बिकल्पविहीन निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल कहिले बन्छ?
प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणबाट नेपालमा नयाँ केही गतिला सहयोग ल्याउन सक्ने छैनन् भनेर धेरै परराष्ट्रबिज्ञले बोलिसकेका छन्।
यसका प्रमुख कारणमा बिगतमा चीनका राष्ट्रपति र प्रधानमन्त्रीको भ्रमणमा चीनले गर्ने भनिएका अरबौं डलरको सहयोगलाई नेपालले दक्षिणी छिमेकी र अमेरिकाको दवाव र प्रभावमा कुनैपनि सहयोग लिन सकेन।
यो नेपालको लागि ठूलो दुर्भाग्य हो। चीनको बिआरआईको सम्झौता तथा नेपाल-चीन बीचको पारवहन तथा ब्यापार सम्झौताबाट प्राप्त लाभलाई नेपालले ब्याबहारमा उतार्न कुनै आँट गरेन।
अर्कोतर्फ धेरै नेपालीले राष्ट्रघाती भनेर बिरोध गरिएको अमेरिकन सहयोगको नाममा आएको एमसीसी सम्झौता संसदबाट पास गरेर प्रचण्ड सरकारले कार्यन्वयनमा गरिसकेको छ।
चिनियाँ राष्ट्रपति सि जिङ पिङको भ्रमणबाट प्राप्त हुने भनिएको अरबौंको सहयोगबाट नेपालले चीनले कृषिमा गरेको उपलब्धीको फाइदा लिँदै कृषि उत्पादनलाई आत्मनिर्भर बनाउन सक्थ्यो।
त्यतिमात्र होइन मल कारखानाको स्थापनालगायत कतिपय खाद्यान्न बिदेश निर्यात गर्ने गरी ब्यबसायिक कृषि उत्पादनको बिकासलगायत नेपाली किसानको उत्थान हुन सक्ने महत्वपूर्ण अबसरलाई नेपालले गुमाइसकेको थियो।
निजगढ हवाइ मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डको एयरपोर्ट बनाउँदा आबश्यक संख्यामा प्यासेन्जर बोर्डिङ बृजसहित राखेर एयरपोर्ट समयमा बनाउन सकिएमा नेपालमा आउने पर्यटन लाभान्वित हुने मात्र होइन, यसले पर्यटकलाई पहिलो प्रभावित पार्नेछ।
यसबाट नेपालीको जीवनस्तरमा धेरै सुधार हुन सक्थ्यो। चीनसँग कृषिका असंख्य राम्रा कामहरु छन्। शायद नेपालले नयाँ कुरा माग्न पनि नसक्ला। चीनले केही सहयोग दिएमा त्यसलाई कार्यन्वयन गर्न पनि हिम्मत नगर्लान् हाम्रा अहिलेका प्रधानमन्त्रीले।
साथै नेपालको उत्तर-पश्चिम सिमानाको चुच्चे नक्सालाई चीनले पनि बेवास्ता गरेको विषयलाई प्रचण्डले के उठाउलान्? जब कि उनले भारत भ्रमणको अबसरमा नेपाली सिमाना मिचिएको बारेमा एक शब्द पनि बोल्न सकेनन्।
नेपालको आम्दानीको श्रोत कृषि, पर्यटन, जलश्रोत , जडिबुटी आदि हुन्। जुनकुरामा हामी अरुको भर पर्नु पर्दैन। त्यसैले हामी हाम्रै कच्चा पदार्थमा आधारित उद्योग र अरुमा भर नपर्नु पर्न आम्दानीमा लाग्नु नै अत्यन्त लाभदायक हुनेछ।
आजको मेरो बिषय नेपालको आम्दानीको ठूलो बिकल्प पर्यटनको प्रमुख आधार अन्तर्राष्ट्रिय एयरपोर्टलाई लिएको छु। पर्यटकलाई पहिलो प्रभावित पार्ने स्थान अन्तर्राष्ट्रिय एयरपोर्टको स्तरीयता हो। जहाँ आइपुगेपछि उनीहरुलाई त्यो देशको पहिलो प्रत्यक्ष्य प्रभाव पर्नेछ।
जहाँबाट आगन्तुकहरुले सम्बन्धित देशप्रति सकरात्मक र र नकरात्मक सोच बनाउने छन्। नेपालको पहिलो र ठूलो भनिएको एयरपोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय हवाइ मैदान नै हो। जसको दयनीय हालत हामी सबैले भोगेका छौं।
यसलाई जति नै बढाउन कोसिस गरेर पनि अरबौं खर्च गरेपनि शहरको अत्यन्त नजिक रहेको र पर्याप्त जमिनको अभावमा यो हवाइ मैदानले बिदेशका अरु हवाइ मैदानको दाँजोमा कहिल्यै पुग्न सक्तैन र संभव पनि छैन।
यसमा अरु खर्च गरेर छेउ छाउका केही हरियाली चौर र जंगल मास्नुको कुनै अर्थ देखिँदैन। यसको एउटै राम्रो उपाय भनेको निजगढ हवाइ मैदानमा नै लगानी बढाउनु हो।
जसलाई समयमा निर्माण गर्न सकिएमा यो महत्वपूर्ण ऐतिहासिक कार्यले नेपालको पर्यटनमा कायापलट हुनसक्छ। हालका अर्थमन्त्रीले पनि अरु पूर्ब सरकारका मन्त्रीले जस्तै यसको महत्व दर्शाउँदै समयमा निर्माण गरिने भनिएको छ। तर ब्यबहारमा नउतारि धेरै आस गर्न सकिँदैन।
म केही दिन अघि मात्र बिदेश लाग्ने क्रममा बेलुकाको समयमा त्रिभुवन एयरपोर्टमा परिवारसहित पुगें। बिदेश जाने यात्रुको चाप अत्यधिक भएर गाडी रोक्ने स्थानसम्मको अभाव थियो। एकछिन गाडी रोक्न पाएको छैन प्रहरी सिट्टी फुक्दै आइपुग्ने।
मलाई पुर्याउन जाने आफन्तले दौडधुप गर्दै दुई ओटा ट्रली खोजेर ल्याउनु भयो। त्यसमा सामान राखेर भित्र पुगेपछि त्यहाँ पनि केही भीड थियो। इमिग्रेसन हुँदै सामान क्लीयर गरेर बाहिर आएर बसेपछि केही रिलिफ भयो।
यहाँ यात्रु बस्ने सिटहरु प्रसस्तै राखे पनि अझै पनि अपर्याप्त नै देखियो। आगमनमा पनि त्यही हालत छ। ब्यागेज जम्मा गर्ने ठाउँमा मानिसको हुल अनि आफ्नो सामान लिन कठिनाइ झनै बढेर गएको छ। झन बिदेशीलाई त्यस्तै हैरान छ।
बिदेश जानेको यात्रुको संख्या बढे अनुसार अब यो एयरपोर्ट पर्याप्त हुँदैन भन्ने बिषय बुझ्न सकिन्छ। अन्तर्राष्ट्रिय एयरपोर्ट गइसकेपछि आफ्नो ह्याण्ड ब्याग झुण्ड्याउँदै लामो भर्याङ चढेर प्लेन चढन भने सबैलाई सजिलो हुँदैन।
बुढाबुढी, रोगीलाई झनै कठिनाइ हुन्छ। त्यसमा पानी परेको बेला, चिसो हावा लागेको बेला, कडा घाम लागेको बेला खुला स्थानमा हिँडेर भर्याङ चढेर जहाजमा चढ्नु अन्तर्राष्ट्रिय एयरपोर्टको गुणस्तर भित्र पर्दैन।
यसका लागि प्यासेन्जर बोर्डिङ बृजको आबश्यक पर्छ। जुन हामीले बिदेशका सबै एयरपोर्टमा देख्न पाउँछौं। जसबाट एयरपोर्ट भित्र भित्रैबाट जहाजमा चढ्न र ओर्लन सकिन्छ।
यसलाई हवाइ बृज पनि भनिन्छ। यो हवाइ पुल प्यासेन्जरको सुरक्षा र सुबिधाको लागि अत्यन्त आबश्यक छ। यस्ता हवाइ बृज ठाउँको अभावमा काठमाडौंमा राख्न संभव छैन।
त्यसैले निजगढ हवाइ मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डको एयरपोर्ट बनाउँदा आबश्यक संख्यामा प्यासेन्जर बोर्डिङ बृजसहित राखेर एयरपोर्ट समयमा बनाउन सकिएमा नेपालमा आउने पर्यटन लाभान्वित हुने मात्र होइन, यसले पर्यटकलाई पहिलो प्रभावित पार्नेछ।
नत्र अहिलेको अबस्थाले एकपटक आएका प्यासेन्जर नफर्कने अबस्था आउनेछ। हामीले देखेका एयरपोर्टहरु सिंगापुर, बैंकक, हङकङ, सिड्नी, कतार, दुवई, दिल्ली सबैको स्तर अत्यन्त उच्चस्तरका छन्। हामी अरुको तारिफ गर्छौं।
अनि काम गर्ने बेलामा नेपाली पारामा काम गर्छौं। कहिले बजेटको अभाव, कहिले जमिनको अभाव, प्रायजसो इमान्दारी र दृढ सोच तथा संकल्पको अभाव। सबभन्दा बढी सत्तामुखी सोच र कमिसनको सोचले नेपालले गतिला काम केही गर्न सकेन।
कमसेकम निजगढ एयरपोर्ट निर्माण समयमा पूरा गरिदिउँ। जसले गर्दा फाष्ट ट्रयाकको सही सदुपयोग होस्। यति गर्न मात्र सकिएमा धेरै बिदेशी पर्यटक आउने मात्र होइन हामी नेपालीको रोजगार पनि धेरै बृद्धि हुन जानेछ।
निजगढ विमानस्थलको निर्माणमा जमिन र हवाइरुटको अप्ठ्यारो नहुनु नै यसको महत्वपूर्ण पक्ष हो। फाष्ट ट्रयाक बनिसकेपछि १ घण्टामा राजधानी पुग्न सकिने हुनाले दायाँ बायाँ अरु शहर बजारलाई पनि दीर्घकालीन फाइदा पुग्नेछ। कालन्तरमा उपत्यकाको जनसंख्याको चाप पनि कम हुन मद्दत पुग्न सक्छ।
हाल अष्ट्रेलिया
Facebook Comment