले एक एक कूटनीतिज्ञलाई देश निकाला गरेका छन् । भारतले हाल आफ्ना कर्मचारीको सुरक्षाको कारण क्यानडामा भिसा सेवा बन्द गरेको छ ।

हरदीप सिंह निज्जरको १८ जुनमा क्यानडाको ब्रिटिस कोलम्बियामा हत्या भएको थियो। सन् २०२० मा भारतले निज्जरलाई ‘आतंकवादी’ घोषणा गरेको थियो।

भारतले क्यानडालाई आफ्नो देशमा रहेका कूटनीतिक कर्मचारीको संख्या घटाउन पनि आग्रह गरेको छ । भारतले दुवै देशको कूटनीतिक उपस्थितिमा संख्या र दर्जामा समानता हुनुपर्ने बताएको छ ।

भारतमा क्यानाडाली कूटनीतिक कर्मचारीको संख्या क्यानडामा रहेका भारतीय कर्मचारीभन्दा बढी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *